काठमाडौं। सञ्चालनको तयारीमा रहेको नागढुंगा सुरुङमार्गका लागि सरकारले सवा ५ अर्ब रुपैयाँ बराबरको ऋण लिन सम्झौता गरेको छ।
नागढुंगा सुरुङमार्ग आयोजनाका लागि सरकारले जापानी येन ५,७०० मिलियन अर्थात ५ अर्ब २६ करोड रुपैयाँ थप सहुलियतपूर्ण ऋण लिनका लागि बुधबार सम्झौता गरेको हो।
ऋण सहायता सम्बन्धी एक्सचेन्ज अफ नोट र रेकर्ड अफ डिस्कसनमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत तोरु मायेदाले हस्ताक्षर गरेका छन्।
ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल प्रमुख मात्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।
यसअघि यो आयोजनाका लागि २०१६ को डिसेम्बर २२ मा १६,६३६ मिलियन जापानी येनको ऋण सम्झौता भएको थियो।
आयोजना कार्यान्वयनका क्रममा मूल्य समायोजन, सुरुङ निर्माण कार्यको परिमाण तथा डिजाइनमा परिवर्तन, थप निर्माण कार्यको आवश्यकता, कोभिड १९ महामारी, स्थानीय अवरोध र विनिमय दरमा आएको परिवर्तनलगायत कारण आयोजनाका लागि थप बजेट आवश्यक परेको मन्त्रालयले जनाएको छ।
नागढुंगा सुरुङमार्ग साउन १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी छ।
सम्झौता अनुसार ऋणको ब्याजदर १.९५ प्रतिशत रहनेछ। परामर्श सेवाका लागि उपयोग हुने रकममा भने ०.५५ प्रतिशत ब्याजदर लाग्नेछ। ऋण भुक्तानी अवधि २० वर्ष र ग्रेस अवधि १० वर्ष रहेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।










