टोयोटाको खाडीमा हुने निर्यात ९१ प्रतिशतले घट्यो, विश्वव्यापी बिक्रीमा पनि गिरावट

बिजमाण्डू
२०८३ जेठ १४ गते १५:१२ | May 28, 2026
टोयोटाको खाडीमा हुने निर्यात ९१ प्रतिशतले घट्यो, विश्वव्यापी बिक्रीमा पनि गिरावट


काठमाडौं । खाडी क्षेत्रमा लम्बिरहेको तनावले जापानी गाडी उत्पादनकर्ता टोयोटाको व्यापारमा ठूलो धक्का लागेको छ।

Vigo
GBIME
Tata

जापानबाट खाडीतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको जनाइएको छ। युद्धका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले जनाएको हो।

कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८ लाख ४९हजार ३०६ सवारीसाधनमा पुगेको छ। यससँगै लगातार तेस्रो महिनासम्म बिक्री घटेको हो।

तर, विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ। जुन अप्रिल महिनाकै लागि रेकर्ड उच्च उत्पादन हो।

विदेशी बजारमा टोयोटाको बिक्री ७.५ प्रतिशतले घटेर ६ लाख ९९ हजार ३८२ युनिटमा झरेको छ। अमेरिकामा बिक्री ४.६ प्रतिशतले घटेर २ लाख २२ हजार ३७८ युनिट पुगेको छ। खाडीमा बिक्री ३३.७ प्रतिशतले घटेर ३१ हजार ३६० युनिटमा सीमित भएको छ।

जापानभित्रको घरेलु बिक्री भने २४.२ प्रतिशतले बढेर १ लाख ४९ हजार ९२४ युनिट पुगेको कम्पनीले जनाएको छ।

जापानमा मार्च अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने घोषणा भएपछि खरिद स्थगित गरेका उपभोक्ताहरू पुनः बजारमा फर्किएपछि बिक्री बढेको बताइएको छ।

उत्पादनतर्फ, टोयोटाको विदेशी उत्पादन ३.८ प्रतिशतले बढेर ५ लाख ६७ हजार ५७८ युनिट पुगेको छ। जापानभित्रको उत्पादन १.७ प्रतिशतले घटेर २ लाख ६४ हजार ३९३ युनिटमा झरेको छ। रासस