देशभर इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको ८ महिनामा इन्टरनेटको ग्राहक घनत्वमा वृद्धि देखिएको हो।
सर्वेक्षण अनुसार फागुनसम्म देशभर इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ। गत आर्थिक वर्ष इन्टरनेट ग्राहक घनत्व १्३९.५ प्रतिशत थियो।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकमार्फत उपलब्ध गराएको डेटा/इन्टरनेट सेवा फागुनसम्म ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ताले प्रयोग गरेको जनाइएको छ।
त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म डिजिटल टेलिभिजनको पहुँच ८२.० प्रतिशत घरधुरीमा पुगेको छ। मोबाइल ब्रोडव्याण्ड घनत्व जनसङ्ख्याको १००.३ प्रतिशत पुगेको छ।
हाल देशको कूल जनसंख्याको ८९.६ प्रतिशतसम्म फोरजीको पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ।









