एक हजार ९ सय २२ जना सवारीचालक कारबाहीमा, उपत्यकामा ट्राफिक जाँच कडाइ



बिजमाण्डू
२०८३ जेठ ९ गते ११:०१ | May 23, 2026
एक हजार ९ सय २२ जना सवारीचालक कारबाहीमा, उपत्यकामा ट्राफिक जाँच कडाइ


काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको जाँचका क्रममा १ हजार ९ सय २२ जना सवारीचालकलाई कारबाही गरेको छ।

Tata
GBIME

जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, राइड सेयरिङमा १९८, रातोबत्तीमा १२६, तीव्र गतिमा १३१, लेनक्रसमा ७३, सडक फुटपाथमा ९०, हर्न निषेधमा ९५, एकतर्फीमा १०५, अन्यमा ९८६ लाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उक्त कारबाहीबाट प्रहरीले १९ लाख ७० हजार रुपैयाँ उठाएको छ। जाँच र कार्बाही भइरहँदा पनि उपत्यकामा दिनैपिच्छे २/२ हजार जना कार्बाहीमा परिरहेका छन्।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ। उपत्यकामा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारी यात्रालाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ। थली क्षेत्रमा गरिएको ‘लागुपदार्थ सेवन (लापसे) चेकिङ’ का क्रममा ५ जना पक्राउ परेका हुन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो तथा ट्राफिक प्रहरी प्रभाग थलीको संयुक्त टोलीले सवारी चालकहरूमा विशेष परीक्षण गरेको थियो।

पक्राउ पर्नेमा दुई जना बस चालक, एक/एक जना मिनीट्रक, गाडी र हात्ती भ्यान चालक छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले संयुक्त टोलीद्वारा गरिएको चेकिङका क्रममा चालकहरूको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक जाँच गर्दा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जानकारी दिए।

ट्राफिक प्रहरीले बिहीबार १७४८, बुधबार २२११ र मंगलबार २२५२ जनालाई कार्बाही गरेको थियो। त्यसअघि गत सोमबारसम्मको एक सातामा १३ हजार ९० जना कार्बाहीमा परेका थिए। जरिवानामा १ करोड १ लाख ८६ हजार रुपैयाँ उठेको थियो।