‘ग्रे लिस्ट’बाट बाहिरिन नेपालले गरेको प्रगतिबारे एपीजीको टोली र अर्थमन्त्रीबीच छलफल



बिजमाण्डू
२०८३ जेठ ७ गते १६:१८ | May 21, 2026
‘ग्रे लिस्ट’बाट बाहिरिन नेपालले गरेको प्रगतिबारे एपीजीको टोली र अर्थमन्त्रीबीच छलफल


काठमाडौं । नेपाल भ्रमणमा रहेको एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गरेको छ।

Tata
GBIME

एपीजीका उपकार्यकारी सचिव डेभिड श्यानन सहितको टोलीले अर्थ मन्त्रालयमा पुगेर मन्त्री वाग्लेसँग द्विपक्षीय हित र वित्तीय सुशासनका विषयमा छलफल गरेको हो।

नेपाल वित्तीय कारबाही कार्यदलको ‘जुरिसडिक्सन अन्डर इन्क्रिज्ड मनिटरिङ’ (ग्रे लिस्ट) मा परेको पृष्ठभूमिमा यो भेटघाटलाई निकै महत्वका साथ हेरिएको छ। तीन दिने नेपाल भ्रमणमा रहेको उक्त प्रतिनिधिमण्डलले नेपालले ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन हालसम्म गरेका प्रगति, बाँकी रहेका कार्यहरू र तिनको शीघ्र सम्पादनका विषयमा जानकारी लिएको अर्थ मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा टोलीले नेपाल ग्रे लिस्टमा रहिरहँदा हुन सक्ने गम्भीर आर्थिक क्षतिका सम्बन्धमा सचेत गराउँदै समयमै कार्य सम्पन्न गर्न आगामी दिनमा चाल्नुपर्ने रणनीतिक उपायहरूका बारेमा समेत सुझाव दिएको छ।

भेटका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनपछि नेपाली नागरिकको उच्चतम विश्वासका साथ ताजा जनादेशसहित वर्तमान सरकार गठन भएको उल्लेख गरेका थिए। उनले नयाँ सरकार मुलुकलाई ग्रे लिस्टबाट यथासक्य चाँडो बाहिर निकाल्न जुनसुकै कदम चाल्न पनि तत्पर रहेको बताएका थिए।

वाग्लेले नेपाललाई वित्तीय जोखिमबाट मुक्त गराउन आवश्यक पर्ने सुधारात्मक कार्यरु र कानुनी प्रक्रियाहरु प्रारम्भ भइसकेको समेत प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए।