काठमाडौं। २०८१ असोजको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको डालाबेसी-बर्खेखोला खण्ड पुनर्निर्माणका लागि जापानले करिब ८२ करोड रुपैयाँ कर छुट मागेको छ।
३.२ किलोमिटर सडक अनुदानमा पुनर्निर्माण गर्न सरकारसँग ७ महिनाअघि सम्झौता गरेको जापान अन्तराष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका)ले ८१ करोड ६७ लाख रुपैयाँ बराबर कर छुटको सुनिश्चितताका लागि पत्र पठाएको छ। सडक पुनर्निर्माणको काम सुरु गर्ने तयारीमा रहेको जापानले कर छुटको सुनिश्चितता खोजेको हो।
सडक पुनर्निर्माणका लागि चाहिने निर्माण सामग्री र उपकरण लगायतमा कर छुट माग गरिएको पत्र पूर्वाधार विकास मन्त्रालयमा पुगेको छ।
पत्रमा ‘सामग्री उपयुक्त प्रयोगको सुनिश्चितताको जिम्मेवारी परामर्शदाता तथा निर्माण व्यवसायीले लिने गरी खपत हुने मालवस्तुको हकमा लाग्ने भन्सार शुल्क, इन्टरनेसनल लेभिज र अन्य गैर कर छुटसहित र खपत नहुने मालवस्तुको सन्दर्भमा भन्सार महसुल ऐन अनुसार पैठारी गर्नका लागि पेस भएको मास्टर लिस्ट स्वीकृत भएको हुँदा यसै साथ संलग्न मास्टर लिस्ट बमोजिमका सामग्री पैठारी व्यवस्थाका लागि आवश्यक सहजीकरण गरिदिनुहुन अनुरोध छ’ भनिएको छ।
सडक पुनर्निर्माणका लागि सडक विभागले निर्माण कम्पनी शिमिजु कर्पोरेसनसँग अढाइ महिनाअघि सम्झौता गरेको थियो। सम्झौतामा नै सडक पुनर्निर्माणका लागि जापानबाट ल्याउने सामग्रीमा कर छुट दिने उल्लेख छ।
सरकारसँग गत कात्तिक पहिलो साता भएको सम्झौता अनुसार सडक पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ अनुदान दिने छ।
बिपी राजमार्गका अरु तीन वटा खण्ड भने सरकारले आफ्नै बजेटबाट पुनर्निर्माण गरिरहेको छ।










