काठमाडौं। एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण १०० विद्यार्थीहरूका लागि ‘एनसेल एसईई छात्रवृत्ति’को घोषणा गरेको छ। युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार प्रोजेक्ट शिक्षासँगको सहकार्यमा फाउन्डेसनले सो घोषणा गरेको हो।
सहकार्यअन्तर्गत यो वर्ष १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तर्वार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ।
यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्। जसले अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्याउने फाउन्डेसनको विश्वास छ।
‘एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौं। प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौं। प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौं’, एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ। यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ।
गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो। ती विद्यार्थीहरू अहिले विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययन गर्दैछन्।








