काठमाडौं। जग्गा कारोबारमा दाङ पहिलो नम्बरमा उक्लिएको छ। वैशाखमा सबैभन्दा धेरै घरजग्गा कारोबार दाङमा भएको छ। दाङका तीनवटा भूमि प्रशासन कार्यालयले वैशाखमा ३ हजार ३७८ लिखत पारित गरेका छन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घोराही भूमि प्रशासन कार्यालयबाट १२८१, तुलसीपुर भूमि प्रशासन कार्यालयबाट १५४१ र लमही भूमि प्रशासन कार्यालयबाट ५५६ लिखत पारित भएको हो।
नेपाल घरजग्गा व्यवसायी महासंघका अध्यक्ष विष्णु घिमिरेले दाङका अधिकांश स्थानीय तहमा जग्गाको वर्गीकरण भइसकेको र भूमि प्रशासन कार्यालयले छिटोछरितो काम गरेकोले कारोबार धेरै देखिएको बताए।
‘दाङका स्थानीय तहले फटाफट काम गरेका छन्। त्यहाँका प्राय: स्थानीय तहमा जग्गाको वर्गीकरण भइसकेकोले कित्ताकाट नरोकिएकोले घरजग्गा कारोबार धेरै हुन थालेको हो। त्यसैगरी खानी र हाइड्रोको मुआब्जाले तुलसीपुरलगायत शहरी क्षेत्रमा घरजग्गा किन्ने क्रम बढ्दो छ,’ घिमिरेले भने।
दाङपछि घरजग्गाको धेरै कारोबार मोरङमा भएको छ। मोरङमा वैशाखमा ३ हजार ३०४ लिखत पारित भएको विभागको तथ्यांक छ। झापामा ३ हजार ७५ लिखत पारित भएको देखिन्छ।
वैशाखमा सबैभन्दा बढी कारोबार हुने कार्यालयको रेकर्ड झापाको भद्रपुर भूमि प्रशासनको नाममा बनेको छ। यो कार्यालयले वैशाखमा २ हजार ४३ लिखत पारित गरेको छ।
काठमाडौंका ६ वटा भूमि प्रशासन कार्यालयले ३ हजार २२, भक्तपुर भूमि प्रशासन कार्यालयले १२२४ र लगनखेल भूमि प्रशासन कार्यालयले ११४२ लिखत पारित गरेका छन्।
वैशाखमा देशभरका भूमि प्रशासन कार्यालयले ५८ हजार ८८६ लिखत पारित गरेको विभागले जनाएको छ।
घरजग्गा कारोबारबाट वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर वैशाखमा घरजग्गा कारोबारबाट ४ अर्ब ५४ करोड २२ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
गत चैतमा ५५ हजार ५३१ लिखत पारित हुँदा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार रुपैयाँ र फागुनमा ३६ हजार ४७१ लिखत पारित हुँदा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।










