हुम्ला हुँदै मानसरोवार जान ४ दिनमा १६९ पर्यटक पुगे सिमकोट, सबैभन्दा धेरै भारतीय



बिजमाण्डू
२०८३ जेठ ३ गते ०६:३० | May 17, 2026
हुम्ला हुँदै मानसरोवार जान ४ दिनमा १६९ पर्यटक पुगे सिमकोट, सबैभन्दा धेरै भारतीय


काठमाडौं । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संखंया सिमकोटमा बाक्लिन थालेको छ।

Tata
GBIME

सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन्।

हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए। उनका अनुसार बैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन्।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट आइपुगेका छन्। शनिबार आएका २३ जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको हो।

गत चैत २१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन्।

मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन सुरु भएको चार दिनको संख्या हेर्दा सो संख्या बढ्ने विश्वास गरिएको छ।

विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन सुरु भएको थियो। बीचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो।

गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए। यस वर्ष गत वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका थिए। रासस