गुजरातलाई हराउँदै कोलकाताले राख्यो प्लेअफको सम्भावनालाई कायम, आज दुई खेल



बिजमाण्डू
२०८३ जेठ ३ गते ०५:५५ | May 17, 2026
गुजरातलाई हराउँदै कोलकाताले राख्यो प्लेअफको सम्भावनालाई कायम, आज दुई खेल
गुजरातविरुद्ध कोलकाताको ब्याटिङ। तस्बिर: आईपीएल


कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाताले गुजरातलाई २९ रनले हराएको हो।

Tata
GBIME

कोलकाताको इडन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २४७ रन बनाएको थियो। कोलकातालाई बिस्फोटक सुरुवात दिलाएका फिन एलनले ३५ बलमा ९३ रन बनाउँदा अङक्रिस रघुवंशीले अविजित ८२ तथा क्यामरन ग्रीनले अविजित ५२ रन बनाए। बलिङमा मोहम्मद सिराज र साइ किशोरले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ४ विकेट गुमाएर २१८ रन बनाए पनि लक्ष्यसम्म पुग्न सकेन। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८५ रन बनाउँदा जोस बटलरले ५७ तथा साइ सुदर्शनले अविजित ५३ रन बनाए। बलिङमा कोलकाताका सुनिल नारायणले २ विकेट लिँदा सौरभ दुबे र क्यामरन ग्रीनले समान १ विकेट लिए।

योसँगै कोलकाताले प्लेअफ पुग्ने सम्भावना जीवितै राख्दा गुजरात प्लेअफ पुग्ने पहिलो टोली बन्ने होडमा पछि परेको छ। १६ अंकसहित गुजरात शीर्ष दुईमा छ भने कोलकाता ११ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

आज आईपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु भिड्नेछन् भने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्नेछन्।