काठमाडौं। अमेरिकाले नेपालसामू १९६ रनको रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय सिरिजको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ८३ रनको योगदान दिँदा सेहान जयसूर्याले ५० तथा मिलिन्द कुमारले २८ रनको योगदान दिए।
बलिङमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए।
नेपालको टोलीमा आज कुशल भुर्तेलले पुनरागमन गर्दा इशान पाण्डे पनि प्लेइङ ११मा आएका छन्। यसअघिका खेलमा विनोद भण्डारी र अर्जुन कुमालले स्थान बनाउँदै आएका थिए। त्यस्तै, करण केसीको स्थानमा सोमपाल कामी टिममा छन्।
भीम सार्की, अर्जुन कुमाल, करण केसी र विनोद भण्डारी आज बेन्चमा छन्।
नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।










