काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक लगानी प्रतिबद्धता बढ्न थालेको छ। सूचना प्रविधि क्षेत्र सहित पूर्वाधारमुलक, पर्यटनमुलक, सेवामूलक,उत्पादनमुलक क्षेत्र लगायतमा परियोजनामा लगानीका लागि प्रतिबद्धता आएको हो।
उद्योग विभागका अनुसार साउन देखि बैशाखसम्म ७११ साना, ८ वटा मध्यम र ९ वटा ठुलो परियोजनाको लागि लगानी प्रतिबद्धता आएको छ। ७२८ वटा परियोजनाको लागि करिब ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
बैशाख महिनामा मात्रै ११३ वटा साना र १ वटा ठुलो परियोजनाको लागि ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। ती उद्योगले ९४८ जनालाइ रोजगारी दिनेछन्।
चालु आर्थिक वर्षको ९ महिनासम्म ६१५ वटा परियोजनाको लागि करिब ४१ अर्ब ७९ करोड वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
विभागको तथ्यांकअनुसार बैशाखमा पनि सूचना प्रविधी मुलक क्षेत्रमा सबैभन्दा बढी परियोजना आएका छन्। जसमा ४२१ परियोजनाको लागि एक अर्ब ७४ करोड ३८ लाख रुपैयाँको बैदेशिक लगानी प्रतिबद्धता आएको छ।
पर्यटमुलक क्षेत्रमा १८९ परियोजनाको लागि १२ अर्ब ५४ करोड रुपैयाँ ,सेवामुलक क्षेत्रमा ५५ वटा परियोजनाको लागि ४ अर्ब २५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
त्यस्तै, उत्पादनमुलक क्षेत्रमा ४२ वटा परियोजनाको लागि २ अर्ब ७० करोड, कृषि क्षेत्रमा १६ वटा परियोजनाको लागि २२ अर्ब, खनिज क्षेत्रमा २ वटा परियोजनाको लागि ११ करोड ५० लाख रुपैयाँ, ऊर्जा क्षेत्रमा २ वटा परियोजनाको लागि २३ करोड ४२ लाख र पूर्वाधार क्षेत्रमा १ परियोजनाको लागि १ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
साथै, विभागले यस अवधिमा रोयल्टीमार्फत ५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता लैजान स्वीकृति दिएको छ। करिब ११ लाख भन्दा बढी अमेरिकी डलर र ३५ करोड ९१ लाख रुपैयाँ भन्दा बढी भारतीय रुपैयाँ रोयल्टी फिर्ता लैजान उद्योगबाट स्वीकृति दिइएको हो।










