हैदराबादलाई हराउँदै शीर्षस्थानमा पुग्यो गुजरात, आज बेङ्ग्लुरु र कोलकाता भिड्दै



बिजमाण्डू
२०८३ बैशाख ३० गते ०५:२४ | May 13, 2026
हैदराबादलाई हराउँदै शीर्षस्थानमा पुग्यो गुजरात, आज बेङ्ग्लुरु र कोलकाता भिड्दै
गुजरातका खेलाडीको सेलिब्रेसन। तस्बिर: आईपीएल


गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हैदराबादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्षस्थानमा उक्लिएको हो।

Tata
GBIME

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। यसक्रममा साइ सुदर्शनले ६१ र वासिंटन सुन्दरले ५० रनको योगदान दिए। बलिङमा हैदराबादका सकिब हुसैन र प्रफुल हिंगेले समान २ विकेट लिँदा प्याट कमिङ्सले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १४.५ ओभरमा ८६ रनमा समेटियो। उसका लागि प्याट कमिङ्सले सर्वाधिक १९ रन बनाउँदा सलिल अरोराले १६ तथा हेनरिच क्लासनले १४ रन बनाए। बलिङमा गुजरातका कागिसो रबाडा र हेनरिच क्लासनले समान ३ विकेट लिँदा प्रसिद कृष्णाले २ तथा मोहम्मद सिराज र राशिद खानले समान १ विकेट लिए।

जितसँगै गुजरात अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। उसको १२ खेलबाट १६ अंकछ। दोस्रो र तेस्रो स्थानका बेङ्ग्लुरु र हैदराबादको समान १४ तथा पञ्जावको १३ अंकछ। जारी प्रतियोगिताबाट मुम्बई इण्डियन्स र लखउन सुपर जायन्ट प्लेअफको होडबाट बाहिरिँदा बाँकी टोलीको सम्भावना कायम छ।

आजको खेलमा कोलकाता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु भिड्ने छन्।