काठमाडौं। स्कटल्याण्डविरुद्ध नेपाली ब्याटर गुल्सन झाले खेलको अन्तिम बलमा छक्का प्रहार गरे। तर, यसको न सेलिब्रेसन उनले गरे न समर्थकले । नेपाललाई खासमा अन्तिम दुई बलमा बाउन्ड्री चाहिएको थियो। अन्तिम बलमा छक्का प्रहार गरे तर त्यसअघिको बल डट भइसकेको थियो। हारिसकेको खेललाई अघि बढाउँदै गुल्सनले टिमलाई खेलसम्म फर्काए। तर, नतिजा भने स्कटल्याण्डको पक्षमा रह्यो।
यो सँगै क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट सुरु भएको त्रिदेशीय सिरिजको पहिलो खेलमै नेपाल २ रनको झिनो अन्तरले पराजित भएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।
नेपाल जवाफी ब्याटिङमा उत्रिनुअघि वर्षा सुरु भयो। केही बेरमा खेल सुरुहुँदा नेपालको ओभर र लक्ष्य दुबै छोट्यो। नेपालले ३९ ओभरमा २२१ रन भेट्टाउनु पर्ने भयो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै संघर्ष गर्यो। शीर्षक्रममा ओपनर विनोद भण्डारी र अर्जुन कुमाल उल्लेखनीय रन विनै सातौँ ओभरभित्र पभेलियन फर्कँदा नेपाली ब्याटिङ दवाबमा आएको थियो।
नेपालको इनिङ्स अघि बढाइरहेका ओपनर आशिफ शेख पनि १३.३ ओभरमा २१ रन बनाएर आउट हुँदा नेपालले डीएल टार्गेटमा नेपालले संघर्ष गरिरह्यो। १९ ओभरमा वर्षा सुरु हुँदा स्कटिस खेलाडीहरु २० ओभर पुर्याउन हतारो गर्दा नेपाली कप्तान रोहित पौडेल अम्पायरसँगै भिड्न पुगेका थिए। तर, यसबेला खेल रोकिएन बरु पानी छिट्याएर रोकियो।

यसपछि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले साझेदारी गरेर डीएल टार्गेटबाट केहीमात्र पछि रहेको अवस्थामा पुर्याए। तर, २५.४ ओभरमा रोहित पौडेलले अनावश्यक जोखिम लिएर सर्ट खेल्दा नेपालले विकेट गुमायो। यहाँबाट डीएल टार्गेटमा स्कटल्याण्ड निकै अघि बढ्यो। लगत्तै २६.६ ओभरमा अर्धशतक बनाएर नेपालका लागि आशाको केन्द्रमा रहेका दीपेन्द्र सिंह ऐरी पनि आउट भए। उनले ४९ बलमा ५५ रन बनाएका थिए। लगत्तै आएका आरिफ शेख ३ रनमै आउट भए।
त्यसपछि नेपालको इनिङ्स अघि बढाउने जिम्मेवारी लिए गुल्सन झा र करण केसीले। यी दुईले ४० रनको साझेदारी गरे पनि इनिङ्स अघि लैजान सकेनन्। करण १८ रन बनाएर आउट हुँदा गुल्सनले नन्दन यादवसँग साझेदारी गर्दै इनिङ्स अघि बढाए। झा ३५ बलमा ६१ रन बनाउँदै अविजित रहँदा यादव ८ रनमा अविजित रहे। तर, दुई रनले पछि पर्दै नेपालले खेलमा पराजय ब्यहोर्यो।

स्कटल्याण्डको इनिङ्स
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो।

टीयू क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोज्दै बलियो सुरुवात गरेको थियो। स्कटल्याण्डका ओपनरद्वय जर्ज मुन्से र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरे। मुन्सेले ६२ बलमा १२ चौका र २ छक्काको सहायतामा ७५ रन बनाउँदा म्याकक्रेथले ३५ रनको योगदान दिए।
यी दुबैलाई पभेलियन फर्काउँदै नेपाललाई ब्रेकथ्रु सन्दिप लामिछानेले दिलाए। शीर्षक्रमका अन्य दुई ब्याटर ब्राण्डन म्याकमुलेन र कप्तान रिची बेरिङटोनलाई पनि दोहोरो अंकको रन नजोड्दै लामिछानेले विकेट लिएपछि नेपालले खेलको मोमेन्टम आफ्नो पक्षमा पार्यो।
मध्यक्रमका म्याथ्यु रसलाई १८ र मार्क वाटलाई २४ रनमा करण केसीले विकेट लिए। यस्तोमा स्कटल्याण्डको इनिङ्स उकास्ने जिम्मेवारी लिएका माइकल इङ्ग्लिसले ३४ रन बनाएर अविजित रहँदा माइकल लिस्क २९ रन बनाएर इनिङ्सको अन्तिम बलमा आउट हुन पुगे।
बलिङमा लामिछानेले पूरा स्पेल बलिङ गरेर ४१ रन दिँदै ४ विकेट लिँदा करण केसी र नन्दन यादवले समान २ विकेट लिए।










