डुम्रे (तनहुँ)। तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेघाटस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का तोडिएको छ। ठेक्काको १२ वर्षमा ६ पटक म्याद थप्दा पनि काम पुरा भएको थिएन।
निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मंगलबार सूचना जारी गर्दै ठेक्का अन्त्य गरिएको जनाएको हो। तनहुँको आँबुखैरेनी-५ र चितवनको भरतपुर-२९ स्थित घुमाउने पुल बनाउन सडक डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा छ।
कार्यालयले गत चैत १७ गते संशोधित ‘डिजाइन’ स्वीकृत भइसकेको जनाउँदै १५ दिनभित्र काम सुरु गर्न अन्तिम मौका दिएको थियो। तर, उक्त निर्देशनपछि पनि सम्पर्कमा नआएको र कुनै प्रगति नदेखिएपछि सम्झौतामा उल्लिखित निर्देशन ‘गम्भीर उल्लंघन’ को प्रावधानअनुसार ठेक्का तोडिएको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।
पुल निर्माणमा भएको चरम ढिलासुस्तीका कारण स्थानीयवासी लामो समयदेखि आन्दोलित हुँदै आएका थिए। पुल निर्माण संघर्ष समितिका संयोजक सिद्धान्त जर्घा मगरले निर्माण कम्पनीले जनताको भावनासँग खेलबाड गरेको बताए। २०७० असारमा १० करोड २१ लाख ८६ हजार रुपैयाँ लागतमा सम्झौता भएको १०५ मिटर लामो उक्त पुलको हालसम्मको भौतिक प्रगति केवल ३६ प्रतिशत मात्र छ।
यो पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुग्लिन–डुम्रे सडकभन्दा करिब २५ किलोमिटर दूरी छोटो पर्नेछ। पुल नबनेका कारण यस क्षेत्रका ६/७ वटा साना बस तथा जीप घुमाउनेघाटसम्म मात्रै चल्न बाध्य छन्। यात्रु झोलुंगे पुल प्रयोग गरी मुग्लिन–नारायणगढ सडकखण्डसम्म पुग्ने गरेका छन् भने दुई पाङ्ग्रे सवारीसाधन पुलबाट डोर्याउँदै सडकखण्डमा जोडिन्छन्।
सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा निर्माण व्यवसायीलाई अविलम्ब निर्माणस्थल खाली गर्न तथा बाँकी भुक्तानी भए १५ दिनभित्र हिसाब मिलान (वित्तीय फरफारक) गर्न निर्देशन दिइएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र आह्वान गरी पुल निर्माणको बाँकी काम अघि बढाउने बाटो खुलेको छ।
निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाइएको डिभिजन प्रमुख श्रेष्ठले जानकारी दिए। रासस










