काठमाडौं। नागढुंगा-नौबिसे सुरुङमार्ग सञ्चालनको मिति धकेलिएको छ। सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको एआरटी-युसिन जेभी सम्झौताका लागि ढिला आएका कारण मिति धकेलिएको हो।
नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले एआरटी-युसिन जेभीसँग वैशाख १६ गते सम्झौता गरेको छ। आयोजनाले वैशाख तेस्रो साता नै परीक्षणको रुपमा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताएको थियो।
तर एआरटी-युसिन जेभीले अहिलेसम्म सुरुङमार्गमा जनशक्ति परिचालन गरेकै छैन। कम्पनीले सुरुङमार्गमा सोमबारदेखि जनशक्ति खटाएर आवश्यक तयारी अगाडि बढाउने बताएको छ। सेवा प्रदायकले सुरुङमार्गमा खटिने कर्मचारीलाई तालिम दिनुपर्नेछ।
आयोजना प्रमुख सौजन्य नेपाल र युसिन-एआरटीको प्राविधिक टोलीबीच सुरुङमार्गलाई सार्वजनिक रुपमा खुल्ला गर्नुअघि विभिन्न चरणका परीक्षण र सुरक्षा तयारी पुरा गर्नुपर्ने विषयमा छलफल भएको छ।
पूर्वतयारीका काम पूरा भएपछि कम्पनीले परीक्षणका लागि आयोजनालाई जानकारी गराउने छ। आयोजना प्रमुख नेपालले सुरुङमार्ग जेठदेखि परीक्षणका रुपमा सञ्चालन गर्ने र साउनदेखि मात्रै पूर्णरुपमा सञ्चालनमा आउने बताए।
परीक्षणका क्रममा सुरक्षालाई प्राथमिकता दिँदै सुरुमा एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधनलाई मात्र ‘ट्रायल’को रुपमा प्रवेश दिने योजना बनाइएको छ।
‘पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सुरुङमार्ग सबैका लागि खुला हुँदैन। ट्रायल अवधिमा पनि सम्भावित जोखिम कम गर्न बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने विषयमा छलफल भएको छ,’ नेपालले भने, ‘जेठ र असार महिनाभर गरिने आन्तरिक तयारी र परीक्षणपछि आगामी साउन १ गतेदेखि मात्रै यो सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ला गर्ने लक्ष्य छ।’
सुरुङभित्र गाडीले ओभरटेक गरेमा वा अन्य कुनै समस्या आएमा उद्धार टोलीको प्रतिक्रिया कस्तो रहन्छ भन्ने कुरा परीक्षण गरिनेछ। एयरपोर्टमा गरिने जस्तै आकस्मिक उद्धार अभ्यासमार्फत दुर्घटना वा आगलागीको अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने तयारी पनि गरिने नेपालले बताए।
परीक्षण सकिएपछि सुरुङमार्ग २४ सै घण्टा सञ्चालन आउनेछ। त्यसका लागि कम्पनीले कम्तीमा चार जना ‘फायर फाइटर’ स्ट्यान्डबाइ राख्नुपर्नेछ।









