डलर र युआनको भाउ वृद्धिले महँगियो अटो बजार, १० प्रतिशतसम्म बढ्यो गाडीको मूल्य



शुक्र गिरी
२०८३ बैशाख ६ गते १८:१० | Apr 19, 2026
डलर र युआनको भाउ वृद्धिले महँगियो अटो बजार, १० प्रतिशतसम्म बढ्यो गाडीको मूल्य

काठमाडौं। अमेरिका-इजरायल र इरानबीचको तनावले डलरको मूल्य उच्च हुँदा तथा इन्धनको मूल्य महँगिएर ढुवानी खर्च बढ्दा त्यसको असर नेपाली अटो बजारमा परेको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरका साथै चिनियाँ युआन पनि महँगिदा नेपाली बजारमा सवारीसाधनको मूल्य बढ्न पुगेको छ।

अमेरिका-इजरायल र इरानबीच समस्या सुरु हुनुअघि प्रति डलर भाउ १४४ रुपैयाँ हाराहारी थियो। अहिले डलरको भाउ १५० रुपैयाँ हाराहारी पुगेको छ। यस्तै चिनियाँ मुद्रा पनि १९ रुपैयाँबाट २२ रुपैयाँसम्म पुगेको छ।

डलर र युआनको भाउ जति बढ्छ, सवारीसाधन आयात गर्ने कम्पनीले त्यति नै बढी रकम तिर्नुपर्छ। इन्धनको मूल्यवृद्धिले ढुवानीमा हुने खर्च बढेको छ।  

यही कारण नेपाली बजारमा सवारीसाधनको मूल्य महँगिन पुगेको हो। बजारमा पछिल्लो समय लन्च भएका सवारीसाधनको मूल्य दुई पटकसम्म वृद्धि भइसकेको छ।

विभिन्न ब्रान्डका सवारीसाधन बेच्दै आएका नेपाली व्यवसायीहरुले गाडीको मूल्य १० प्रतिशतसम्म बढाएका छन्। डलर र युआनको भाउ तथा इन्धनको मूल्य वृद्धिका कारण लागत बढेकाले सवारीसाधनको मूल्य बढाउनुपरेको उनीहरुको भनाइ छ।

चांगन डिपलको एक वर्ष अगाडि लन्च भएको डिपल एस०५ गाडीको मूल्य दुई पटकमा १०.२० प्रतिशत बढेको छ। यसको आधिकारिक बिक्रेता एमएडब्लू ग्रुपले डिपल एस०५ प्लसको मूल्य पछिल्लोपटक ३ लाख रुपैयाँ बढाएर ५३ लाख ९९ हजार रुपैयाँ पुर्‍याएको छ।

यो गाडीको मूल्य सुरुमा ४८ लाख ९९ हजार रुपैयाँ रहेकामा कम्पनीले बीचमा ५० लाख ९९ हजार रुपैयाँ पुर्‍याएको थियो।

यस्तै डिपल एस०५ म्याक्सको मूल्य २ लाख रुपैयाँ बढेर ५९ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यो गाडीको मूल्य सुरुमा ५४ लाख ९९ हजार रुपैयाँ रहेकामा कम्पनीले ९ प्रतिशत बढाइसकेको छ।

यसैगरी, अर्को चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पनि बीवाइडी सिलायन ७ को मूल्य ७९ लाख ८५ हजार रुपैयाँ बनाएको छ। सुरुमा सिलायन ७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेकामा मूल्य दुई पटकमा ६.४ प्रतिशत अर्थात गरेर ४ लाख ८५ हजार बढाइएको छ।

एटो २ को मूल्य पनि दुई पटकमा बढेर ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ। एटो २ को मूल्य सुरुमा ४३ लाख ९९ हजार रुपैयाँ थियो। कम्पनीले दुई पटकमा ४.४३ प्रतिशत अर्थात १ लाख ९६ हजार रुपैयाँ मूल्य बढाएको छ।

बीवाइडी एटो ३ एडभान्स्डको मूल्य ३ लाख ९ हजार रुपैयाँ बढाएर ५९ लाख ९९ हजार रुपैयाँ पुर्‍याइएको छ।

एटो १ स्ट्यान्डर्डको मूल्य ८० हजार रुपैयाँ बढाइएको छ। यो गाडीको मूल्य अब २९ लाख ७५ हजार रुपैयाँ भएको छ। यस्तै एटो १ प्रिमियमको मूल्य ८१ हजार रुपैयाँ बढाएर ३३ लाख ८० रुपैयाँ पुर्‍याइएको छ।

अर्को ब्रान्ड ओमोडा एण्ड जेको गाडीको मूल्य पनि दुई पटक बढिसकेको छ।

यो ब्रान्डको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले जेको आईकार भी२३ गाडीको मूल्य ८.५ प्रतिशत अर्थात ४ लाख रुपैयाँ बढाएर ५० लाख ९९ हजार रुपैयाँ बनाएको छ। यो गाडी कम्पनीले सुरुमा ४७ लाख रुपैयाँमा बिक्री गरेको थियो।

जीली गाडीको मूल्य २ लाख रुपैयाँसम्म बढाइएको छ। यसको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले जीली ईएक्स ५ को मूल्य बढाएर ६९ लाख ९९ हजार रुपैयाँ पुर्‍याएको छ। यसको मूल्य यसअघि ६८ लाख रुपैयाँ थियो।

यस्तै यसको सस्तो भेरियन्टको मूल्य ५८ लाखबाट ५९ लाख ९९ हजार रुपैयाँ बनाइएको छ।

स्टकमा गाडी भएका ब्रान्डले भने मूल्य बढाएका छैनन्। जस्तै एमजी, लिपमोटर, डिपल एस०७ मोडलहरुको मूल्य बढेको छैन।