नेपाललाई डिजिटल पूर्वाधारको केन्द्र बनाउन अमेरिकी सरकार र निजी क्षेत्रसँग संवाद



बिजमाण्डू
२०८३ बैशाख ६ गते १८:०० | Apr 19, 2026
नेपाललाई डिजिटल पूर्वाधारको केन्द्र बनाउन अमेरिकी सरकार र निजी क्षेत्रसँग संवाद


काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (अमच्याम नेपाल)ले नेपाललाई स्वच्छ ऊर्जामा आधारित डिजिटल पूर्वाधारको विश्वव्यापी केन्द्र बनाउने नयाँ भिजन अघि सार्दै ‘वाशिङ्टन डोर नक’ कार्यक्रम टुंग्याएको छ।

Tata
GBIME

कार्यक्रममा एआई, ब्लकचेन र क्रिप्टो कम्प्युटिङ क्षेत्रमा नेपाललाई अग्रस्थानमा ल्याउने लक्ष्यलाई अघि सारिएको थियो।

सो क्रममा अमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाह, मोगा इनर्जीका अध्यक्ष सम्राट मोगा र अमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापा सहभागी टोलीले अमेरिकी सरकार र निजी क्षेत्रसँग उच्चस्तरीय छलफल गरेको थियो। टोलीले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय, ऊर्जा मन्त्रालय, अमेरिकी व्यापार तथा विकास एजेन्सी र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त संस्थानसँग संवाद गर्दै नेपाललाई नयाँ लगानी गन्तव्यका रूपमा चिनाएको छ।

संवादपछि अमेरिका-नेपाल ऊर्जा रोडशोको तयारी गरिएको छ। यो कार्यक्रम अमेरिकी ऊर्जा संघसँगको सहकार्यमा हुनेछ। यसले नेपालको जलविद्युत् सम्भावना र विश्वका लगानीकर्तालाई जोड्ने अमच्यामले बताएको छ।

टोलीले अमेरिकी चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशपसँग पनि महत्त्वपूर्ण छलफल गरेको छ। केशपले नेपालको राजनीतिक परिपक्वता र लगानी सम्भावनाप्रति आशा व्यक्त गरेका छन्। निजी क्षेत्र र संस्थागत सहकार्य अझ गहिरो बनाउन उनले जोड दिए।

यस कार्यक्रमको मुख्य अवधारणा ‘हाइड्रो टु डाटा’ हो। जसमा जलविद्युत् प्रयोग गरेर डिजिटल भविष्य निर्माण गर्ने लक्ष्य राखिएको छ।

नेपालमा कम लागतमा प्रशस्त नवीकरणीय ऊर्जा भएकाले ठूलो स्तरका डाटा सेन्टर स्थापना गर्न नेपाल उपयुक्त हुने बताइएको छ। एआई, क्लाउड कम्प्युटिङ र क्रिप्टो जस्ता क्षेत्रलाई आवश्यक ऊर्जा यहाँ सहजै उपलब्ध हुन सक्ने आकलन गरिएको छ।

अमच्याम नेपालका संस्थापक अध्यक्ष शाहले नेपालका लागि साहसी सोच आवश्यक रहेको बताए। उनले सहायता आधारित अर्थतन्त्रबाट व्यापार आधारित अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने धारणा राखे। यसले दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने उनको भनाइ छ।

सो क्रममा अमेरिकी व्यापार तथा विकास एजेन्सीले डिजिटल पूर्वाधारको सम्भाव्यता अध्ययनमा चासो देखाएको छ। त्यस्तै, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त संस्थानसँग लगानीका सम्भावनाबारे छलफल भएका छन्।

अमच्याम नेपालले क्यापिटल हिलका सदस्यहरूसँग पनि भेटघाट गरेको छ। सो अवसरमा नेपालसँगको दीर्घकालीन सम्बन्ध अझ सुदृढ बनाउन पहल गरिएको छ।

अमच्याम नेपालले स्पष्ट नीति, स्थिर वातावरण र सहज नियमन आवश्यक रहेको नेपाल सरकारलाई सुझाव दिएको छ। एआई र क्रिप्टो जस्ता नयाँ क्षेत्रलाई प्रोत्साहन गर्ने ढाँचा बनाउन पनि आग्रह गरिएको छ।