काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन्।
त्यसक्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन उनले निर्देशन दिए। त्यस्तै, ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था मिलाउने उनले बताएका थिए।
तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।
‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समय देखि लाईसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,’ उनले भने।
निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई संचालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको पनि उनले बताएका छन्। उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिएका थिए।
त्यसक्रममा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको जानकारी दिएका थिए। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने सक्ने गरि क्षमता विकास गरिएको उनले बताएका थिए।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र बैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए।








