सिंहदरबारभित्रको इन्टरनेट सेवा अवरोधरहित बनाउन मन्त्री तिमिल्सिनाले दिए निर्देशन



बिजमाण्डू
२०८२ चैत्र ३० गते १२:१८ | Apr 13, 2026
सिंहदरबारभित्रको इन्टरनेट सेवा अवरोधरहित बनाउन मन्त्री तिमिल्सिनाले दिए निर्देशन


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिंहदरबार क्षेत्रमा ‘इन्टरनेट’ सेवालाई छिटो र अवरोधरहित बनाउन पहल थालेको छ।

Tata
GBIME

यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकायका रुपमा रहेको एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार ‘डाटा’ व्यवस्थापन केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराईलाई बोलाएर पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले सिंहदरबारभित्रका सम्पूर्ण निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

मन्त्री तिमिल्सिनाले इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने भन्दै सेवा प्रदायक र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

उनले प्रशासनलाई प्रभावकारी बनाउन डिजिटल सेवाको गुणस्तर सुधार गर्न आवश्यक रहेको भन्दै प्राविधिक र मानवीय त्रुटिका कारण समस्या उत्पन्न हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापन गर्न भनेका छन्।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख भट्टराईले सिंहदरबारभित्रका केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या दोहोरिन नदिन आवश्यक प्राविधिक सुधार र व्यवस्थापनका उपाय अवलम्बन गरिएको जानकारी दिए।

उनका अनुसार सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जीबीपीएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबीपीएस क्षमताको अतिरिक्त ब्रोडब्यान्ड प्रयोग भइरहेको छ।

उनले अप्टिकल फाइबरमा हुने अवरोधका कारण इन्टरनेट सेवामा समस्या देखिने गरेको भन्दै अप्टिकल फाइबरलाई जमिनमुनि बिछ्याउनुपर्ने बताए।