काठमाडौं। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यू’ देखाएर बीमा रकम दाबी गरेको विषयमा समीक्षासहित कडाइ गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जनाएको छ।
पदयात्रीलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि लेक लागेको भन्दै बढाइचढाइ गर्ने र अनावश्यक रूपमा हेलिकोप्टर प्रयोग गरी बीमा रकम दाबी गरेको विषय बाहिरिएपछि मन्त्रालयले समिति गठन गरेको हो।
मन्त्रालयले यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पर्ने भन्दै ‘शून्य सहनशीलता’को नीति लिने बताएको छ।
मन्त्रालयले विज्ञप्तिमा आइन्दा रेस्क्यूलाई पारदर्शी बनाउन ‘रेस्क्यु म्यानेजमेन्ट सिस्टम’ विकास गर्ने उल्लेख गरेको छ। यो प्रणालीमा पदयात्री दर्तादेखि उद्धारको अनुरोध र बीमा प्रमाणीकरणसम्मका सबै प्रक्रिया एकै ठाउँमा समावेश गर्ने मन्त्रालयले बताएको छ।
मन्त्रालयले गाइड र ट्रेकिङ एजेन्सीका लागि नैतिक आचरण पालना अनिवार्य गर्दै लाइसेन्स प्रक्रियामा कडाइ गर्ने पनि बताएको छ।











