काठमाडौं । पुँजीकोष दबाबमा रहेका बैंकहरुलाई कारबाहीमा पर्न नदिन नेपाल राष्ट्र बैंकले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने भएको छ।
जोखिमयुक्त सम्पत्ति बढेर पुँजी क्षयीकरण भइ व्यवसाय थप विस्तार नसकिने अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले आवश्यकताका आधारमा भन्दै हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको हो।
राष्ट्र बैंकका एक उच्च अधिकारीले मागेका आधारमा भन्दा पनि बैंकहरुको आवश्यकता हेरेर हकप्रद सेयर जारी गर्न दिने बताए।
‘बैंकहरुको जोखिमयुक्त सम्पत्ति बढ्दै गयो भने बिजनेस गर्दै जाँदा क्यापिटल नपुग्न सक्छ। त्यस्तो अवस्थामा क्यापिटल बढाउनु पर्ने हुन्छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘क्यापिटल बढाउन दिइएन भने शीघ्र सुधारात्मक कारबाही गर्नुपर्छ। कारबाहीमा परे निक्षेप संकलनदेखि व्यवसाय विस्तारमा रोक र डिभिडेन्ड बाँड्न नपाउने अवस्था हुन्छ।’
हाल ८ वटा वाणिज्य बैंक पुँजीकोषको दबाबमा छन्। हिमालयन बैंकको पुँजीकोष ‘बोर्डर लाइन’ भन्दा तल झरेको छ। नियामकीय प्रावधान अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम गर्नुपर्छ।
पुँजीकोष कायम गर्न नसकेको अवस्थामा शीघ्र सुधारात्मक कारबाही हुन्छ। कारबाही गर्नुपर्ने अवस्था नआओस् भनेर लचकता अपनाउन लागेको राष्ट्र बैंकका अर्का अधिकारीले बताए।
‘पुँजीकोष कायम गर्न नसके नियामकीय रुपमा कस्नु पर्ने हुन्छ। त्यो स्थितिमा संस्था समस्याग्रस्त घोषणा हुनसक्ने भएकाले हामी लचकता अपनाउँदै आवश्यकताका आधारमा राइट सेयर जारी गर्न स्वीकृति दिने तयारीमा छौं,’ ती अधिकारीले भने।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने भनेको थियो।
पुँजीकोषका कारण संस्था थप नबिग्रियोस् भन्नेमा राष्ट्र बैंक सचेत देखिएको छ। हकप्रद सेयर जारी गर्न दिएर व्यवसाय बढेको अवस्थामा समग्र अर्थतन्त्रका लागि राम्रो हुने राष्ट्र बैंकको बुझाइ छ।
‘इकोनोमीमा बिजनेस साइकल हुन्छ। अहिले बिजनेस साइकल मन्दीको अवस्थामा छ। कुनै बेला बैंकहरुले वर्षमै ३०/४० प्रतिशतको बिजनेस ग्रोथ गरेका थिए। त्यो ग्रोथका कारण पुँजीकोषमा समस्या आइ राइट सेयर जारी गर्न दिएको भए त्यसले अहिले अर्को समस्या आउँथ्यो,’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘पछिल्ला वर्षहरुमा बैंकहरुको बिजनेस ग्रोथ न्यून विन्दुमा झरेको छ। रिक्स एसेट बढेर पुँजीकोषमा दबाब पर्दा राइट सेयरमार्फत क्यापिटल बढाउन दिनुपर्छ भन्नेमा छौं।’
अहिले बैंकिङ क्षेत्रमा व्यवसाय वृद्धिदर ३–४ प्रतिशतमा सीमित छ। यस्तो अवस्थामा पुँजीकोषमा दबाबले बैंकहरुलाई व्यवसाय बढाउन कठिनाई हुने भएकाले राष्ट्र बैंक सहयोगस्वरुप हकप्रद सेयर जारी गर्न दिनुपर्ने पक्षमा देखिएको हो।
हकप्रद सेयरबाट पुँजी संकलनपछि बैंकहरुलाई तीव्र सुधारात्मक कदम चाल्न सक्षम बनाउँछ। साथै व्यावसायिक स्थायित्व सुनिश्चित गर्नेछ। शीघ्र सुधारात्मक कारवाही अन्तर्गत पर्ने जोखिम घटाउनुका साथै पुँजी संरचना बलियो हुनेछ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्थाका कारण एनआइसी एसिया बैंक चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेको छ। अन्य बैंकहरु भने राइट सेयरको अनुमति माग्दै राष्ट्र बैंक पुगेका छैनन्।
बैंकहरुले आफ्नो पुँजीकोष मजबुत राख्न नसकेमा ऋण प्रवाह र ग्राहक सेवामा समस्या आउन सक्ने खतरा हुन्छ। त्यसैले हकप्रद सेयरमार्फत पुँजी जुटाउन स्वीकृतिलाई बैंकहरूको वित्तीय स्वास्थ सुधार गर्ने र समग्र बैंकिङ प्रणालीमा स्थायित्व कायम राख्ने उपायका रूपमा लिने गरिएको छ।











