काठमाडौं। केही वर्षअघिको तुलनामा सुनचाँदीको मूल्य आकाशिएसँगै त्यसलाई धितो राखेर कर्जा लिने क्रम बढेको छ। विभिन्न देशमा भइरहेका युद्ध र नेपालको अस्थिर राजनीतिका कारण सुनचाँदीको डिमान्ड बढ्दा केही वर्षदेखि मूल्य लगातार बढेको हो।
सुनचाँदीको बढ्दो मूल्यसँगै सानो भोलुमको धितोमा बढी कर्जा पाइन थालेको छ। मूल्य बढ्दा थोरै धितोमा बढी ऋण पाइन्छ। सुनचाँदीको मूल्य घट्दा बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन कल गरेर लोन घटाउनुपर्छ।
पछिल्लो २/३ वर्षयता निरन्तर बढेर तोलाको ३ लाखभन्दा माथि पुगेको सुनको मूल्य हाल २ लाख ८६ हजार रुपैयाँ छ। उच्च दरले मूल्य बढेसँगै सुन धितो राखेर धेरै ऋण लिन पाइन्छ। पहिले ऋण लिएका ऋणीहरूले सोही धितोबाट थप कर्जा पाउँछन वा पाउँदैनन्?
सुनचाँदी धितो राखेर पहिले कर्जा लिइसकेका ऋणीहरूले मूल्य बढेसँगै कर्जाको पुनर्मूल्यांकन हुने वा नहुने बैंकपिच्छे फरक पर्छ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय ऋणीको आवश्यकता अनुसार क्राइटेरिया हेरेर यस्तो कर्जा पुनर्मूल्यांकन गरिने बताउँछन्। विगतमा १ लाख तोला सुन हुँदा कर्जा लिएको ऋणीहरूको अहिले मूल्य बढेसँगै कर्जा पुनर्मूल्यांकन गरी थप ऋण लिन पाउने उनको भनाइ छ।
‘हामीले सहज रुपमा सुन धितो कर्जाको पुनर्मूल्यांकन गरिरहेका छौं। अहिले सुनको मूल्य ३ लाखको हाराहारीमा छ,’ उनले भने, ‘नयाँ ऋणीको हकमा कुनै समस्या नै रहेन। पुरानी ऋणीहरूले बढेको मूल्यको आधारमा थप ऋण लिन सक्छन्।’
केही बैंकहरूले भने पहिलेको कर्जा चुक्त्ता गराएपछि पुनर्मूल्यांकन गरी नयाँ कर्जा दिने गरिरहेका छन्।
गोल्ड लोन रिटेल प्रडक्ट हो। रिटेड प्रडक्टहरूमा बैंकअनुसार फरक-फरक व्यवस्था छ। राष्ट्र बैंकले यस्तो कर्जाको हकमा कुनै एउटै व्यवस्था हुनुपर्छ भनेको छैन। त्यसकारण बैंकपिच्छे कसैले लोन टू भ्यालु रेसियो ७० प्रतिशतसम्म कर्जा दिन्छन्।
कुनै बैंकहरूले ५० प्रतिशतसम्म मात्रै लोन टू भ्यालु रेसियो कायम गरेका छन्। यस्तो कर्जाको हकमा बैंक र ऋणीबीच प्रडक्ट पेपर एग्रिमेन्ट हुन्छ। त्यसमा लोन टू भ्यालु रेसियो, कर्जा पुनर्मूल्यांकन हुने नहुने लगायतका कुरा प्रष्ट हुन्छ।
माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सुवास जमरकट्टेल प्रडक्ट पेपरका आधारमा सुन धितो कर्जा पुनर्मूल्यांकन गर्न सकिने बताउँछन्।
‘बैंकहरू र ऋणीबीच प्रडक्ट पेपरमा लोन टू भ्यालु रेसियो कति हुने, मूल्य घटबढ हुँदा मार्जिन कल गर्ने र बढ्दा पुनर्मूल्यांकन गर्न मिल्ने नमिल्ने भन्ने एग्रिमेन्ट भएको हुन्छ,’ जमरकट्टेलले बिजमाण्डूसँग भने, ‘त्यो प्रडक्ट पेपरको आधारमा मार्जिन कल गर्ने र कर्जा पुनर्मूल्यांकन गरी कर्जा थप्ने प्रष्ट हुन्छ।’
अधिकांश बैंकहरूले मूल्य बढ्दा पिरियोडिक समयपछि त्यसमा सहजै पुनर्मूल्यांकन गरी कर्जा थप्ने उनको भनाइ छ। रिटेल कर्जामा कुनै निश्चित मापदण्ड नहुने उनले जानकारी दिए।
चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट सुनचाँदी धितो कर्जा २६.१ प्रतिशतले बढाएका छन्। गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो बापत ८३ अर्ब २८ करोड रुपैयाँ ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा अहिले यस्तो कर्जा बढेर १ खर्ब ५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कर्जा ५८ अर्ब ४८ लाख रुपैयाँ दिएका थिए। सुन चाँदीको मूल्य बढ्न थालेसँगै थोरै सुन राखेर धेरै कर्जा लिन सकिने भएपछि यस्तो कर्जा वृद्धिदर राम्रो देखिएको बैंकरहरू बताउँछन्।
बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो राखेर दिने कर्जा व्यक्तिगत कर्जा हो। सुनचाँदीको मूल्य बढेर ऋणीको सम्पत्ति बढ्ने भएपनि पुरानो चुक्त्ता गरेपछि पुनर्मूल्यांकन गरेर नयाँ कर्जा दिने कृषि विकास बैंकका एक कर्मचारीले बताए।
‘२/३ वर्षअघि सुन तोलामा १ लाख कम थियो। त्यसबेला १ तोला राख्दा न्यूनतम ५० देखि ७० हजारसम्म कर्जा लिन पाइन्थ्यो,’ उनले भने, ‘अहिले तोलाको मूल्य ३ लाख हाराहारी छ। अहिले तुलनामा १ लाख ५० देखि १ लाख ७० हजारसम्म दिन मिल्छ।’
ऋणीले पुनर्मूल्यांकन गर्न पुरानो लोन चुक्त्ता गर्नुपर्ने उनले बताए। ३ वर्षअघि ५ तोला राखेर २ लाख ५० हजारसम्म कर्जा दिएको बैंकले पुरानो कर्जा चुक्त्ता गर्न लगाएर ५ तोला सुन धितोमा न्यूनतम साढे ७ लाख कर्जा दिने उनको भनाइ छ।











