स्मार्टफोन ८ महिनामा भित्रियो १५ लाख २८ हजार थान, ८५ प्रतिशत चीनबाट



बिजमाण्डू
२०८२ चैत्र ८ गते १६:१६ | Mar 22, 2026
स्मार्टफोन ८ महिनामा भित्रियो १५ लाख २८ हजार थान, ८५ प्रतिशत चीनबाट


काठमाडौं। स्मार्टफोनको आयात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष ८ महिनामा पोहोर सोही अवधिको तुलनामा १ लाख २१ हजार ४१७ थान बढी स्मार्टफोन आयात भएको हो।

Tata
GBIME

गत आर्थिक वर्ष ८ महिनामा १४ लाख ७ हजार ७८ थान स्मार्टफोन आयात भएकामा चालु आवको साउनदेखि फागुनसम्म १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएको छ।

यसमध्ये ८५ प्रतिशत अर्थात १२ लाख ९२ हजार ३४९ थान चीनबाट भित्रिएको हो। चीनबाट २३ अर्ब ७ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएको विभागले जनाएको छ।

विभागका अनुसार ८ महिनामा २९ अर्ब ९३ करोड ५९ लाख ४६ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ। गत आवमा सोही अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँको स्मार्टफोन आयात भएको थियो।

स्मार्टफोन आयातबाट ५ अर्ब ५८ करोड ३८ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। सरकारले पोहोर स्मार्टफोन आयातबाट ४ अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।