ट्रम्पसँग नजिकिँदा अफ्ठेरोमा पर्दैछ फिफा, भूराजनीतिले फिफा विश्वकपअघि उब्जाएका छन् प्रश्नैप्रश्न



बिजमाण्डू
२०८२ फागुन ३० गते १७:२१ | Mar 14, 2026
ट्रम्पसँग नजिकिँदा अफ्ठेरोमा पर्दैछ फिफा, भूराजनीतिले फिफा विश्वकपअघि उब्जाएका छन् प्रश्नैप्रश्न


काठमाडौं। फिफा विश्वकपका लागि ४८ टोलीहरूबीचको ‘ड्र’अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मञ्चमा बोलाएर ट्रफी प्रदान गरियो।

Tata
GBIME

‘यो तपाईंको शान्ति पुरस्कार हो,’ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, ‘तपाईंले जहाँ जान चाहनुहुन्छ, त्यहाँ लगाउन मिल्ने एउटा सुन्दर पदक पनि छ।’

ट्रम्पको तारिफ यतिमा रोकिएन। नोबल पुरस्कारका लागि विभिन्न युद्ध रोकेको भन्दै दाबेदारी प्रस्तुत गर्दा पनि नपत्याएपछि निराश बनेका ट्रम्पलाई त्यसबेला फिफाले अझ धेरै प्रशंसाका शब्दहरू खर्चिरहेको थियो।

‘हामी एक गतिशील नेतालाई सम्मान गर्छौं, जसले कूटनीतिक प्रयासमार्फत संवाद, तनाव न्यूनीकरण र स्थायित्वका अवसरहरू सिर्जना गरे,’ उनको तारिफमा भनिएको थियो।

यो घटनाको ३ महिना बितेको छ। हाल विश्वलाई तरङ्गित पारिरहेको घटना हो : अमेरिका र इजरायलको ईरानसँगको युद्ध।

‘हामी तिनीहरूलाई धुलो पार्दैछौं,’ उनले इजरायली सरकारसँग मिलेर गरिएको हवाई हमलाबारे भनेका छन्, ‘हाम्रो सैन्य शक्ति विश्वकै सर्वश्रेष्ठ छ, र हामी त्यसको प्रयोग गर्दैछौं।’

यो अवधिमा ट्रम्पले नाइजेरियादेखि भेनेजुएला, ग्रीनल्याण्ड र क्यानडाको प्रकरण निकालेर आफ्नै सहयोगी देशहरूलाई पनि चिड्याउने काम गरिसकेका छन्।

The Jerusalem Post

पछिल्लो समय इरानमाथिको आक्रमणले भने फिफालाई नै पनि अफ्ठेरोमा पार्ने देखिन्छ। विश्वको सर्वोच्च फुटबल संस्था आफ्नो खेलले विश्वलाई एकता र शान्ति दिन सक्छ भन्ने दाबी गर्न गर्व गर्छ। तर, फिफाले शान्ति पुरस्कार दिएकै व्यक्तिले सुरु गरेको युद्धले यो विश्वकप नै ओझेलमा पर्ने जोखिम देखिन थालेको छ।

‘यदि तपाईंले ज्यानहरू बचाउनुभयो, आफ्ना र अरू मान्छेहरूलाई सुरक्षित राख्नुभयो भने, तपाईं सम्मानका हकदार हुनुहुन्छ,’ फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्पको बचाउमा स्काइन्युजसँग भनेका छन्, ‘उनी संघर्षहरू समाधान गर्न र हजारौं ज्यान बचाउनमा महत्त्वपूर्ण भूमिकामा थिए।’

वैश्विक द्वन्द्वको छायाँमा टुर्नामेन्ट

यो वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोमा विश्वकप सुरु हुने तालिका छ। तर, भूराजनीतिक स्थिति सहज छैन। यी तीन देशबीचमा नै आपसी सम्बन्ध ठीक छैन। छनोट प्रकृया पूरा गरेर आएको इरानले विश्वकपबाट हात झिक्ने भनिसकेको छ।

अमेरिका र इजरायलले इरानका सहरहरूमा हमला गर्नुभन्दा केही दिनअघि, मेक्सिकन सरकारले कुख्यात जालिस्को न्यू जेनेरेशन कार्टेलमाथि कारबाही गर्‍यो।

‘एल मेन्चो’ भनेर चिनिने ड्रग लर्ड नेमेसियो रुबेन ओसेगेरा सेर्भान्टेस विश्वकप आयोजक सहरमध्येको एक गुआदलाजाराबाट केही घण्टाको दूरीमा मारिए।

ट्रम्पले आफ्नी मेक्सिकन समकक्ष राष्ट्रपति क्लाउडिया शेइनबाउममाथि कार्टेलविरुद्ध कारबाही गर्न लामो समयदेखि दबाब दिँदै आएका थिए। तर, मेक्सिकोमा राम्रो प्रभाव जमाएका एल मेन्चोको मृत्युले एउटा विश्वकप आयोजक राष्ट्रलाई अस्थिर बनाउन सक्छ। खासगरी त्यतिबेला जब हजारौं फुटबल प्रेमीहरू त्यहाँ जाने योजना बनाइरहेका छन्।

तर, इन्फान्टिनोले मेक्सिकन अधिकारीहरूमाथि पूर्ण विश्वास रहेको बताएका छन्।

‘सरकार, प्रहरी र अधिकारीहरू छन्, जसले व्यवस्था र सुरक्षा सुनिश्चित गर्नेछन्,’ उनले भनेका छन्।

मेक्सिकाका आयोजक सहरहरू गुआदलाजारा र मोन्टेरेमा यसै महिना इन्टरकन्टिनेन्टल प्लेअफ आयोजना हुँदैछन्। इन्फान्टिनोका आश्वासनका बावजुद यति ठूलो हिंसापछि ती खेलहरू सुरक्षित ठाउँमा सार्नुपर्छ कि भन्ने अड्कल चल्यो। कतारको लुसेल एउटा विकल्पका रूपमा चर्चा भयो। यो स्टेडियममा अर्जेन्टिना र फ्रान्सबीचको अन्तिम विश्वकप फाइनल भएको थियो।

इरानमाथि अमेरिकी र इजायली आक्रमण र त्यसपछिको मिसाइल र ड्रोन आक्रमणमा कतार तुरुन्तै मध्यपूर्व संघर्षमा तानियो।

कतार, साउदी अरेबिया र सम्भवतः इराकले यो यसपाला विश्वकपमा खेल्नेछन्। इरानले हालैका दिनहरूमा तीनैवटा देशमा मिसाइल प्रहार गरेको छ। इरानी फुटबल टोलीले एसियाली क्षेत्रबाट सबैभन्दा पहिले छनोट भएको थियो। इरानले विश्वकप नखेल्न आशय व्यक्त गरिसकेको छ। यसको कारण हो अमेरिका। एउटा, यस्तो देशले विश्वकपको आयोजना गरिरहेको छ, जससँग उनीहरूको सरकार युद्धरत छ।

अमेरिका-इरान तनावमा इन्फान्टिनोको परीक्षा

अमेरिकी विदेश विभागले हालैका यात्रा प्रतिबन्धहरूका कारण इरानी प्रशंसकहरूलाई देशमा प्रवेश भिसा नदिइने जानकारी दिएको थियो। गत डिसेम्बरमा वासिङ्टन डिसीमा भएको ‘ड्र’मा इरानी प्रतिनिधिमण्डलले करिब बहिष्कार नै गर्‍यो। इरानी प्रतिनिधि मण्डलका ९ मध्ये ४ भिसा मात्र पाएका थिए। इरानी फुटबल संघका अध्यक्ष मेहदी ताजलाई यात्रा अनुमति नै दिइएन।

Photo: US Central Command

यो विश्वकपमा भिसा नपाउने सूचीमा इरानी अफसियल र समर्थकमात्र नभएर अफ्रिकी राष्ट्रहरू पनि हुन सक्छन्।

हाइटी, आइभरी कोस्ट र सेनेगल अफ्रिकाका यी टोलीका समर्थकलाई पनि अमेरिकी नीतिका हिसाबले सम्भवत भिसा दिन अस्वीकार गरिनेछ।

२०१७ मा फिफाले अमेरिकालाई प्रतियोगिताको संयुक्त आयोजना अधिकार दिनुभन्दा एक वर्षअघि इन्फान्टिनोले समर्थकलाई भिसा नदिए विश्वकप नहुने दाबी गरेका थिए।

‘फिफा प्रतियोगिताको हकमा यो स्पष्ट छ। विश्वकपका लागि छनोट भएका जुनसुकै टोलीका समर्थक र पदाधिकारीहरूलाई देशमा प्रवेशको अधिकार हुनुपर्छ, नत्र विश्वकप हुँदैन।’

अब, इन्फान्टिनोका प्राथमिकताहरू फेरिएको देखिन्छ। उनी फिफाको १२२ वर्षको इतिहासमा सबैभन्दा नाफामुनो टुर्नामेन्टको नजिक पुगेका छन्। स्पोर्ट्स भ्यालुको विश्लेषणअनुसार यो विश्वकपले फिफालाई १०.९ अर्ब डलर कररहित रकम दिलाउनेछ। यो कतारको अन्तिम विश्वकप भन्दा ५६ प्रतिशतले बढी हो।

ट्रम्पसँगको निकाटताले इन्फान्टिनोको आलोचना पनि त्यतिकै बढेको छ। उनी एक खेल प्रशासकभन्दा धेरै वैश्विक राजनीतिज्ञजस्तो देखिन थालेका छन्। उनी मार ए लागो र ओभल अफिसमा धेरैपटक देखिएका छन्।

उनी ट्रम्पको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा उपस्थित थिए। त्यस्तै, गाजा र इजरायलको हमासविरुद्धको युद्धको भविष्यबारे छलफल भएको इजिप्टको ‘समिट फर पिस’मा ट्रम्पसँगै सहभागी भए।

फिफाको आफ्नै आचारसंहिताले संगठनले राजनीतिक तटस्थ रहनुपर्ने भन्छ। तर, इन्फान्टिनो विवादास्पद बन्दै गएका ट्रम्पको उपस्थितिमा सहज देखिन्छन्। फेब्रुअरीमा, उनी ट्रम्पको बोर्ड अफ पिस बैठकमा सहभागी भए।

मैदानमा जे भए पनि, यो विश्वकप उच्च राजनीतिकरण हुने ग्यारेन्टी छ। यो टुर्नामेन्टलाई अमेरिकाको २५०औं वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा तोकिएको छ। द एथलेटिकका अनुसार फ्यान फेस्टहरूमा फ्रिडम ट्रकहरू राखेर ‘विश्वमा अमेरिकाको सर्वश्रेष्ठ पक्षहरू’ प्रवर्धन गर्ने योजना छ।

यो सबैले प्रतियोगिताले फिफालाई एउटा कठिन प्रश्नको सामना गर्न बाध्य बनाउँछ : के फिफा विश्वकपलाई विश्वका प्रभावशाली नेताको अति प्रभावबाट बच्न अनिच्छुक छ, या असमर्थ?