काठमाडौं। लामो समयदेखि डिजाइनका कारण अल्मलिएको बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक विस्तार आयोजनाअन्तर्गत गोरुसिंगे-चन्द्रौटा खण्डको ठेक्का आह्वान गरिएको छ।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले गोरुसिंगे-चन्द्रौटा खण्डको डिजाइन स्वीकृत गरी शुक्रबार ठेक्का आह्वान गरेको हो।
इच्छुक निर्माण कम्पनीलाई आवेदन पेस गर्न वैशाख २१ गतेसम्मको समय दिइएको छ। यसमा आवेदन दिने कम्पनीले सेक्युरिटीका रुपमा १६ करोड २६ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ।
गोरुसिंगे-चन्द्रौटा १९ किलोमिटर दुई लेन सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो। यो खण्डमा ८ वटा पुल निर्माण गरिनेछ। गोरुसिंगे-चन्द्रौटा खण्डको केही भाग सामुदायिक वन क्षेत्र भएर पनि गुज्रिन्छ। वन्यजन्तुको ओहोरदोहोरमा अवरोध हुन नदिन ७ वटा अण्डरपास निर्माण गरिने आयोजनाले जनाएको छ।
सडक विस्तारको काम पहिलो खण्डमा जस्तै ३ वर्षमा सम्पन्न गर्ने पर्नेछ। निर्माण कम्पनीले मर्मतसम्भारको पनि जिम्मा लिनुपर्नेछ।

विश्व बैंकको सहुलियत ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको हो। बुटवल-गोरुसिंगे-चन्द्रौटा ६९ किलोमिटर सडक विस्तारका लागि विश्व बैंकले ३५ अर्ब रुपैयाँ ऋण दिएको छ।
यो आयोजनाअन्तर्गत पहिलो खण्ड बुटवल-गोरुसिंगे सडक विस्तारको काम भने यसअघि २०८१ जेठमा ठेक्का लागेर धमाधम भइरहेको छ।
सडक बस्ती क्षेत्रमा ६ लेन र वन तथा ग्रामीण क्षेत्रमा ४ लेनको हुनेछ। यो खण्डमा दुई वटा ठूला र ६ वटा साना पुल बनाउनुपर्ने छ। यो खण्डमा २ ठाउँमा पैदल यात्रीका लागि र एक ठाउँमा सवारीसाधनका लागि अण्डरपास बनाउने भनिएको छ।
बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकमा गाडी गुडाउन मिल्ने ६ वटा र पैदल यात्रुका लागि १२ वटा अण्डर पास तथा ११ वटा आकाशे पुल बनाउने भनिएको छ। यस्तै वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा अण्डर पास बनाइने छ।

पहिलो खण्डमा १० वटा पुलको काम अगाडि बढाइएकामा ५ वटा पुलका लागि फाउन्डेसन राख्ने काम लगभग सकिएको छ। १५ वटा कल्भर्टमा काम भइरहेको छ। ड्रेनका लागि स्ल्याब र प्रिकास्ट बनाउने काम पनि धमाधम भइरहेको छ। प्रिकास्ट करिब ४ किलोमिटर सडकलाई पुग्ने गरी तयार भएको आयोजनाले जनाएको छ।
सडकमा माटो हाल्ने र कटिङ गर्ने काम पनि भइरहेको छ। सडक विस्तारका लागि कपिलवस्तुतर्फ २८ र रुपन्देहीतर्फ ८९ वटा घरटहरा हटाउनुपर्नेमा २० प्रतिशत अझै हटाइएको छैन।
अहिले ३०० जना हाराहारी कामदार परिचालन गरिएको छ। आयोजनामा यो वर्षका लागि ३ अर्ब रुपैयाँ बजेट छ।
बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडक २५/२५ किलोमिटर गरेर ठेक्का लगाइएको छ। पहिलो खण्डको ठेक्का ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो खण्डको ठेक्का ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले पाएका हुन्।









