काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले नेपालमा बहुप्रतिक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्वजनिक गरेको छ।
लन्च कार्यक्रम मार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको सीएफमोटो २५० डुअल ईएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको हो।
कम्पनीका प्रतिनिधिहरूले नेपालका विभिन्न प्रकारका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यो मोटरसाइकलले प्रदर्शन, टिकाउपन र बहुउपयोगिताको सन्तुलन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
यो मोटरसाइकल सामान्य सडक तथा अफरोड दुवै प्रकारको यात्राका लागि उपयुक्त हुने गरी परम्परागत सीमाभन्दा बाहिर साहसिक यात्रा खोज्ने चालकहरूका लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ।
यस मोटरसाइकलमा २४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान गरिएको छ। यसले राम्रो शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने ‘डुअल पर्पोज’ डिजाइन रहेको छ। २४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ। यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्याउने बताइएको छ। हल्का तर बलियो फ्रेमका कारण मोटरसाइकललाई चुस्त र टिकाउ बनाइएको कम्पनीको दाबी रहेको छ।
लन्च कार्यक्रममा बाइकरहरूसँग अन्तरक्रिया, सञ्चारकर्मीहरूसँग संवाद तथा मोटरसाइकलको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो। सहभागीहरूले मोटरसाइकलको अवलोकन समेत गरेका थिए।
सीएफमोटोले नेपालमा आफ्नो उत्पादन दायरा विस्तार गर्दै आएको जनाएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै कम्पनीले अन्तर्राष्ट्रिय स्तरको प्रविधि र आधुनिक डिजाइन भएका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सीएफमोटो २५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ। यो मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध हुनेछ।
सीएफमोटो विश्वभर चिनिएको मोटरसाइकल निर्माता कम्पनी हो। कम्पनीले उच्च प्रदर्शन क्षमताका मोटरसाइकल, कृषि प्रयोजनका चार पांग्रे सवारी तथा पावरस्पोर्ट्स सवारी साधन उत्पादन गर्दै आएको छ। सन् २०२५ को पहिलो तीन त्रैमासिकमा कम्पनीले करिब २ अर्ब १० करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको जनाएको छ।











