नेपाल-भारत टेक फोरम : दुई देशबीच डिजिटल सहकार्यका लागि नयाँ रोडम्याप



बिजमाण्डू
२०८२ फागुन १९ गते १३:३४ | Mar 3, 2026
नेपाल-भारत टेक फोरम : दुई देशबीच डिजिटल सहकार्यका लागि नयाँ रोडम्याप


काठमाडौं। नेपाल र भारतबीच द्विपक्षीय डिजिटल नवप्रवर्तन, पूर्वाधार विकास र लगानी प्रवर्धनका लागि रोडम्याप अघि सारिएको छ।

Tata
GBIME

दुई देशबीच डिजिटल सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित नयाँ दिल्लीमा गरिएको नेपाल–भारत टेक फोरममा नयाँ रोडम्याप अघि सारिएको हो।

कार्यक्रममा कूटनीतिज्ञ, नीति निर्माता, नियामक निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कम्पनी र लगानीकर्ताको उपस्थिति थियो।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालको प्राविधिक क्षमता र नवीकरणीय ऊर्जाको सम्भावनाबारे धारणा राखेका थिए। ‘नेपालले आईटी, क्लाउड इन्जिनियरिङ, एआई तथा साइबर सुरक्षा क्षेत्रमा क्षमता विकास गरिरहेको छ। हाम्रो युवा जनशक्ति विश्व बजारमा योगदान दिन तयार छ,’ उनले भने।

उनले नेपाल स्वच्छ ऊर्जामा आधारित हरित, ऊर्जा–दक्ष डेटा सेन्टरको क्षेत्रीय केन्द्र बन्न सक्ने भन्दै यसले भारत लगायत क्षेत्रीय साझेदारसँग दिगो र लागत–प्रभावकारी डिजिटल पूर्वाधार सहकार्य सम्भव बनाउने बताए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रविधिलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य चालकका रूपमा चित्रण गरे।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले नेपाल अब श्रम मात्र नभई दक्ष इन्जिनियर, प्राविधिक तथा डिजिटल विशेषज्ञ उत्पादन गर्ने राष्ट्रका रूपमा अघि बढिरहेको बताए।

भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपालसँग अर्थपूर्ण सहकार्यका लागि भारत तयार रहेको बताए। भारतको डिजिटल सार्वजनिक पूर्वाधार अनुभव क्षेत्रीय साझेदारीका लागि महत्वपूर्ण आधार हो उनले भने ।

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले दुई देशबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।