नेपाली बजारमा एम्पियर ब्रान्डले गत बिहीबारदेखि आफ्नो उपस्थितिलाई पुनः बलियो बनाउने सोचका साथ ‘दोस्रो इनिङ’ सुरु गरेको छ। यो इलेक्ट्रिकमा दुई पाङ्ग्रेको सेगमेन्टको भारतीय कम्पनी हो। विगतका कमी-कमजोरीलाई सुधार्दै र नयाँ प्रविधिका साथ बजार विस्तार गर्ने लक्ष्यका साथ कम्पनी अघि बढेको देखिन्छ।
गाडीहरुको बजार बढ्यो तर सवारी उत्पादक कम्पनीहरुको अपेक्षाका अनुपातमा नेपालमा अझै इलेक्ट्रिक दुई पाङ्ग्रेप्रति ग्राहक आकर्षित गर्न चुनौती छ। एक दशकदेखि इलेक्ट्रिक स्कुटरहरु नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउने होडमा छन्। तर अहिले पनि बजार हिस्सा ५ प्रतिशतभन्दा तल नै छ। यदि ब्रान्डहरुले राम्रो प्रोडक्ट र सर्भिसमा ध्यान दिए बजारको आकार भने सानो छैन।
यस्तैमा भारतीय बजारमा टप फाइभमा पर्न सफल ब्रान्ड एम्पियर नेपाली बजारमा आएको छ। यो भारतमा दुई पांग्रे विद्युतीय सवारीसाधन उत्पादन र बजार हिस्सा बढाइरहेको कम्पनी हो। काठमाडौं आएका बेला एम्पियरको माउ कम्पनी ग्रेभ्स इलेक्ट्रिक मोबिलिटी लिमिटेडका एमडी विकास सिंहसँग बिजमाण्डूले नेपालमा विद्युतीय सवारीको भविष्य, एम्पियरका नयाँ योजना र नेपाली ग्राहकको विश्वास जित्ने रणनीतिमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश –
एम्पियर ब्रान्डका लागि नेपाल कस्तो बजार हो? एम्पियर इलेक्ट्रिकका लागि नेपालमा यो दोस्रो इनिङ जस्तै हो। यसलाई कसरी अर्थ्याउनु हुन्छ?
हामीले एम्पियरको एउटा उत्पादन नेपाली बजारमा ल्याइसकेका छौं र नेपाली ग्राहकहरुलाई अझै धेरै उत्पादनहरु ल्याउने हाम्रो योजना छ, जसले ग्राहकहरुले खोजेका कुराहरु फुलफिल गर्ने कोसिस गर्नेछ। म आज नेपालमा व्यक्तिगत रुपमा आउनुको मुख्य कारण हामी यो बजारलाई कति महत्त्व दिन्छौं भनेर देखाउनु हो। यो बजार जित्नका लागि जे आवश्यक पर्छ, हामी त्यो गर्नेछौं।
तपाइँले भनेको जस्तै यो दोस्रो इनिङ नै हो। तर कहिलेकाहीँ इतिहासलाई पछाडि छोडेर अगाडि बढ्नु राम्रो हुन्छ। नत्र हामी त्यहीँ अल्झिरहन्छौ। हामी के भन्दैछौं भने, यदि विगतमा कुनै ग्राहकलाई समस्या भएको थियो भने हामी त्यसलाई सम्बोधन गर्नेछौ। एउटा ‘सर्भिस क्याम्प’ को योजना बनाइएको छ।
सुरेश जी र उनको टोली, अनि यहाँका हाम्रा प्रतिनिधि अभिजीत, जो अन्तर्राष्ट्रिय व्यापार प्रमुख हुनुहुन्छ, हामी सबै ग्राहकहरुलाई कल गर्नेछौं र पुराना समस्याहरु पनि समाधान गर्नेछौं।

एम्पियरको भारतीय बजारमा कस्तो अवस्था छ र कम्पनीको समग्र योजना के हो? अनि नेपाली मार्केटको लागि कस्तो स्ट्राटेजी हुन्छ?
ग्रेभ्स इलेक्ट्रिक मोबिलिटीको समग्र योजनाको कुरा गर्दा, भारतमा हामी गत वर्षको तुलनामा लगभग ६० प्रतिशत भन्दा बढीले वृद्धि भइरहेका छौं। हामीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे क्षेत्रमा निकै ठूलो बजार हिस्सा हासिल गरेका छौँ।
एक वर्षभन्दा कम समयमा हाम्रो बजार हिस्सा करिब डेढ प्रतिशतले बढेको छ। हाम्रो दैनिक बिक्री दर, जसलाई हामीले हरेक दिन ट्र्याक गर्छौ, त्यो पनि दुई पाङ्ग्रे र तीन पाङ्ग्रे दुवैमा तीव्र गतिले बढिरहेको छ। तीन पाङ्ग्रेमा त हामीले अक्टोबर-डिसेम्बरमा रेकर्ड स्तरको बिक्री गरेका छौं।
अहिले हामी आईपीओको लागि पनि तयारी गरिरहेका छौं। विश्व बजारमा केही उतारचढाव त छ, तर यसमा कुनै समस्या हुने छैन भन्ने हामीलाई आशा छ। हामी उत्कृष्ट काम गर्न पूर्ण रुपमा प्रतिबद्ध छौं।
यदि तपाईले भारतमा हाम्रो ‘सर्भिस एक्सपिरियन्स स्कोर’ हेर्नुभयो भने, त्यो उत्कृष्ट मध्येमा पर्छ। ग्राहकहरुले एम्पियर र अरुको बारेमा के भनिरहेका छन् भन्ने कुरा तपाई वेबसाइट वा इन्डिपेन्डेन्ट रिपोर्टहरुमा गएर हेर्न सक्नुहुन्छ।
म प्रतिस्पर्धाको बारेमा धेरै टिप्पणी गर्न चाहन्न। एम्पियरको उत्पादन डिजाइनमा केही ठूला सबल पक्षहरु छन्। लिथियम फोस्फेट(एलएफपी) ब्याट्री यसको सबैभन्दा ठूलो सकारात्मक पक्ष हो। एम्पियरका १०० प्रतिशत उत्पादनमा एलएफपी प्रविधि छ।
यो ब्याट्री माइन्स ४० र प्लस ६० सेल्सियससम्मको तापक्रममा चल्न सक्छ। नेपाल जस्तो ठाउँ जहाँ तापक्रम शून्यभन्दा तल जान्छ, त्यहाँ यो धेरै प्रभावकारी हुन्छ। नेपाल मेरो मनको धेरै नजिक छ, म हरेक वर्ष यहाँ ट्रेकिङको लागि आउँछु। पोहोर सालको डिसेम्बरमा म ५ हजार ४०० मिटरको गोक्यो रीसम्म गएको थिए, यो वर्ष हामीले ६ हजार ५०० मिटरको मेरा पिक चढ्यौं र अर्को वर्ष मनास्लु जाने योजना छ। त्यसैले मलाई यहाँको भूगोल र आवश्यकता राम्रोसँग थाहा छ।
एलएफपी ब्याट्रीले शून्य मुनिको तापक्रममा राम्रो काम गर्छ र यसको आयु सामान्य ब्याट्रीको तुलनामा दोब्बर हुन्छ। यदि सामान्य ब्याट्री १ हजार पटक रिचार्ज हुन्छ भने एलएफपी २ हजार पटकसम्म हुन्छ। हाम्रो ‘नेक्सस’ स्कुटर भारतमा ‘स्कुटर अफ द इयर’ चुनिएको छ, जसले यो उत्पादन कति राम्रो छ भन्ने प्रमाणित गर्छ। यो स्कुटर १३ हजार २०० फिटको उचाइमा रहेको ‘खार्दुङ ला पास’ पुग्ने एकमात्र स्कुटर हो। त्यसैले यो पूर्ण रुपमा परीक्षित प्रविधि हो।

नेपाल जस्तो प्राइसले ठूलो भूमिका खेल्ने बजारमा एम्पियरले आफूलाई कसरी स्थापित गर्ने योजना बनाएको छ?
हामीले बजारलाई तीन भागमा बाँडेका छौं। एउटा ८० हजार भारु मुनिको इन्ट्री सेग्मेन्ट, अर्को ८० हजार देखि १ लाखसम्मको भ्यालु सेग्मेन्ट र १ लाख माथिको प्रिमियम सेग्मेन्ट। हामी यी तीनैमा बलियो छौं।
हाम्रो उत्पादन प्रक्रिया निकै सक्षम छ। तर मैले जहाँसम्म बुझेको छु मूल्य र ‘भ्यालु’ बीच फरक हुन्छ। मूल्यमा त जे पनि पाउन सकिन्छ तर गुणस्तर र अनुभवमा सम्झौता हुन सक्छ। हामी ग्राहकलाई वास्तविक ‘भ्यालु’ दिन चाहन्छौं।
नेपालमा तपाईको मुख्य प्रतिस्पर्धी को हो? चिनियाँ कि भारतीय ब्रान्ड?
वास्तवमा हामी पेट्रोल इन्जिनसँग प्रतिस्पर्धा गरिरहेका छौं। यदि यो क्षेत्रलाई विस्तार गर्ने हो भने मानिसहरुलाई पेट्रोलबाट इलेक्ट्रिकमा ल्याउनुपर्छ। इलेक्ट्रिकका फाइदाहरु धेरै छन्। यो वातावरण मैत्रीका साथै यसको दैनिक संचालन खर्च धेरै कम छ र यसको आयु पेट्रोल सवारीसाधन जत्तिकै छ।
सबैभन्दा पहिले, यसको संचालन खर्च पेट्रोल स्कुटरको तुलनामा करिब ४० प्रतिशत कम छ, त्यसैले यो निकै महत्त्वपूर्ण छ।
अर्को कुरा भनेको यसमा ‘डुअल फ्रेम च्यासिस’ छ जसले गर्दा यसलाई निकै मजबुत बनाएको छ। यो डुअल फ्रेम च्यासिस भएको एक मात्र स्कुटर हो, जसले गर्दा यसको भारवहन क्षमता व्यवस्थापन निकै मजबुत हुन्छ। एलएफपी ब्याट्री सबैभन्दा ठूलो कुरा हो।
यसमा ‘मिड माउन्ट मोटर’ प्रयोग गरिएको छ, जसले गर्दा ब्रेकिङ र ब्यालेन्सिङको काम उत्कृष्ट हुन्छ।अहिले हामी ४ किलोवाटको मोटरको कुरा गरिरहेका छौं। तर, हामी अझ उच्च क्षमताका मोटरहरु विकास गर्दैछौ जसलाई हामी भविष्यमा ल्याउनेछौं।
साथै यसमा इन्टरनेट अफ थिङ्स कनेक्टिभिटी सिस्टम र ‘हिल होल्ड’ जस्ता सुविधाहरु छन् जुन पेट्रोलमा हुँदैनन्।
म व्यक्तिगत रुपमा हाम्रा स्कुटरहरुलाई व्यापक रुपमा परीक्षण गर्छु। म चेन्नई जान्छु, जहाँ हामी हाम्रो उत्पादनलाई अन्य प्रतिस्पर्धी उत्पादनहरुसँग तुलना गरेर परीक्षण गर्दैछौँ। यो एक उत्कृष्ट सवारी परीक्षणको अनुभव पनि हुनेछ।
यसको हरेक पक्षलाई शब्दका रुपमा भन्नुपर्दा भारतीय परिस्थितिहरुका लागि भारतमा डिजाइन गरिएको हो र भारतीय परिस्थितिहरु कठिन हुन्छन्। यदि यसले भारतीय परिस्थितिमा काम गर्छ भने, यसले अरु जुनसुकै परिस्थितिमा पनि काम गर्छ।

पहिलो पटकका उपभोक्ताका लागि विश्वसनीयताले सधैं ठूलो भूमिका खेल्छ। लागत र स्वामित्वका सर्तहरुमा पनि यो महत्त्वपूर्ण छ। र, यो नेपालमा दोस्रो इनिङ भएको हुनाले तपाई कसरी त्यो धारणा परिवर्तन गर्ने योजनामा हुनुहुन्छ?
फेरि पनि, म यहाँ त्यही कारणले आएको हुँ। म यसका लागि सुझावहरु लिइरहेको छु र मैले निकै राम्रा सुझावहरु पाइरहेको छु। जे गर्न आवश्यक छ, हामी त्यो गर्नेछौं। म विस्तारमा जान चाहन्न तर जे आवश्यक छ हामी गर्नेछौं। हामी केवल ग्राहकहरुले एम्पियर नेक्ससको अनुभव लिउन् भन्ने चाहन्छौं। उनीहरुलाई हाम्रो उत्पादन चलाउन दिनेछौं। उनीहरुले आफैं भन्नेछन् एम्पियर नै सही उत्पादन हो। त्यस्तो वातावरण बनाउने प्रोडक्ट बजारमा ल्याएर आएका छौं।
हामी अहिले बिक्रीको नम्बर बढाउन भन्दा पनि ब्रान्ड स्थापित गर्नेमा काम गर्नेछौं। साथै इलेक्ट्रिक स्कुटर र सवारीसाधनको बारेमा जनतालाई सचेतना जगाउनेछौँ र त्यसपछि बिक्रीको संख्यामा पुग्नेछौँ। हामी हतारमा छैनौँ। हामीले राम्रो गर्नेछौं भन्ने कुरा हामीलाई थाहा छ।
हामी ग्राहकहरुका लागि सही उत्पादनको विकल्पहरु उपलब्ध गराउन चाहन्छौं। कसैलाई रेन्ज चाहिएला, कसैलाई ग्रेडियन्ट चाहिएला, हामी बजार विस्तार गर्नेछौं तर हामी हतार गरेर कुनै गल्ती गर्न चाहँदैनौ।











