प्रविधिको चुनौती सामना गर्न प्रहरीले स्थापना गर्‍यो एआई सेल, संवेदनशील सूचनाको निरन्तर विश्लेषण



बिजमाण्डू
२०८२ फागुन ११ गते २१:२८ | Feb 23, 2026
प्रविधिको चुनौती सामना गर्न प्रहरीले स्थापना गर्‍यो एआई सेल, संवेदनशील सूचनाको निरन्तर विश्लेषण

काठमाडौं। प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ।

Tata
GBIME
Nepal Life

सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे। त्यस अवसरमा उनले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरे।

मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको उपस्थिति रहेको थियो।

डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्नका लागि प्रहरीले प्रविधिमैत्री संयन्त्र बनाएको त्यस अवसरमा जानकारी दिइयो। आगामी दिनमा हुने सम्भावित जोखिम न्यूनीकरण र नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाएर सुरक्षा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ।

संवेदनशील तथा महत्त्वपूर्ण क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट ‘डेटा’ लिएर प्रवृत्तिको विश्लेषण गरिने जनाइएको छ।

डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेकातर्फ ध्यान दिँदै प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’बाट सिर्जित झुटा सामग्री सबैको साझा चिन्ताको विषय बनेकोसमेत जनाएको छ। रासस