सुदूरपश्चिम प्रदेश बन्यो ‘कपर नेटवर्क फ्री’, नेपाल टेलिकमको सबै सेवा फाइबरमा रुपान्तरण



बिजमाण्डू
२०८२ फागुन ६ गते १५:२७ | Feb 18, 2026
सुदूरपश्चिम प्रदेश बन्यो ‘कपर नेटवर्क फ्री’, नेपाल टेलिकमको सबै सेवा फाइबरमा रुपान्तरण


काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरिया अन्तर्गतका सम्पूर्ण जिल्लाहरुमा रहेका पुरानो कपर प्रविधिको वायरलाइन सेवा अब पूर्ण रूपमा फाइबर प्रविधिमा रुपान्तरण भएको छ। निर्देशनालय अन्तर्गत रहेका सेवाग्राहीले अब गुणस्तरीय भ्वाइस र डेटाका साथै टेलिभिजन सेवा प्राप्त गर्न जनाइएको छ।

Tata
GBIME

प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूर पश्चिम प्रदेशका निर्देशक द्रेवेन्द्र कुमार चौधरीले कञ्चनपुर जिल्लाको गड्डाचौकी एक्सचेन्ज सटडाउन गरि सम्पूर्ण सुदूरपश्चिम प्रदेश ‘कपर फ्री’ प्रदेशमा रुपान्तरित भएको घोषणा गरेका हुन्। सो अवसरमा चौधरीले नेपाल टेलिकमले देशभर ‘कपर फ्री’ सेवा प्रदान गर्ने क्रममा सुदूरपश्चिम प्रदेशले पनि एक महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

देशभर नेपाल टेलिकमले फाइबर विस्तार गरि कपर नेटवर्कलाई एफटीटीएच (फाइवर टु द होम) नेटवर्कमा रुपान्तरित गर्ने कार्य सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत विगतमा ६८ स्थानमा नेटवर्क विस्तार गरि भ्वाइस तथा डेटा सेवा प्रदान हुँदै आएकोमा ती सम्पूर्ण स्थानमा कपर नेटवर्क विस्थापित गरि फाइबरबाट एफटीटीएच सेवा प्रदान गरिएको छ।

पहाडी जिल्लाहरु बाजुरा, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, बझाङ र डाेटी विगतको वर्षमा एफटीटीएचमा रुपान्तरण भइसकेका थिए भने यसै आर्थिक वर्षको पहिलो महिनामा तराईको कैलाली जिल्लाको सम्पूर्ण कपर नेटवर्क विस्थापित भएको थियो ।

नेपाल टेलिकमले देशका अधिकांश भूभागमा कपर प्रविधिलाई विस्थापित गरि फाइबर टु होम (एफटीटीएच) मार्फत सेवा उपलब्ध गराइरहेको छ। कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री-वितरण गरिरहेको छ। अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै अप्टिकल फाइबरबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।