विद्युत प्रधिकरणले ग्राहक सेवामा एआई प्रयोग गर्ने, ‘एआई साथी’ एप ल्याउने तयारी



बिजमाण्डू
२०८२ फागुन ४ गते ०९:५१ | Feb 16, 2026
विद्युत प्रधिकरणले ग्राहक सेवामा एआई प्रयोग गर्ने, ‘एआई साथी’ एप ल्याउने तयारी


काठमाडौं। नेपाल विद्युत प्राधिकरण ले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित ‘एनइए एआई साथी’ प्रणाली प्रयोगमा ल्याउने तयारी गरेको छ। प्रविधिमैत्री, सरल र भविष्य उन्मुख सेवा प्रवाहलाई संस्थागत रूपमा अघि बढाउने दीर्घकालीन रणनीति अनुसार उक्त एप विकास प्रक्रिया सुरु गरेको जनाइएको हो।

Tata
GBIME

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य का अनुसार एआईलाई केवल प्रविधि नभई ‘सहयोगी साथी’का रूपमा आत्मसात गर्ने उद्देश्यले यो अवधारणा अघि सारिएको हो। ‘एआईलाई जटिल र टाढाको प्रविधि होइन, आवश्यक पर्दा सम्झिने र सहयोग लिने साथीका रूपमा विकास गर्न चाहेका छौँ,’ उनले भने। ‘एआई साथी’ नामले नै प्रविधिलाई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य राखिएको उनले बताए।

प्राधिकरणले उक्त अवधारणालाई व्यवहारमा उतार्न ‘ह्याकाथन इभेन्ट–२०८२’ आयोजना गरेको थियो। संस्थाभित्रकै कर्मचारीहरूबाट २७ वटा प्रस्ताव परेका छन्। ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायत विषयमा केन्द्रित छन्। प्राप्त प्रस्तावहरूको विस्तृत मूल्यांकनपछि उत्कृष्ट र व्यवहारिक अवधारणालाई क्रमशः कार्यान्वयनमा लैजाने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

प्रारम्भिक चरणमा ‘एआई साथी’ प्रणालीलाई ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित गरिनेछ। सेवाग्राहीले बिल, लाइन, मर्मत, अवरोध, नयाँ जडानलगायत विषयमा आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिने योजना छ। दीर्घकालमा यसलाई प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, विद्युत माग पूर्वानुमान तथा डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्राधिकरणले यस पहललाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण र सेवा सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएको छ। सार्वजनिक निकायहरूमध्ये एआईको संस्थागत प्रयोगतर्फको यो प्रयास सम्भवतः पहिलो पहलमध्ये एक हुन सक्ने प्राधिकरणको दाबी छ।