काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा देश चुनावमय बनेको छ। उम्मेदवारले घरदैलाे अभियानसँगै डिजिटल प्लेटफर्म केन्द्रित प्रचारप्रसार पनि तीव्र बनाएका छन्।
डिजिटल माध्यममा चुनावी प्रचार बढ्दा सेल्युलर नेटवर्क प्रदायक एनसेल र नेपाल टेलिकम (एनटीसी)को डेटा खपत पनि बढेको छ। अघिल्लो प्रतिनिधि सभाको निर्वाचनको तुलनामा २०८२ को निर्वाचनमा एनटीसी र एनसेलले डेटा खपत ५० प्रतिशत भन्दा बढीले बढ्ने अपेक्षा गरेका छन्।
२०८२ को साउन, भदाै र असोजमा साढे १३ करोड जीबी डेटा खपत भएको छ भने हालसम्म १४ करोड जीबी डेटा खपत भएको छ। नेपाल टेलिकमको अघिल्लो प्रतिनिधि सभा चुनावमा २०७९ कात्तिकदेखि पुससम्म ७ करोड जीबी डेटा खपत भएको थियो। कम्पनीको २०७९ पहिलाे त्रैमासको रिपोर्ट हेर्दा साढे ६ करोड जीबी डेटा खपत भएको थियो।
२०८० साउन, भदाै र असोजको डेटा खपत साढे ८ करोड जीबी थियाे भने कात्तिक, मंसिर र पुसमा ९ करोड जीबी डेटा खपत भएको थियो।
त्यस्तै, २०८१ को दोस्रो त्रैमासको रिपोर्ट अनुसार उक्त अवधिमा साढे १० करोड जीबी डेटा खपत हुँदा माघ, फागुन र चैतमा साढे ११ करोड जीबी डेटा खपत भएको थियो।
‘अघिल्लो वर्षको तुलनामा अहिले डेटा खपतमा धेरै नै फरक आउने छ, किनभने चुनाव आउन अझै बाँकी छ। अहिले नै १४ करोड जीबी डेटा खपत भएको छ भने चुनावको प्रचारप्रसार बढेपछि डेटा खपत थप बढ्ने छ,’ नेपाल टेलिकमका एक कर्मचारीले बिजमान्डूसँग भने।
अघिल्लोको तुलनामा यो चुनावमा डेटा भोलुमको वृद्धि लगभग सतप्रतिशत भएको एनसेलका एक कर्मचारीले जानकारी दिए।
उनले भने, ‘चुनावको मिति तयार भएपछि डेटा खपत स्वाभाविक रुपमा बढिरहेको छ।’ उनका अनुसार चुनावको सुरुवाती दिन भएकाले मोबाइल, भ्वाइस वा डेटा प्रयोगमा कुनै उल्लेखनीय वृद्धि देखिएको छैन। तर, चुनावी प्रचारको तयारीसँगै डेटा खपत बढ्ने अपेक्षा रहेको उनको भनाइ छ।
‘प्रचारप्रसार हुन थालेपछि डेटा खपत बढ्नेछ र अघिल्लो वर्षभन्दा यो वर्ष धेरै खपत हुने अपेक्षा हाम्रो छ,’ उनले भने।
अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो भने अहिले फागुन २१ गतेका लागि तय भएको छ। देशव्यापी चुनावी माहोल निकै तातिएको छ। घर-घरमा गएरभन्दा सोसल मिडिया वा फोनको प्रयोग बढी भएको छ।










