काठमाडौं। चुनावी घोषणापत्रमा डिजिटल प्रविधिलाई प्राथमिकतासहित समावेश गर्नुपर्नेमा जोड दिइएको छ।
आइसीटी फाउन्डेसन नेपालले शुक्रबार ललितपुरमा गरेको ‘डिजिटल लिडरसिप डायलग’ कार्यक्रमका सहभागीहरुले दलहरुले मुलुकको आर्थिक विकासका लागि अब प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
कार्यक्रममा आइटी विज्ञ मनोहर भट्टराईले किनोट प्रस्तुति दिंदै डिजिटल रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको बताए।
उनले प्रविधि विना मुलुकको आर्थिक विकासको कल्पना गर्न नसकिने भन्दै स्टार्टअप तथा इनोभेसन इकोसिस्टमको विकास गर्न सरोकारवालाहरूसँग सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नीति निर्माता, आईटी विज्ञ लगायत सहभागी थिए। उनीहरुलाई विभिन्न छ वटा समूहमा विभाजन गरी डिजिटल सार्वजनिक पूर्वाधार, डिजिटल सीप तथा मानव संशाधन, डिजिटल गभर्नेन्स, डिजिटल अर्थतन्त्र, एआई तथा नेक्स्ट जेन प्रविधि, साइबर सुरक्षा तथा स्टार्टअप तथा इनोभेसन इकोसिस्टमजस्ता विषयमा छलफल गरिएको थियो।
नेपाली कांग्रेसका अमृत ज्ञवाली, नेकपा एमालेका मीन बहादुर शाही, नेकपाका पर्शुराम तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राप्रपाकी कार्भिका थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल लगायत सहभागी थिए।
उनीहरुले डिजिटल प्रविधिलाई महत्व दिएर चुनावी घोषणापत्र ल्याउने बताए।








