ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्ड लिंकको दबदबा, पछ्याउँदै डिसहोम र नेपाल टेलिकम



बिजमाण्डू
२०८२ माघ २३ गते १४:२३ | Feb 6, 2026
ब्रोडब्याण्ड इन्टरनेटमा वर्ल्ड लिंकको दबदबा, पछ्याउँदै डिसहोम र नेपाल टेलिकम


काठमाडौं। ब्रोडब्याण्ड इन्टरनेट सेवामा वर्ल्ड लिंकले एकछत्र राज गरेको छ। कुल ब्रोडब्याण्ड इन्टरनेट ग्राहकमध्ये करिब एक तिहाइलाई वर्ल्ड लिंक एक्लै सेवा प्रदान गरिरहेको छ।

Tata
GBIME

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस महिनाको तथ्यांकअनुसार वर्ल्ड लिंकको ग्राहक संख्या १० लाख ५३ हजार ३५ पुगेको छ। यो संख्या कुल ब्रोडब्याण्ड इन्टरनेट बजारको ३०.९४ प्रतिशत हो।

दोस्रो स्थानका लागि नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र डिसहोम फाइबर इन्टनेटबीच कडा प्रतिस्पर्धा छ। यद्यपि, उनीहरू वर्ल्ड लिंकभन्दा धेरै पछाडि छन्।

दोस्रोमा रहेको डिसहोमको ३ लाख ८३ हजार ८ सय १६ ग्राहक पुगेका छन्। उक्त संख्या कुल इन्टरनेट बजारको ११.२८ प्रतिशत हो।

पुस महिनासम्मको तथ्यांकअनुसार नेपाल टेलिकम तेस्रो स्थानमा छ। कम्पनीका ३ लाख ७७ हजार ९४ ग्राहक छन्, जुन कुल बजारको ११.०८ प्रतिशत हिस्सा हो।

गत पुसमा मात्रै २४ हजार २ सय ७ ब्रोडब्याण्ड इन्टरनेट ग्राहक थपिएका छन्। पुससम्मको तथ्यांकअनुसार कुल ब्रोडब्याण्ड इन्टरनेट ग्राहक ३४ लाख २ हजार ९ सय ३२ जना पुगेका छन्। ४९० ग्राहकले हालसम्म पनि पुरानो टेलिफोनको लाइनबाट प्रयोग गर्न मिल्ने एडीएसएल प्रविधिको इन्टरनेट चलाइरहेका छन्।

तथ्यांकअनुसार भायानेटको बजार हिस्सा १०.१७ प्रतिशत छ। पुससम्मको उसका ३ लाख ४६ हजार १७७ ग्राहक पुगेका छन्। त्यस्तै, २ लाख ७२ हजार ५ सय ग्राहकले क्लासिक टेक प्रयोग गर्छन्। यो बजारको ८.१ प्रतिशत हिस्सा हो।

यसैगरी, सुबिसु केबल नेटका २ लाख ५७ हजार २ सय ३४ ग्राहक छन् भने पुससम्ममा वेबसर्फर नेपाल कम्युनिकेसनको ग्राहक संख्या १ लाख ७५ हजार १ सय ७८ पुगेका छन्।

यस्तै, टेकमाइन्ड्स नेटवर्क प्रालिको १ लाख २३ हजार ३ सय ३१ ग्राहक रहँदा वाइफाइ नेपालको इन्टरनेट ९९ हजार २ सय ६४ ग्राहकले प्रयोग गर्छन्।

सीजीले पुससम्म ८५ हजार ७ सय १३ ग्राहक पाएको छ। ब्रोडलिंक नेटवर्कको ५५ हजार ३४ ग्राहक पुगेका छन्।

त्यस्तै, सजिलो नेटको ग्राहक संख्या ४३ हजार ४ सय २१ पुगेको छ भने फाइबरवर्ल्ड कम्युनिकेसनको ४० हजार २८ ग्राहक छन्।

त्यस्तैगरी, कनेक्ट नेपाल नेटवर्क्सको ग्राहक संख्या १७ हजार ६ सय ३० पुगेको छ। चित्रवन युनिक नेटको १३ हजार ८ सय ४२ ग्राहक छन्। एरोनेट प्रालिको ग्राहक संख्या १३ हजार ६ सय ४२ छ भने एभरेष्ट वायरलेस नेटवर्कको १० हजार ८ सय ७० ग्राहक पुगेका छन्।

यसैगरी, फर्स्टलिंक कम्युनिकेसन्सको ११ हजार ३ सय ७४ ग्राहक पुगेका छन् भने १० हजार १ सय २७ ग्राहकले पोखरा इन्टरनेट प्रयोग गर्छन्। साथै, ५ हजार ६ सय २१ ग्राहकले एल जोन र ७ हजार ३ सय ६१ ग्राहकले अन्य इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेट चलाउँछन्।