काठमाडौं । एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ माघ २६ गते हुने भएको छ। विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्धन गर्ने उद्देश्यसहित स्टिमपेडियासँगको सहकार्यमा स्किल्सअपले प्रतियोगिता आयोजना गर्न लागेको हो।
काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा संचालन हुने प्रतियोगितामा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट करिब ५०० विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीरुरू ७ देखि १८ वर्ष उमेर समूहका हुने जनाइएको छ। उनीहरुलाई इलिमेन्टरी, जुनियर र सिनियर गरि तीन वर्गमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ।
प्रतियोगिताका ट्र्याकहरूमा इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ रहेका छन्। विद्यार्थीहरुले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती तथा रोबो फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गरिनेछ।
प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टम लगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको–इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा रहनेछन्।
प्रतियोगिताका विजेताहरुलाई कूल १० लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताबाट छनोट हुने शीर्ष टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।








