न्यू मेक्सिकोमा सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्धको पहिलो सरकारी मुद्दा परीक्षणका लागि तयार हुँदैछ। सोमबारबाट जुरी चयन प्रक्रिया सुरु भएको छ।
राज्यले गरेको अन्डरकभर अनुसन्धानमा किशोरको रूपमा सामाजिक मिडियामा खाता बनाएर यौन प्रलोभनको प्रयास र मेटाको प्रतिक्रिया रेकर्ड गरिएको थियो। मुद्दा महान्यायाधिवक्ता राउल टोररेजले २०२३ मा मेटाविरुद्ध दर्ता गरेका थिए।
मुद्दामा मेटाले फेसबुक, इन्स्टाग्राम र वाट्सएपमा बालबालिकामाथि दुर्व्यवहार गर्न लक्ष्य गर्नेहरूका सजिलो हुने वातावरण बनाइदिएको दाबी टोररेजको छ।
मेटाले भने यी आरोप अस्वीकार गरेको छ। कम्पनीले केवल छानिएका दस्तावेज देखाएर महान्यायाधिवक्ताले सनसनी फैलाएको जिकिर गरेको छ। मेटाले बालबालिकाका लागि सुरक्षा सेटिङ, उमेर अनुसार सामग्री रोक्ने व्यवस्था राखेको दाबी पनि गरेको छ।
राज्यले मेटाको सामग्रीको जिम्मेवारी होइन, तर कम्पनीको एल्गोरिदमले हानिकारक सामग्री बढाउने तरिका मुद्दामा राखेको छ।
अन्डरकभर अनुसन्धानमा १४ वर्षमुनिका बालबालिकाको रूपमा खाता बनाएर यौन प्रलोभनको प्रयास र मेटाको प्रतिक्रिया रेकर्ड गरिएको थियो। टोररेजले मेटालाई उमेर जाँच प्रणाली सुधार्न, हानिकारक प्रयोगकर्ता हटाउन र एल्गोरिदम परिवर्तन गर्न आग्रह गरेका छन्।
जुरीले मेटाले अन्यायपूर्ण व्यापार गरेको छ कि छैन जाँच्नेछ। तर अन्तिम फैसला र जरिवाना न्यायाधिशको निर्णयमा निर्भर हुनेछ। राज्यको कानुन अनुसार हरेक उल्लंघनमा ५ हजार डलर जरिवाना हुन सक्छ।
न्यू मेक्सिकोले मेटासँगै स्न्याप इंकलाई पनि बाल यौन उत्पीडनमा सहयोग गरेको आरोप लगाएको छ। ४० भन्दा बढी राज्य अटर्नी जनरलहरूले मेटाविरुद्ध किशोर मानसिक स्वास्थ्यमा नकारात्मक प्रभावको आरोप लगाएका छन्।
यो परीक्षणले सामाजिक मिडिया कम्पनीहरूको जिम्मेवारी र बालबालिकाको सुरक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ दिशा दिन सक्छ।










