फेसबुकको माउ कम्पनी मेटाको आम्दानी अपेक्षाभन्दा बढी, एआइमा लगानी बढाउन सहज



बिजमाण्डू
२०८२ माघ १५ गते ०७:५३ | Jan 29, 2026
फेसबुकको माउ कम्पनी मेटाको आम्दानी अपेक्षाभन्दा बढी, एआइमा लगानी बढाउन सहज

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतको माउ कम्पनी मेटाको आम्दानी अपेक्षाभन्दा बढी भएको छ। कम्पनीको चौथो त्रैमासिक नतिजा अपेक्षाभन्दा राम्रो आएको हो। मुख्य कारण ठोस विज्ञापन आम्दानी हो। यसले कम्पनीको सेयर अफ्टर–हावर्स ट्रेडिङमा १०.९ प्रतिशत बढेर ७४१.८८ डलर पुगेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले अक्टोबर–डिसेम्बर त्रैमासिकमा २२.७७ बिलियन डलर कमाएको छ। प्रति सेयर आम्दानी ८.८८ डलर भएको छ। यो अघिल्लो वर्षको समान त्रैमासिकमा आम्दानी २०.८४ बिलियन डलर थियो भने प्रति सेयर ८.०२ डलर थियो। ९ प्रतिशत बढी आम्दानी भएको आर्थिक प्रतिवेदनमा छ।

राजस्व २४ प्रतिशतले बढेर ५९.८९ बिलियन डलर पुगेको छ। विश्लेषकहरूले ५८.५ बिलियन डलर अपेक्षा गरेका थिए। प्रति सेयर कमाइ ८.२१ डलर हुने विश्लेषकहरूको अनुमान थियो।

विश्लेषकहरूले मेटाले फेरि एकपटक अपेक्षाभन्दा बढी कमाइ गरेर देखाएको बताएका छन्। यसले कम्पनीलाई कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधिमा लगानी गर्न ठोस आधार दिएको छ।

तर कम्पनीको खर्च पनि बढेको छ। खर्च ४० प्रतिशत बढेर ३५.१५ बिलियन डलर पुगेको छ। अर्को त्रैमासका लागि मेटाले ५३.५ देखि ५६.५ बिलियन डलर राजस्वको अनुमान गरेको छ, जुन विश्लेषकहरूको अनुमान ५१.४ बिलियन डलर भन्दा बढी हो।

२०२६ का लागि कम्पनीको खर्च १६२ देखि १६९ बिलियन डलर हुने अनुमान गरिएको छ। यो मुख्यतया पूर्वाधार र कर्मचारी तलब, विशेषगरी एआइ विशेषज्ञहरूको तलबका कारण हो।

मेटाका कर्मचारी ७८,८६५ पुगेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो। (एपी)