तेस्रो विश्वकपअघि सोमपाललाई जर्सीले बनायो ‘नोस्टाल्जिक’, ‘२० वर्षपछि वानखेडे जाँदैछु’



बिजमाण्डू
२०८२ माघ ११ गते १३:२२ | Jan 25, 2026
तेस्रो विश्वकपअघि सोमपाललाई जर्सीले बनायो ‘नोस्टाल्जिक’, ‘२० वर्षपछि वानखेडे जाँदैछु’
सोमपाल कामी। तस्बिर : क्यान


काठमाडौं। नेपाली टोलीले तेस्रो पटक आईसीसी टी-२० विश्वकप खेल्दैछ। भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल समूह ‘सी’मा छ। विश्वकपको तयारीका लागि श्रीलंकामा ३ वटा अभ्यास खेल खेलेर नेपाल भारत जाँदैछ।

Vigo
GBIME
Tata

नेपालले तेस्रो पटक विश्वकप खेल्दै गर्दा ९ जना खेलाडीले दोस्रो पटक विश्वकप खेल्दैछन्। त्यस्तै, ४ खेलाडीले विश्वकपमा पहिलो पटक कदम राख्दै छन्।

सोही टोलीमा एकमात्र यस्ता खेलाडी छन् जसले तीनै पटकको विश्वकप खेलेका छन्। र, ती खेलाडी हुन्- सोमपाल कामी।

‘आफ्नो देशका लागि माथिल्लो स्तरमा प्रतिनिधित्व गर्न पाउँदा खुशी लाग्छ। हामीले लगातार विश्वकप खेल्दैछौँ, यो महत्त्वपूर्ण छ,’ सोमपाल भन्छन्।

विश्वकपका लागि क्यानले यसअघि नै नयाँ जर्सी सार्वजनिक गरिसकेको छ। यसपटकको जर्सी सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा नेपालले लगाएको जर्सीलाई झल्को दिने किसिमको छ।

‘म जर्सी सार्वजनिक कार्यक्रममा गएको थिएँ। ठ्याक्क रिभिल गर्दा २०१४ को विश्वकपको याद आयो। हामी एकदमै उत्साहित थियौँ त्यसबेला,’ क्यानले जारी गरेको भिडियोमा उनी भन्छन्, ‘म सिकिरहेको थिएँ। पहिलो पटक विश्वकप खेल्दै थिएँ। यो जर्सी लगाउँदा मेरा लागि फरक अनुभव हो।’

सन् २०१४ को विश्वकपमा सोमपाल टोलीका युवा खेलाडी थिए। त्यसपछि नेपाललाई विश्वकप पुग्न फेरि एक दशक लाग्यो। सन् २०२४ मा पुगेर नेपालले दोस्रो पटक विश्वकप खेल्यो। र, यसपाला भने लगातार विश्वकप खेल्दैछ।

विश्वकपको तयारीका लागि नेपालले श्रीलंकामा तीनवटा अभ्यास खेल खेल्दा २ मा हार र एउटामा जित निकालेको छ। अब टोली मुम्बई जाँदैछ।

मुम्बईमा नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ। नेपालका खेलहरू पनि मुम्बईको वानखेडे स्टेडियममै हुँदैछ। सोमपाल २ दशकअघि वानखेडेमा खेलेको सम्झन्छन्।

‘वानखेडेमा २० वर्ष पहिला खेलेको थिएँ। त्यतिबेला म १२ वर्षको थिएँ। यू-१४ खेल्न गएको थिएँ। अब फेरि खेल्न गइरहेको छु। उत्साहित छु,’ उनले भने।

वानखेडेको ब्याटिङमैत्री पिचमा बलिङमा स्पीनरभन्दा पेसर प्रभावकारी हुने गरेको देखिन्छ। यस्तोमा सोमपाल तेस्रो पटकको विश्वकपमा वानखेडेमा उत्रिँदैछन्।

‘पोहोर वेस्ट इण्डिज र अमेरिकामा विश्वकप खेलेका थियौँ। त्यहाँ खेल्दा पनि समर्थकहरू हुनुहुन्थ्यो। अहिले त भारतमा खेल छ। त्यसले गर्दा धेरै जसो फ्यान त्यहाँ पुग्नुहुनेछ,’ उनले भने, ‘उहाँहरूको मायाले नै हामी यहाँ पुगेको हो।’

तस्बिर : क्यान

नेपाल रहेको समूहमा इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्याण्ड छन्। यसअघि यो समूहमा बंगलादेश रहेकोमा भारतसँगको कुटनीतिक तनाव र खेलस्थल परिवर्तनको प्रयासका बीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उसको स्थानमा स्कटल्याण्डलाई ल्याएको हो।

वरीयताका आधारमा स्कटल्याण्ड नेपालभन्दा अघि रहे पनि एसोसिएट क्रिकेटमा यी दुई टोली परिचित टोली हुन्। नेपाल इङ्ग्ल्याण्ड र इटलीसँग टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक आमनेसामने हुँदैछ।