काठमाडौं। नेपाली अटो बजारमा प्यासेन्जर सेगमेन्टतर्फ चिनियाँ ब्रान्ड बीवाइडीले लगातार दोस्रो वर्ष पहिलो स्थान लिएको छ।
बजारमा आफ्नो बर्चस्व कायम गर्दै आएका स्थापित पुराना कम्पनीलाई पछि पार्दै सन् २०२५ मा पनि बीवाइडीले आफूलाई पहिलो स्थानमा कायम राखेको हो। प्यासेन्जर सेगमेन्टमा टाटालाई यसपालि पनि बीवाइडीले पछि पारेको हो।
नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले २०२५ मा कुल ३ हजार ५४२ युनिट गाडी आयात गरेको छ।
कम्पनीले बीवाइडी एटो ३, एटो १ र एटो २ सबैभन्दा धेरै आयात गरेको छ। यस्तै सिलायन ७ र एम ६ गाडी पनि साइमेक्स इंकले भित्र्याएको छ। बीवाइडी अहिले विश्व बजारमा पनि टेस्लालाई उछिन्दै न्यु इनर्जी भेहिकलमा एक नम्बरमा छ।
बीवाइडीपछि नेपाली बजारमा स्थापित कोरियन ब्रान्ड हुन्डाई र भारतीय ब्रान्ड टाटाबीच प्रतिस्पर्धा देखिएको छ। प्रतिस्पर्धाकाबीच प्सासेन्जर सेगमेन्टमा टाटा मोटर्स दोस्रो स्थानमा छ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०२५ मा २ हजार ३७७ युनिट गाडी आयात गरेको भन्सार विभागको तथ्यांक छ। कम्पनीले पन्च इभी, टियागो इभी, एक्सप्रेस टी, नेक्सन इभी, कर्भ इभी र केही इन्धन इन्जिन भएका मोडल आयात गरेको हो।
बीवाइडी र टाटा बजारमा इभीप्रतिको आकर्षणका कारण आफूलाई टप टुमा राख्न सफल भएका हुन्।
हुन्डाई तेस्रो स्थानमा छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २०२५ मा २ हजार ४२ युनिट गाडी भित्र्याएको छ। कम्पनीले हुन्डाई क्रेटा पेट्रोल र भेन्यु गाडी अहिले नेपालमा नै एसेम्बल गर्ने गरेको छ।
दुई वर्ष अगाडि नेपालमा आफ्नो एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको कम्पनीले अहिले सबैभन्दा धेरै क्रेटा र भेन्यु अनएसेम्बल किट र तयारी क्रेटा इभी ल्याएको छ।
नेपाली बजारमा मोरिस ग्यारेज(एमजी) चौथो स्थानमा छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एक वर्षमा १ हजार १९४ युनिट आयात गरेको छ। कम्पनीले एमजी एस ५, एमजी फोर जस्ता गाडी आयात भित्र्याएको हो।
नेपाली बजारमा मारुती सुजुकी पाँचौं स्थानमा छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले १ हजार ६५ युनिट गाडी आयात गरेको छ। कम्पनीले अहिलेसम्म इभी बिक्री गर्न सुरु गरेको छैन।
कम्पनीले इन्धन इन्जिन भएका ब्रेजा, भिक्टोरिस, फ्रन्क्स, जिम्नी, ग्रान्ड भिटारा, सेलेरियो, अल्टो, स्वीफ्ट, वागन आर लगायत गाडी आयात गरेको हो।
केही नयाँ ब्रान्ड पनि यो वर्ष टप टेनभित्र पर्न सफल भएका छन्। जसका डोङफेङ नामी, ओमोडा एण्ड जेको, चांगन डिपल र लिपमोटर छ्न्।
डोङफेङ नामी छैटौं स्थानमा रहन सफल भएको छ। यो ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ८८४ युनिट गाडी आयात गरेको छ। कम्पनीले अहिले नामी भिगो र नामी बक्स मोडलका गाडी बिक्री गर्दै आएको छ।
यसैगरी, चांगन डिपल सातौं स्थानमा छ। यो गाडी ब्रान्ड पनि एमएडब्लू ग्रुपले बिक्री गर्दै आएको छ। कम्पनीले २०२५ मा ७२४ युनिट गाडी आयात गरेको छ।
ओमोडा एण्ड जेको ब्रान्डआठौं स्थानमा छ। यो ब्रान्डका गाडी एक वर्षमा ७२२ युनिट आयात गरिएको छ। यस्तै किया ६७८ युनिटसहित नवौं र लिपमोटर ३८७ युनिटसहित दसौं स्थानमा परेका छन्।
हाइब्रिड गाडीमा सुजकी पहिलो, एमपीभीमा महिन्द्रा
नेपाली बजारमा हाइब्रिड गाडीको आयात पनि केही हदसम्म बढ्दै गएको देखिन्छ। एक वर्षमा ४९० युनिट हाइब्रिड गाडी आयात भएका छन्। यसमा ८८ प्रतिशत हिस्सा सुजुकीको र १० प्रतिशत हिस्सा टोयोटाको छ।
सुबारुको क्रसट्रेक ३ वटा, टोयोटा कोरोला क्रस १० वटा, टोयोटा यारिस क्रस २० वटा र र्याभ फोर २० वटा आयात गरिएको तथ्यांक छ। यस्तै मारुती ब्रेजा हाइब्रिड ४२० वटा र ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड ११ युनिट आयात गरिएको छ।
रेन्ज रोभर ईभोक १ युनिट र भेलार ५ युनिट आयात गरिएको छ।
यसैगरी, मल्टि-प्रपोज भेहिकल(एमपीभी)मा महिन्द्राको हिस्सा धेरै छ। एक वर्षमा महिन्द्राका ९६० युनिट एमपीभी गाडी ल्याइएको छ। यस्तै इसुजु ब्रान्डले १७१ वटा एमपीभी गाडी ल्याएको छ।
पिकअप सेगमेन्टतर्फ टोयोटा हाइलक्स ६३ युनिट आयात गरिएको छ। यस्तै फोर्डको रेन्जर २२ युनिट, निसानको नाभारा ८ युनिट र मित्सुबीसीको एल२०० दस युनिट आयात भएको छ। फोटोनको टुनल्यान्ड ३३ युनिट, ग्रेटवाल पोयर ३ युनिट र चांगन हन्टर ५ युनिट आयात गरिएको तथ्यांक छ।











