गण्डकी प्रदेशमा निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेजी, सबैभन्दा धेरै स्याङ्जाका



बिजमाण्डू
२०८२ माघ ५ गते ०८:२३ | Jan 19, 2026
गण्डकी प्रदेशमा निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेजी, सबैभन्दा धेरै स्याङ्जाका
तस्बिर : सहकारी रजिष्ट्रार कार्यालय पोखरा

वालिङ (स्याङ्जा)। सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कुल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो।

Tata
GBIME
Nepal Life

दर्ता भएर सञ्चालनमा नरहेका अथवा २ वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताए।

कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो। दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका छन्।

स्याङ्जामा आठ सहकारीको दर्ता खारेज भएको छ। स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उनले जानकारी दिए।

सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान १/१ वटा सहकारीको दर्ता खारेज भएको हो। दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन्।

‘सहकारीको दर्ता खारेजका लागि ७ वटाको प्रक्रिया पूरा भएको छ,’ उनले भने, ‘बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ। सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी छन्।’

यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा छन्। ३०२ सहकारी निष्क्रिय छन्।

सहकारीसँग जोडिएका विभिन्न विषयगत संघ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन्। ती निष्क्रिय रहेका संघ तथा सहकारीमध्ये जिल्लामा मात्रै संघ तथा संस्था गरी ५० निष्क्रिय छन्। रासस