काठमाडौं। नेपाली एसेम्बल उद्योगीहरुले आउने केही महिनामा १० देखि १५ प्रतिशत स्थानीय उत्पादन (लोकल प्रोडक्ट) प्रयोग गर्ने योजना बनाएका छन्।
उद्योगीहरुले लामो समयसम्म आफ्नो उद्योगलाई स्थानीयकरण गर्न नेपालमा उत्पादन भएका पार्ट्सहरु प्रयोगमा जोड दिएका थिएनन्। त्यसरी ‘भ्यालु एड’ नगरी सरकारले दिएको सहुलियत मात्रै लिएको भन्दै आलोचना आएपछि एसेम्बल उद्योगीहरुले ‘लोकल पार्ट्स’हरु प्रयोग गर्न जोड दिन थालेका हुन्।
सरकारले उद्योग दर्ता गर्दा १० प्रतिशत भ्यालु एड हुनुपर्ने, ५ वर्षमा ३० प्रतिशत भ्यालु एड गरेको हुनुपर्ने, पहिलो वर्ष ५० जना स्वदेशी र पाँचौं वर्षमा २०० जनालाई रोजगारी दिनुपर्ने सर्त राखिएको थियो। अहिले नेपालमा लगभग ७ वर्ष पुगेका एसेम्बल उद्योगहरु पनि छन्। जसले कुनैपनि लोकल पार्ट्सहरु प्रयोगमा ल्याउन सकेका छैनन्।
सरकारको दुईवटा निकाय उद्योग विभाग र वाणिज्य विभागले यसबारेमा अनुगमन गर्ने तयारी थालेका छन्। वाणिज्य विभागले केही समय अगाडि एसेम्बल उद्योगहरुसँग प्रोफिट मार्जिन हेर्ने भन्दै सबै विवरण माग गरेको थियो।
बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज एण्ड हुलासचन्दका प्रबन्ध निर्देशक शेखर गोल्छा आफूहरु नेपालमा उत्पादन भएका लोकल पार्ट्सहरु छिट्टै प्रयोगमा ल्याउने योजनामा रहेको बताउँछन्। तर, सहुलियतका सर्तमा सकारात्मक उद्योगीलाई सरकारले पर्याप्त समय दिएर सहयोग गर्नुपर्नेमा उनको जोड छ।

‘हामी एसेम्बल उद्योग लगाएर सस्टेन गर्न सकिने अवस्थामा उभिन खोज्दैछौं। सरकारले दिएको सहुलियत लङटर्मसम्मलाई हुनुपर्छ,’ गोल्छाले भने, ‘हामीले आगामी ६ महिना, वर्षदिनसम्ममा १० देखि १५ प्रतिशतसम्म लोकल प्रोडक्ट प्रयोगमा ल्याउने योजना अनुसार तयारी गरिरहेका छौं। विगतका ४/५ वर्षहरुमा पहिला कोभिड १९ महामारी तथा पछि आर्थिक मन्दीका कारण यसमा हामीले काम गर्न सकेनौं। जसले गर्दा समय लागेको हो। तर अहिले हामी यही काममा लागि रहेका छौं,’ उनले भने।
गोल्छाका अनुसार स्थानीय उत्पादन प्रयोगमा ल्याउन सबै ‘इको सिस्टम’ तयार पार्नुपर्ने हुन्छ। त्यस्तै, लगानी पनि ठूलो आवश्यक छ। नेपालमा भएका कम्पनीहरुले गुणस्तरमा ग्लोबल स्ट्यान्डर्ड दिन सक्ने एसुरेन्स चाहिन्छ। नेपाल सरकारले आफ्नै भएको एउटा स्ट्यान्डर्ड पनि तय गर्न सकिरहेको अवस्था छैन।
‘हामीले उत्पादक कम्पनीसँग पनि प्रयोग गर्न सकिने सम्भावित पार्ट्सहरुका लागि स्वीकृति मागेका छौं,’ गोल्छाले भने।
नेपालमा पनि केही पार्ट्सका उद्योगहरु स्थापना भइसकेकाले उत्पादक कम्पनीले स्वीकृति दिएको पार्ट्सहरु प्रयोगमा ल्याउन गुणस्तरको कुरामा ‘एसुरेन्स’ दिनुपर्छ। त्यसपछि मात्रै उक्त स्थानीय उत्पादनहरु प्रयोगमा ल्याउन सकिन्छ। जसरी पछिल्लो समय सवारीसाधनको एसेम्बलिङ उद्योग खुल्ने क्रमले तीव्रता पाएको छ, यस्ता उद्योगले सवारीसाधनमा प्रयोग हुने ‘कम्पोनेन्ट’ स्वदशमै उत्पादन गर्न हामी कत्तिको सक्षम छौं भन्ने कुरामा पनि ध्यान जानु पर्ने सरोकारवाला बताउँछन्।
उत्पादक कम्पनीले सिफारसि गरेको ब्रान्डको पार्ट्स उत्पादन गर्न नेपालमै फ्याक्ट्री खोल्न पनि आग्रह गरिएको छ। त्यसका लागि निकै लामो समयदेखि अध्ययन भइरहेको गोल्छा बताउँछन्।
यसमा सरकार र नेपालमा भएका सबै एसेम्बल उद्योगहरुले सपोर्ट गर्नुपर्ने उनको धारणा छ। ‘ब्रान्ड अनुसार फरकफरक पार्ट्सहरु प्रयोग हुने भएकाले पनि समस्या हुन्छ। तर सामान्य रुपमा सबै ब्रान्डहरुमा प्रयोग हुने पार्ट्सहरुको लागि भने प्लान्ट सेटअप गर्ने कोसिस गरिएको छ,’ गोल्छा बताउँछन्।
पछिल्लो समयमा सरकारले सहुलियतहरु घटाउँदै लगिरेहको अवस्थामा ‘लङटर्म भिजन’ राखेर काम गर्न गाह्रो भइरहेको उनको भनाइ छ। सरकारले अन्त: शुल्कमा दिएको ४० प्रतिशत छुट बढाउने हो भनेदेखि मोटरसाइकलमा १० देखि १५ प्रतिशत मूल्य बढ्ने उनले बताए।
अहिले ग्राहकहरुले सस्तोमा मोटरसाइकल पाइरहेकोले सरकारले सहुलियत दिएर पनि मूल्य घटेन भन्न नमिल्ने उनको तर्क छ। सबै मूल्य समायोजन भएर बजारमा गएको उनको दाबी छ।
‘यसको लगानी फेरि ठुलो छ। जुन कुरामा अहिले नेपालको अवस्था हेर्ने हो भने लगानी ल्याउन सक्ने पोसिबिलिटी निकै कम छ। लगानीको सेक्युरिटी र एसुरेन्स सरकारले गरिदिन सक्दैन,’ गोल्छाले भने,’त्यसैले अहिले तत्कालका लागि नेपालमा उत्पादन भएका केही कम्पोनेन्टहरु प्रयोगमा ल्याउन सकिन्छ।’

हुन्डाईले पनि नेपालमा एसेम्बल प्लान्ट लगाएर गाडीहरु एसेम्बल गर्दै आइरहेको छ। कम्पनीले आगामी केही महिनाभित्रै नेपालमा उत्पादन भएको टायर र ब्याट्री प्रयोगमा ल्याउने योजना बनाएको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दिपक थपलिया आगामी केही महिनामा नै आफूहरु नेपाली उत्पादन गरिएका टायर र ब्याट्री प्रयोग गर्ने योजनामा रहेको बताउँछन्।
‘हामीहरु एसेम्बल उद्योगमा ल्याएर मात्रै जडान गर्ने नभइ नेपालमा उत्पादन गरिका अन्तराष्ट्रिय स्ट्यान्डर्ड मिट गर्ने पार्ट्स प्रयोग गर्दै जाने योजनामा पनि छौं,’ थपलियाले भने, ‘उत्पादक कम्पनीले नेपालमा उत्पादन भएको प्रोडक्टलाई उनीहरुको गाडीमा प्रयोग गर्न दिन एप्रुभल दिनुपर्यो।’
थपलियाका अनुसार हुन्डाई नेपालले कुन कुन कुराहरु प्रयोगमा ल्याउन सकिन्छ भनेर छनोट गरिसकेको छ। यसमा ब्याट्री, टायर, इनर प्लास्टिङ कोटिङ, सिट फ्याब्रिकेटर, कुसन, सिट फ्रेम र रेल्स वेल्डिङ, मेटलमा साइलेन्सरको टेलगेट पाइप, मेटल फोर्मिङ, वेल्डिङ ट्युब फोर्मिङ र वेल्डिङ शप, बम्परहरु, हेड लाइनिङ, अटोमेटिभमा प्रयोग हुने कार्पेट र फ्लोर म्याट जस्ता लोकल कुराहरु प्रयोगमा ल्याउन सकिन्छ।
तत्काल प्रयोगमा ल्याउनको लागि टायर र ब्याट्री प्रयोग गर्न सक्ने सम्भावना देखिएको हो। ब्याट्री अहिले नेपालमा उत्पादन हुन थालेको छ। तर, उत्पादक कम्पनीले तय गरेको ‘स्ट्यान्डर्ड’ भने पूरा गर्नुपर्छ।
नेपालमा आधा दर्जनभन्दा धेरै एसेम्बल उद्योगहरु स्थापना भएर अहिले संचालनमा आएका छन्। जसमा ब्याट्रीदेखि लुब्रिकेन्ट्ससम्मका छन्। विभिन्न लेगगार्डहरु पनि अहिले नेपालमै उत्पादन हुन्छ। नेपालमा ब्याट्री एसटीसी राइड तथा इनर्जी र स्वदेशी लुब्रिकेन्ट ब्रान्ड नेपाल गोल्ड, पिएलओ, गल्फ र भिडोल तथा टायर पनि उत्पादन हुने गरेका छन्।
सरकारले अहिलेसम्म एसेम्बल उद्योगहरुलाई नियमन गर्न कुनै पनि मापदण्डहरु बनाएको छैन। नियमनको दिगो नीति नहुँदा अहिले स्थानीयस्तरमै उत्पादन र बिक्री गर्न सकिने पार्टसहरुको निर्माण र गुणस्तर परीक्षण हुन गाह्रो भइरहेको छ।











