भेनेजुएलामाथि आक्रमणको अन्तर्य : कसले गर्ने विश्वमा तेल साम्राज्यको नेतृत्व?



सहयोग रञ्जित
२०८२ पुष २० गते १२:२५ | Jan 4, 2026
भेनेजुएलामाथि आक्रमणको अन्तर्य : कसले गर्ने विश्वमा तेल साम्राज्यको नेतृत्व?
तस्विर : रोयटर्स/ह्वाइटहाउस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा विश्वलाई ‘युद्धमुक्त’ बनाउने भनेका थिए। तर, सन् २०२६ सुरु भएको केही दिनमै ट्रम्पले विश्वलाई ‘नयाँ युद्ध’ मा धकेलेका छन्। भेनेजुएलामा अमेरिकाले आक्रमणमात्र गरेन, त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउसमेत गर्‍यो। उनलाई हाल न्यूयोर्कमा लगिएको छ। अमेरिकामा मादुरोलाई ‘ड्रग कार्टेलिङ’ गरेको आरोपमा मुद्दा चलाइनेछ।

Tata
GBIME
Nepal Life

धेरैले मादुरोको पतन ड्रग कार्टेलिङ र उनको ‘अधिनायकवादी छवि’ का कारण भएको टिप्पणी गरिरहेका छन्। तर, शनिबार मादुरोलाई उनकै देशबाट अमेरिकामा लग्नुको पछाडि राजनीतिकमात्र होइन भविष्यसम्म असर गर्ने आर्थिक तत्वहरु पनि छन्। त्यसैमध्ये एक हो भेनेजुएलाको तेल।

मादुरोले भन्दै आएका थिए : ट्रम्पको नजर भेनेजुएलाको तेलमा छ।

मादुरोलाई पक्राउ गरेपछि वासिङ्टनबाट ट्रम्पले अब संक्रमणकालीन अवस्था रहेसम्म भेनेजुएलामा अमेरिकाले शासन गर्ने घोषणा गरे। सँगै उनले अब भेनेजुएलाको तेल भण्डारण ‘कब्जा’मा लिने र त्यहाँ अमेरिकी कम्पनीहरुलाई लगानीका लागि प्रोत्साहित गर्ने बताए।

ट्रम्पको उक्त अभिव्यक्तिपछि विश्वभर मादुरो प्रकरण तेल राजनीतिका कारण मात्र नभएको भन्दै चर्चा पाउन थालेको छ।

भेनेजुएलासँग कति तेल छ ?

ओइल एन्ड ग्यास जर्नलका अनुसार भेनेजुएलासँग विश्वको प्रमाणित तेल भण्डारको करिब १७ प्रतिशत तेल छ। यो भनेको ३०० अर्ब ब्यारेल भन्दा बढी हो। कूल १७ ट्रिलियन अमेरिकी डलर बराबरको तेल भेनेजुएलामा रहेको बताइन्छ। यो भनेको १७० खर्ब रुपैयाँ भन्दा बढी हो।

अलजजिराका अनुसार भेनेजुएलाको अधिकांश तेल भण्डार ‘ओरिनोको बेल्ट’मा रहेको छ। त्यहाँ ‘एक्स्ट्रा हेभी’ कच्चा तेलको भण्डार छ जसकारण त्यसको उत्खनन सहज छैन। यो तेल खाडी देशमा पाइने तेलभन्दा फरक छ र उत्खननका लागि अत्याधुनिक प्रविधिको आवश्यकता पर्छ। त्यतिमात्र होइन निकै बाक्लो हुने भएकोले तेललाई बजारमा प्रयोगयोग्य बनाउनका लागि ठूलो संख्यामा प्रशोधन केन्द्र स्थापना गरेर तेलको स्त्तरवृद्धि गर्नुपर्छ।

विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भए पनि भेनेजुएलामा तेल उत्पादन भने निकै कम छ। विशेष गरेर त्यहाँको आर्थिक अवस्था र अमेरिकाले लगाएको प्रतिबन्धका कारण तेल उत्पादन कम भएको हो। पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने भेनेजुएलाले दैनिक मात्र १० लाख ब्यारेल मात्र तेल उत्पादन गरेको देखिन्छ। यो विश्वको कुल दैनिक उत्पादन क्षमताको १ प्रतिशतभन्दा कम हो।

कम लगानी, अमेरिकी प्रतिबन्ध र राम्रो व्यवस्थापन नहुँदा भेनेजुएलाको तेल पूर्वाधार जर्जर अवस्थामा पुगेको छ। त्यहाँको तेल भण्डारलाई पूर्ण क्षमतामा उपयोग गर्न अर्बौं डलर बराबरको मर्मत तथा लगानी आवश्यक छ। जुन भेनेजुएला एक्लै गर्न सक्दैन। त्यसैले उसले चीनतर्फ आफूलाई मोड्दै गयो। जुन अमेरिकालाई सह्य भएन।

अब्सर्भेटरी अफ इकोनोमिक कम्पेक्सिटीको तथ्यांक हेर्ने हो भने सन् २०२३ मा भेनेजुएलाले ४.०५ अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल मात्रै निर्यात गरेको छ। जबकी धेरै तेल भण्डार क्षमता भएको साउदी अरेबियाले सोही समयमा १८१ अर्ब डलर, अमेरिकाले २५ अर्ब डलर र रसियाले १२२ अर्ब डलर तेल निर्यात गरेको थियो।

कच्चा तेलसँगै भेनेजुएलाले पेट्रोल र डिजेलजस्ता प्रशोधित पेट्रोलियम पदार्थहरू पनि निर्यात गर्ने गरेको छ। तर रिफाइनरीका पूर्वाधारहरु पुरानो हुँदा र प्राविधिक चुनौतीहरुबीच अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण त्यसको निर्यात क्षमता निकै सीमित छ।

अमेरिका र भेनेजुएलाको सम्बन्धमा तिक्तता आएको भर्खरै होइन। सन् १९९९ मा हुगो चाभेज सत्तामा आएसँगै दुई देशबीच सम्बन्धमा थप दरार आएको थियो। सन् २०१३ मा उनको निधनपछि मादुरो भेनेजुएलाको सत्ता पुगे। त्यसपछि अमेरिका र भेनेजुएलाको दुरी थप बढ्यो।

सन् २०२५ को सेप्टेम्बरदेखि भने अमेरिकाले भेनेजुएलमाथि थप कडाइ गरेको थियो। अमेरिकाले भेनेजुएलालाई युद्धपोतले घेरर राखेको थियो भने त्यहाँबाट तेलका ट्यांकरहरुलाई ‘ब्ल्क’ गरेको थियो। अमेरिकाले यसो गर्नुपछि भेनेजुएलाबाट हुने लागूपदार्थ ओसारपसारलाई कारण देखाएको थियो।

हुगो चाभेज राष्ट्रपति भएपछि भेनेजुएलाको तेल भण्डारबाट विदेशी कम्पनीहरुलाई निकालिएको थियो। त्यहाँका सबै भण्डारहरु सरकारीकरण गरिएको थियो।

क्र.सं.देशतेल भण्डार (अर्ब ब्यारेलमा)निर्यात आम्दानी (अर्ब अमेरिकी डलरमा)
भेनेजुएला३०३.२२४.०५
साउदी अरेबिया२६७.१९१८१.०
इरान२०८.६५३.०
क्यानडा१६३.६३१०७.०
इराक१४५.०२९२.४
संयुक्त अरब इमिरेट्स११३.०९९.०
कुवेत१०१.५३५.७
रसिया८०.०१२२.०
संयुक्त राज्य अमेरिका५५.२१२५.०
१०लिबिया४८.०३१.३
ओयल एन्ड ग्यास जर्नल २०२३ को तथ्यांक

ट्रम्पको आरोप र प्रतिक्रिया

डोनाल्ड ट्रम्पले बारम्बार भन्ने गरेका छन् : भेनेजुएलाले हाम्रो तेल चोर्‍यो। यसपछिको कारणको कथा पनि त्यही सरकारीकरणबाटै सुरु भएको हो।

सन् १९७६ मा भेनेजुएलाको सरकारले देशको पेट्रोलियम उद्योग आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसक्रममा सयौं निजी व्यवसाय र विदेशी स्वामित्वका सम्पत्तिहरू राष्ट्रियकरण गरिएका थिए। जसमा अमेरिकी तेल कम्पनीहरु पनि परेका थिए।

सन् २००७ मा भने चाभेजले सबैभन्दा ठूलो तेल भण्डार रहेको ओरिनोको बेल्टमा संचालित अन्तिम निजी तेल कम्पनीलाई पनि सरकारीकरण गरे। त्यो पनि अमेरिकी थियो।

त्यसैलाई आधार बनाएर ट्रम्पले भेनेजुएलाले आफूहरुको तेल चोरी गरेको बताएका थिए। र, त्यसका विरुद्ध शनिबार चालिएको कदम सही भएको ट्रम्पको दाबी थियो।

तस्विर : एपी

‘भेनेजुएलाको तेल उद्योग लामो समयदेखि पूर्ण रूपमा असफल भएको छ। उनीहरुले क्षमता अनुसार उत्पादन गर्न सकेका थिएनन्। अब हामी विश्वकै सबैभन्दा ठूला अमेरिकी तेल कम्पनीलाई त्यहाँ पठाउनेछौं। उनीहरूले त्यहाँ अर्बौं डलर लगानी गर्नेछन्,’ ट्रम्पले शनिबार भनेका छन्।

ट्रम्पले गत वर्षदेखि नै अमेरिकी तेल कम्पनीको सम्पत्ति भेनेजुएलामा खोसिएको भन्दै प्रतिबन्धमा कडाई गरेका थिए। उनले भेनेजुएलामा आउनेजाने सबै तेल ट्यांकरमा पूर्ण नाकाबन्दी लगाउनुपर्ने नै बताएका थिए।

ट्रम्पले चेतावनी दिँदै लेखेका थिए, ‘भेनेजुएलाले हामीबाट पहिले चोरेका सबै तेल, भूमि र अन्य सम्पत्ति अमेरिकालाई फिर्ता नगरेसम्म नाकाबन्दी जारी रहनेछ। उनीहरुले फेरि त्यस्तो गर्न पाउने छैनन्। त्यहाँ हाम्रो धेरै तेल थियो। उनीहरूले हाम्रा कम्पनीहरूलाई निकालिदिए। र हामी त्यो फिर्ता चाहन्छौं।’

वासिङटन पोस्टको रिपोर्ट अनुसार भने अमेरिकी कम्पनीहरुले भेनेजुएलामा कहिल्यै तेल वा जमिनको स्वामित्व पाएका थिएनन्। न त सरकारी अधिकारीहरुले उनीहरूलाई जबर्जस्ती नै निकालेको थियो।

भेनेजुएयाली अर्थशास्त्री फ्रान्सिस्को रोड्रिगेजले पोस्टसँग भनेका छन्, ‘ट्रम्पले भेनेजुएलाले अमेरिकी तेल र जमिन चोरेको दाबी गर्नु पूर्ण रूपमा आधारहीन छ।’

त्यसबेला तेल उद्योगहरु राष्ट्रियकरण गर्नु सबै राजनीतिक संयन्त्रलाई बाध्यकारी बनेको थियो।

सन् १९०८ देखि १९३५ सम्म शासन गरेका जुआन भिसेन्टे गोमेजले भेनेजुएलामा विदेशी तेल कम्पनीहरुलाई धेरै नै छुट दिएका थिए। तीनवटा विदेशी कम्पनीले भेनेजुएलाको ९८ प्रतिशत तेल बजार नियन्त्रण गरेका थिए।

त्यससमय भेनेजुएला विश्वको दोस्रो ठूलो तेल उत्पादक र सबैभन्दा ठूलो निर्यातकर्ता थियो। तेलले भेनेजुएलाको कुल निर्यातको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो।

तानाशाह गोमेजको पतनसँगै आएका सरकारहरुले भेनेजएलाको अर्थतन्त्र नियन्त्रण लिने प्रयास गरेको थियो। फलस्वरुप सन् १९४३ मा इसायस मेडिना आङ्गारित्याको पालामा विदेशी तेल कम्पनीहरुले आफ्नो नाफाको आधा सरकारलाई दिनुपर्ने कानुनमा व्यवस्था गरियो। सन् १९७५ मा राष्ट्रियकरणबारे बहस सुरु हुँदासम्म सरकारीकरण अपरिहार्य भइसकेको रोड्रिगेज बताउँछन्।

१९७५ मा राष्ट्रपति कार्लोस आन्द्रेस पेरेजले राष्ट्रियकरण कानुनमा हस्ताक्षर गरे। र, १९७६ देखि राज्य स्वामित्वको तेल कम्पनीले अन्वेषण, उत्पादन, प्रशोधन र निर्यातको पूर्ण नियन्त्रण लियो।

तस्विर : रोयट्स

राष्ट्रियकरणको सबैभन्दा ठूलो प्रभाव अमेरिकी तेल कम्पनीहरु एक्सोन र मोबिलसँगै गल्फ ओयल (चेभरन) लाई परेको थियो। डच कम्पनी सेल पनि त्यस निर्णयबाट प्रभावित बन्यो। त्यसबेला ती कम्पनीहरुले भेनेजुएलाको करिब ७० प्रतिशत तेल माथि नियन्त्रण राख्थे। अमेरिकी कम्पनीहरु सस्तोमा तेल निर्यात गर्न चाहन्थ्यो, जसले भेनेजुएलालाई भने कम मात्रै फाइदा हुन्थ्यो। जसकारण भेनेजुएला सरकार बाध्य भएर राष्ट्रियकरणमा जानु परेको रोड्रिगेजले बताएका छन्।

राष्ट्रियकरण बापत् ती कम्पनीहरुलाई भेनेजुएला सरकारले क्षतिपूर्ति पनि दिएको थियो। तर, त्यो नगण्य थियो। जसकारण अमेरिकी कम्पनीले बारम्बार भेनेजुएलाको सो कदममाथि प्रश्न गरिरहेका थिए।

ट्रम्प दोस्रो कार्यकालका लागि सत्तामा आएसँगै उनका प्रमुख योजनाकार स्टेफन मिल्लरले पनि भेनेजुएलाको तेल आफूहरुको भएको बताएका थिए।

ट्रम्पले सेप्टेम्बरदेखि नै भेनेजुएलामाथि कडाई गरे पनि आक्रमण गरिहालन्ने मनस्थितिमा थिएनन्। पछि, मादुरोले चीनलाई तेल कम बिक्री गर्ने र अमेरिकालाई ल्याउने ‘अफर’ ट्रम्पलाई गरे। त्यसमा ट्रम्प सकारात्मक पनि थिए। तर, अमेरिकी विदेश मन्त्री मार्को रुबियो त्यसको पक्षमा थिएनन्। त्यसपछि कारण थियो भेनेजुएलाबाट बाहिरिन बाध्य भएको अमेरिकी कम्पनी – एक्सोन।

सन् २००७ सम्म भेनेजुएलाको तेल भण्डारमा पहुँच रहेको सो कम्पनीको नेतृत्व कुनै बेला रेक्स टिलरसनले पनि गरेका थिए। जो ट्रम्पको पहिलो कार्यकालमा विदेश मन्त्री बनेका थिए।

यही कम्पनी माथि कसैले हात राखे त्यसविरुद्ध अमेरिकाले कडा कदम चाल्ने चेतावनी रुबियोले पानामा पुगेर दिएका थिए। आज उनै रुबियोको दबाबमा ट्रम्पले अमेरिकी कम्पनीलाई निकालिएको बदला स्वरुप भेनेजुएलाको तेल भण्डार नै नियन्त्रणमा लिएर संचालन गर्ने घोषणा गरेका हुन्।

र, यो कुनै सानो कुरा होइन। अब यो भेनेजुएलाको तेल क्षमतामा अमेरिकी पहुँचसम्म मात्र सीमित छैन। यो विश्वमा कसले तेलको साम्राज्यमाथि नियन्त्रण जमाउने भन्ने ‘नयाँ युद्ध’को सुरुवात भएको अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरुले बताइरहेका छन्।