काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घटेको छ। आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्दै प्रति तोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो।
चालु महिनाको सुरुवात नै तोलाको २ लाख ५९ हजार रुपैयाँबाट भएर बढ्दै अधिकतम २ लाख ७० हजार ६ सय रुपैयाँसम्म महँगिएको सुनको कारोबार मूल्य घट्दा पनि उल्लेख्य अंकको गिरावट अझै देखिएको छैन।
चाँदीको मूल्य गत शुक्रबारका तुलनामा आइतबार २५ रुपैयाँ घटेर ४ हजार ५ सय रुपैयाँ भएको छ। शुक्रबार प्रति तोला ४ हजार ५ सय २५ रुपैयाँ थियो। बिहीबारका तुलनामा शुक्रबार १०८ रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४३३२.३६ डलर र चाँदी प्रति औंस ७२.८२ डलरले कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रति औंस ४३७७.४४ डलर थियो भने चाँदी ७३.७२ डलर पुगेको थियो।










