काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य सामान्य गिरावट छ भने चाँदीले बढोत्तरीमा कीर्तिमानी कायम गरेको छ। चाँदी महँगिदै प्रति तोला ४ हजार १ सय ५ रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रति तोला २ लाख ५८ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबारका तुलनामा सुन तोलामा एक सय रुपैयाँ घटेको हो। शुक्रबार प्रति तोला २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ। गत शुक्रबार चाँदी प्रति तोला ४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। चालु महिना पाँच दिनमै चाँदी तोलामा २२० रुपैयाँ बढिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमै सुनसँगै चाँदीको मूल्यमा अस्वाभाविक चाप छ। चाँदीको मूल्य वृद्धि हुनुमा धेरैवटा कारण रहेको बजार विश्लेषकहरुले बताएका छन्। सुनको तुलनामा चाँदीको औद्योगिक प्रयोग धेरै हुन्छ। हाल विश्वभर नवीकरणीय ऊर्जा, इलेक्ट्रिक गाडी र एआइका लागि आवश्यक पर्ने सेमिकन्डक्टर चिप्समा चाँदीको अत्यधिक प्रयोग भइरहेको छ। यी क्षेत्रहरूको विस्तारसँगै चाँदीको माग बढेको छ।
विगत ५ वर्षदेखि विश्व बजारमा चाँदीको उत्पादन (खानीबाट निकालिने दर) भन्दा यसको माग धेरै छ। चाँदी प्रायः तामा, सिसा र जस्ता (जिन्क) खानीको सह-उत्पादन (बाइ प्रडक्ट) को रूपमा निकालिन्छ, जसले गर्दा माग बढ्नेबित्तिकै यसको उत्पादन तुरुन्तै बढाउन सकिँदैन। यही अभावले मूल्यमाथि दबाब पर्छ।
विश्वमा जारी भू-राजनीतिक तनाव र आर्थिक अस्थिरताका कारण लगानीकर्ताहरूले कागजी मुद्रा वा सेयर बजारभन्दा सुन र चाँदीलाई सुरक्षित मान्छन्। सुन निकै महँगो भइसकेकाले साना र मध्यम लगानीकर्ताहरू अहिले चाँदीतर्फ आकर्षित भएका छन्, जसलाई ‘गरिबको सुन’ पनि भनिन्छ। विश्वका धेरै केन्द्रीय बैंकहरूले आफ्नो विदेशी विनिमय सञ्चितिमा बहुमूल्य धातुको हिस्सा बढाउँदै लगेका छन्। साथै, अन्तर्राष्ट्रिय बजारमा चाँदीको ‘एक्सचेन्ज ट्रेडेड फण्ड’मा लगानी गर्नेहरूको संख्या बढ्नाले पनि मूल्यमा चाप परेको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस ४३४०.१ डलर र चाँदी प्रतिऔंस ६७.१४ डलर छ।











