भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो?



भावना शर्मा
२०८२ मंसिर २८ गते ०९:३९ | Dec 14, 2025
भग्नावशेषमा उभिएर जब बसन्तले सोधे- मैले के अपराध गरेको थिएँ र मेरो घर जलाइयो?

भदौ २४ गते आफ्नो घर जलेपछि निष्प्राणजस्तै बनेका बसन्त चौधरी ठ्याक्कै तीन महिनापछि पहिलोपटक त्यही ठाउँमा पुगे। त्यहाँ टेक्नासाथ उनी स्तब्ध बने, केहीबेर टोलाइरहे। भरिभराउ घर खण्डहरका रुपमा थियो। धुँवाले रगमगिएका र पाप्रा उप्किएका भित्ताहरु देखेर उनका आँसु अडिएनन्।

Tata
GBIME
Nepal Life

५० वर्षअघि उनका बुवाले ठमेलमा चार रोपनी जग्गामा सिर्जना गरेको सरस्वती सदन नै बसन्तको संसार थियो। यो घरमा उनी १६ वर्षको उमेरदेखि बस्न थालेका थिए। उनको विवाह, छोरीको जन्म, अनि नातिनी पनि यही आँगनमा खेलेर हुर्किएकी थिइन्।

घर खाली गर्न चेतावनी दिएको एक मिनेटभित्रै श्रीमती डोर्‍याएर रित्तै, निःसहाय बाहिरिनु पर्दाको पीडा उनको मुटुमा गाँठो परेर बसेको छ। जुन घरमा उनका बुवाआमा, श्रीमती र छोरीको सम्पूर्ण संसार बसेको थियो, त्यो सबै छोडेर जिउको एकसरो पाइजामा कुर्ता र चप्पलमै उनी यहाँबाट बाहिरिएका थिए। गेटबाट भित्र पस्ने बित्तिकै आँगनमा रहेको दुईवटा गाडीमा आगो लगाइदिएको उनले देखिसकेका थिए। ‘केही नगर्न’ भीडलाई अनुनय गरिरहेकी श्रीमतीको हात समातेर चुपचाप उनी बाहिरिएका थिए किनभने त्यसबेला त्यहाँ उभिएको जत्थासँग प्रतिरोध गर्नुको कुनै अर्थ थिएन।

बसन्त तीन महिना अघिको त्यो ‘अपराध कर्म’का यस्ता साक्षी हुन् जो चाहेर पनि त्यो घटना बिर्सन सक्दैनन्, न त त्यो त्रासदीको पल सम्झन नै चाहन्छन्। बरु विक्षिप्त मनोदशामा टोलाइरहन्छन् र प्रश्न गरिरहन्छन् –‘आखिर मेरो गल्ती के नै थियो? मैले राज्यप्रति के त्यस्तो अपराधजनक कार्य गरेको थिएँ र यो प्रहार किन?

५० वर्षअघि सरस्वती सदन ठमेल क्षेत्रमै नमुना घर थियो। त्यतिबेला यस्तो डिजाइनको घर विरलै बन्ने गर्थ्यो। घरको आर्किटेक्चरल डिजाइन शंकरनाथ रिमालले गरेका थिए। त्यसबेलाको ‘मोर्डन आर्किटेक्ट’ थियो यो घर, जसलाई पस्ने जो कोहीले प्रशंसा गर्थे।

यही घरभित्र उनका २४ सय ७२ वटा किताब रहेको लाइब्रेरी थियो। कैयन महत्त्वपूर्ण दस्तावेजहरु थिए। किताब लेख्नका लागि तयार पारिएका कैयन प्लटहरु थिए। तर भदौ २४ को आगजनीमा उनका प्रकाशोन्मुख कृतिहरु खरानी भएका छन्।

व्यवसायी भनेर चिनिनुमा भन्दा बढी सर्जकका रुपमा परिचय बनाउन लागिपरेका बसन्तका लागि सरस्वती सदन उनको घरमात्र थिएन, साधनाको थलो पनि थियो। पारिवारिक विरासतमा पाएको बुवाको पसिनाले आर्जेको त्यो घरभन्दा अरु कुनै ठाउँमा उनको मन अडिदैनथ्यो। उद्यमी परिवारसँग जोडिएका बसन्त आफूलाई सधैं सरस्वतीका वरदपुत्रका रुपमा चिनिन मन गर्थे। उनको साहित्य साधनाको थलो पनि यही सरस्वती सदन थियो।

यही घरभित्र उनका २४ सय ७२ वटा किताबहरुले भरिएको लाइब्रेरी थियो। कैयन महत्त्वपूर्ण दस्तावेजहरु थिए। किताब लेख्नका लागि तयार पारिएका कैयन प्लटहरु थिए। तर भदौ २४ को आगजनीमा उनका  प्रकाशोन्मुख कृतिहरु खरानी भएका छन्। उनले लेखेका धेरै डायरी जलेर बिलाए।

त्यही दिन जलेका ती सम्पूर्ण सिर्जनाहरु सम्झिँदै उनले लेखे

सायद समयले यो घाउ भरिदेला

या कहिल्यै नभरिने गरी मुटुमा बसिदेला

तर अहिले,

पीडा गहिरो छ प्रश्न अनुत्तरित छ

म निरन्तर सोधिरहेछु-

किन?

भौतिक सम्पत्तिको त लेखाजोखा नै उनले राखेका छैनन्। सिर्जनाको संसार जलेको शोकबाट उनी बाहिर निस्कनै सकेका छैनन्।

‘यो घर मैले आर्जेको थिइन। यो त मेरो बुवाआमाको नासो थियो जसलाई मैले सुरक्षित राख्न सकिन त्यो भन्दा बढी दुःख के हुन सक्छ। सबभन्दा बढी पीडा मेरो कलमलाई भएको छ। मेरा औंलाहरु जसले कलम समातेर देशप्रति आफ्नो वफादारिता, समर्पण देशप्रतिको हितका कुराहरु अमन शान्तिका कुराहरु लेखे। त्यही मेरो कलम आज सबभन्दा बढी पीडित छ। बढी त मेरो कलमलाई दुखेको छ,’ उनले भने।

‘शान्ति लुकाउँ कहाँ..’ भनेर विश्वशान्तिको गीत लेख्ने सर्जककै संसारबाट शान्ति हराएको समय हो यो।

‘पैसा छँदैछ छ फेरि बनाए भैहाल्यो नि’ भनिदिँदा उनलाई अझ बढी पीडा हुन्छ।   

‘सबै कुरा पैसाले पाइने भए! पैसाले मात्र त निर्माण हुँदैन। हराएका सबै चीज पैसाले खरिद गर्न सकिँदैन। परिवार र सन्तानका भावनात्मक सम्झना, बुवाआमाको आशिर्वाद र छत्रछायाको आभाष, ५० वर्षदेखि बुवाआमाले जोडेका स्मृति र यो घरले मलाई दिएको संवेदनात्मक चेत अब कहाँ पैसाले किन्न सकिनु!,’ उनले भने।

रित्तो घरमा उनी यतिबेला पुराना सबै यादहरु खोजिरहेका छन्।

अझै पनि ‘पजल’ मै छु

व्यावसायिक विरासतका कारण बसन्त उद्यमीको रुपमा परिचय पाए पनि उनी विशुद्ध उद्यममात्रै लाग्ने स्वभावका होइनन्। उनमा विशुद्ध व्यावसायीमा हुने भन्दा अलि फरक किसिमको आदर्श छ। जे गर्नु छ जन्मभूमिकै गर्नु छ भन्ने मान्यता राख्थे उनी। त्यसैले उनले आफ्ना परिवारभित्रका अन्य सदस्यहरुले जस्तो विदेशमा व्यवसाय फैलाउने विस्तार गर्ने सोच नै राखेनन्। पुस्तैनी विरासतमा प्राप्त धनसम्पत्तिलाई उनी नेपालमै उपयोग गर्न चाहन्थे। उनी यहीँ काम गर्न र साहित्य कर्ममा मग्न रहन चाहन्थे।

‘म कहिले पनि आफूलाई सफल व्यवसायी वा धेरै ठूलो व्यावसायिक साम्राज्य बनाउँ भन्ने अभिलाषा राखेको व्यक्ति होइन। व्यावसायिक घरानामा मेरो जन्म भयो र मैले जब कुराकानी बुझ्न सक्ने अवस्थामा पुगेँ घरमा मैले सुनेको देखेको सिकेको भनेको व्यावसायिक कुरा मात्र हुन्थ्यो। मलाई यो पनि थाहा छैन ममा यो साहित्यप्रतिको अनुराग कहाँबाट पलायो। मेरा अभिभावकहरुले हाम्रो कर्म व्यापारै हो भन्नुहुन्थ्यो। तर मनलाई मष्तिष्कले जित्न सकेन मेरो हकमा। म आफ्नै गतिमा बग्दै गएँ,‘ शब्दको संसारमा रमाउन चाहने बसन्तले आफ्नो व्यावसायिक जीवन र स्रष्टाको जीवनबारे तुलना गर्दा स्रष्टाकै पल्ला भारी भएको सुनाइरहेका थिए। 

उनले व्यवसाय गर्दा यस्तो मन्त्र बनाए जहाँ आफ्नो काम गर्दा अरुलाई दु:ख पनि नहोस्, कसैको भाग खोसेर लिएको अनुभूति न होस्। कसैसँग बेइमानी गर्न पनि नपरोस्, आफ्नो फाइदाका लागि अरुको नोक्सानी गर्न नपरोस्।

त्यसैले उनले आफ्ना पारिवारिक परम्परागत उद्योगधन्दा भन्दा सेवा उद्योगमा आफूलाई अघि बढाए। नर्भिक अस्पताल त्यही सोचको उपज थियो । बसन्तका अनुसार उनकी एकमात्र सन्तान मेघाको पनि स्वभाव आफूसँग मिल्ने भएकाले उनीमा पनि धेरै सम्पत्ति आर्जन गर्ने र साम्राज्य ठूलो बनाऔं भन्ने आकांक्षा भएन। यस अर्थमा बसन्तलाई साहित्यकर्मतर्फ बढी तल्लीन हुन सजिलो भएको थियो।

न त मैले गरिराखेको व्यवसायका लागि कसैलाई कुनै पनि प्रलोभन दिएर आफ्नो फाइदा लिनुपर्ने छ। म अन्य कुनै पनि शंकास्पद क्रियाकलापमा लागेको थिइन भने किन मेरो घर जल्यो मैले वास्तविकता बुझ्न सकेको छैन।

हुन पनि आफ्ना सन्तानमा व्यापारिक साम्राज्य बढाउने लालसा भएको भए बसन्तलाई त्यो सन्तुलन मिलाउन पक्कै पनि गाह्रो हुन्थ्यो होला। यस मानेमा उनी आफूलाई भाग्यशाली मान्छन्। तर, परिवारका अन्य सदस्यहरुले दिएको विदेशमा पनि व्यापार फैलाउने सल्लाह सुझावलाई अटेर गरेर आफ्नै जन्मभूमिमा लगानी बढाउँदै जानुपर्छ भन्ने बसन्तलाई आज आफ्नो यही मान्यता र सोच नै अभिशाप भैदिएको जस्तो पनि लागेको छ।

‘आज मैले जतिसुकै साहित्यकर्मको कुरा गरे पनि मेरो अघि तेर्सिएको मारवाडी भन्ने शब्दले मलाई पृथक हुन दिँदैन। यहाँ यस्तो भाष्य तयार भयो कि मारवाडी भनेको त केवल खाली नाफा कमाउन अरुलाई ठग्नलाई अरुको भाग खानलाई मात्र बनेका हुन्,’ उनी भन्छन्।

आफ्नो घरमा हमला हुनुलाई बसन्त चौधरी जो साहित्यलाई पुज्ने गर्छ साहित्यको साधक हो वा सीमित व्यवसाय गरेर समाजसेवाको काम गरिराखेको व्यक्तिमाथिको प्रहार नभई केवल कुनै समुदाय विशेषको भएकैले हमला भएको उनले महसुस गरेका छन्।

‘अन्यथा अरु कुनै कारण नै देख्दिन म। न म राजनीति गर्ने मान्छे हुँ। न म नेताहरुको घर घर चाहारेर हिँड्ने मान्छे हुँ। न त मैले गरिराखेको व्यवसायका लागि कसैलाई कुनै पनि प्रलोभन दिएर आफ्नो फाइदा लिनुपर्ने छ। म अन्य कुनै पनि शंकास्पद क्रियाकलापमा लागेको थिइन भने किन मेरो घर जल्यो मैले वास्तविकता बुझ्न सकेको छैन,’ उनी अझै पनि आफू ‘पजल’ मै छु भन्छन्।

श्रीमतीसहित बाहिर निकालिएँ, नजिककै ठूलो होटलमा रात बिताउन खोजेँ, त्यहाँ पनि हामीलाई प्रवेश दिइएन।

बसन्तलाई थाहा छ भदौ २४ मा उनको मात्र घर होइन, धेरै घर जल्यो, उद्योग कलकारखाना जले। शैक्षिक प्रतिष्ठान जले। तर, आफ्नो घर जल्नुलाई उनले विशुद्ध ‘लक्षित’ र मारवाडी पृष्ठभूमि कै कारण हो भन्नेमा दुई मत नभएको बताउँछन्।

‘टार्गेटेड नै हो। यो कुनै पनि हालतमा अनियन्त्रित भिड भएर क्षति पुग्यो भन्ने स्थिति होइन। हामीमाथि टार्गेटेड नै हो। ती सूचनाहरु राज्यसँग थिएन होला भन्ने म मान्दिन। राज्य स्वयं लाचार थियो सायद। मेरा पनि परिवारका कोही फौजमा वा प्रशासनमा भएका भए केही सुरक्षित हुने मौका पाउँथे होला तर त्यो बेला जब म यहाँबाट श्रीमतीसहित बाहिर निकालिएँ, नजिककै ठूलो होटलमा रात बिताउन खोजेँ, त्यहाँबाट पनि हामीलाई प्रवेश दिइएन,’ उनी बिचलित हुँदै त्यो दिन सम्झन्छन्।

एउटा व्यक्ति जोसँग अघिल्लो दिनसम्म मन्दिरजस्तो घर थियो। शान्तिपूर्ण रात बिताउने शयनकक्ष थियो। किताबहरुबीच अलमलिने बानी थियो। साँझमा परिवारसँग बिताउने गरेका सुन्दर पलहरु थिए। अचानक सबै क्षणभरमै खरानी भइदियो। लाचार बसन्तले त्यो रात पैसा तिरेर बास पाइने होटल खोज्दा पनि भेटेनन्।  

सान र स्वाभिमानका साथ आफ्ना सबै सोखहरु पूरा गर्न सक्ने व्यक्तिका लागि यो भन्दा ठूलो विडम्बना अरु के नै हुन सक्छ?

घर हेरेपछि उनी आफैं रित्तो भएको महसुस गर्छन्। उनी त्यो घरसँगै आफू पनि भग्नावशेषमा परिणत भएको बारम्बार दोहोर्‍याइरहन्छन्।

‘जे घटना भयो म यो भन्दिन त्यसमा बाह्य शक्तिको हात थियो/थिएन। अपराधीहरु त्यसमा मिसिएका थिए/थिएनन् तर जो जति थिए ती सबै असन्तुष्ट चाहिँ थिए। उनीहरुको राज्यसँग असन्तुष्टि थियो। उनीहरु राज्य व्यवस्थासँग असन्तुष्ट थिए। राज्य प्रणालीसँग असन्तुष्ट थिए। उनीहरु सम्पन्नसँग असन्तुष्ट थिए। यो देशको अर्थतन्त्र बिगार्ने वर्ग नै मारवाडीहरु हुन् भन्ने न्यारेटिभ तयार पार्ने समूहले लामो समयदेखि गरेको गृहकार्यको फल हो,’ उनले भने।

त्यो दिन त्यो बेला हरेक व्यक्ति हरेक संस्था खाली आफू कसरी सुरक्षित हुने बाहेक अरु केही नसोच्ने अवस्थामा पुगेका थिए। अरु पनि छन् भनेर सोच्ने अरुप्रति पनि आफ्नो कर्तव्य दायित्व छ र अरुका निम्ति पनि उद्देश्य भइदिएको भए थोरै अरुका निम्ति पनि कोही चिन्तित भैदिएको भए यस्तो अवस्था भोग्नु पर्ने पो थिएन की!

‘चाहे त्यो ठूला ओहदामा बसेका हुन् चाहे सामान्य व्यक्ति हुन्। त्यस दिन सबैले ‘म’ मात्रै भने। ‘हामी’ भन्ने कोही पनि थिएन । दुर्भाग्य जब कुनै पनि मुलुकमा ‘हामी’ भन्ने कुराको शेष रहँदैन त्यो जंगलराज हुन पुग्छ,’ उनले आफ्नो बुझाइ सुनाए।

बसन्तका अनुसार भदौ २४ मा त्यही भएको थियो। उनी भन्छन्, ‘दुर्घटना हुन्छ कहिलेकाहीँ लापरवाहीले कहिले बाह्य कारणले दुर्घटना हुन्छ। त्यस्तो बेला हरेक नागरिकले राज्यको उपस्थिति अपेक्षा गर्छ। त्यो ३६ घण्टा राज्य कतै उपस्थित थिएन। सारा नागरिक प्रतिका दायित्वहरु राज्यले पूरा गर्नुपर्ने अवस्थामा त्यो आफैं भष्म भइसकेको थियो।‘

यसरी जल्नुमा मेरो के दोष थियो?

बसन्त पत्याउन तयार छैनन् भदौ २४ मा उनको घर कुनै ‘जेन जी’ युवाहरुको समूहले जलाएको थियो। उनी भदौ २३ को दिन भएको प्रदर्शनलाई आन्दोलन, क्रान्ति वा प्रतिक्रान्ति भनेर मान्दैनन्। मध्यान्हपछि जसरी त्यसको स्वरुप परिवर्तन भयो त्यो कुनै क्रान्ति नभई नाटक मञ्चन भएजस्तो लाग्छ। उनले ‘जेन जी’को पनि मनोदशा आकलन गरेका छन्-‘यो सबै त ती प्रदर्शनकारी स्वयंका लागि पनि अप्रत्यासित नै थियो।’

उनको मुटुभित्र एउटा बोझ जसरी बसेको छ त्यस दिन जेन जी आन्दोलनको नाममा उनको घर जलेको घटना। उनी भनिरहेका छन् यो कुनै ग्राण्ड डिजाइन थियो तर अवोध युवाहरुलाई ठूलो अवगालको भारी बोकाइयो।

‘कठपुतलीको नाच हेर्दा नेपथ्यमा बसेर कसले औँला चलाइरहेका हुन्छन्, नचाइरहेका हुन्छन्,  हामीलाई थाहै हुन्न। अगाडि कसले अभिनय गरिरहेछ। को नाचिरहेछ त्यो मात्र देख्छौँ। २३ को मध्यान्ह अघिको अवस्था यो विध्वंस ल्याउने स्थिति पैदा गर्न मञ्चन गरिएको हो भन्ने त्यसमा भाग लिने कलाकारलाई पनि थाहा थिएन। यो ठूलो ग्राण्ड डिजाइनको पार्ट हो भन्ने मध्यान्हपछिको सिन र भोलिपल्ट देखिएको राज्यविहीनताको अवस्थाले पुष्टि गर्छ,’ उनले भने।

चाहे त्यो ठूला ओहदामा बसेका हुन् चाहे सामान्य व्यक्ति हुन्। त्यस दिन सबैले ‘म’ मात्रै भने। ‘हामी’ भन्ने कोही पनि थिएन । दुर्भाग्य जब कुनै पनि मुलुकमा ‘हामी’ भन्ने कुराको शेष रहँदैन त्यो जंगलराज हुन पुग्छ।

घर जलाइएको दिन त्यहाँ उभिएका अपराधकर्ममा संलग्नहरुको बोली, व्यवहार र गतिविधि उनको दिमागमा रिल झैं घुमिरहेको छ।

विशेषज्ञहरुका असार यो घरमा तीन तलामाथिको छतको समेत स्ट्रक्चरल ड्यामेज हुने गरी आगजनी र विस्फोट भएको छ। घरको कुनै पनि हिस्सा काम लाग्ने छैन। खण्डहर मात्र बाँकी छ। तीन महिनामा घरभित्रका खरानी र भग्नावशेषहरु हटाएर भित्र पस्न सक्ने बनाइयो। त्यसमा बसन्तकी जीवनसंगिनी हर दिन खटिइन्। खरानीको थुप्रो उनैले उठाइन्। फुटालिएका गमलाहरु आफ्नै हातले समेटिन्। तर बसन्तको भने हिम्मत नै भएन फर्किएर यस घरमा आउन। तीन महिनामा पहिलोपटक आएकाले पनि होला उनी सम्हालिनै सकेनन्। यस घरमा बसुन्जेल उनका आँखा रसाइरहे।

भक्कानिँदै उनले भने, ‘आजपनि एउटा छतमुनि त बसेको छु। बाँचेकै छौं। तर बाँच्नु र जिउनुमा धेरै फरक हुँदोरहेछ। घर भनेको इँटा, सिमेन्ट, छडबाट मात्र बन्दो रहेनछ। घर वास्तवमा सिंगारिने भनेको त हरेक पल त्यहाँ बिताएको समयका यादहरुले रहेछ। नाति नातिनाहरु कुद्दै गरेको पदचाप र आपसमा झगडा गरेका, ठूला स्वरले चिच्याएका रोएका, ती दृश्यहरुले घर सजिँदो रहेछ। श्रीमतीले भान्छामा खाना पकाउँदा त्यहाँबाट निस्कने बास्नाले घर बन्दोरहेछ।’

डढेर कालो भएको अँध्यारो कोठाभित्र लगेर उनले देखाए र भने ‘यहाँनिर थियो लाइब्रेरी!’ कण्ठस्त छ उनलाई २४ सय ७२ वटा किताब! झल्झली सम्झिइरहेछन् किताबले भरिएका र्‍याकहरु! उभिएर पर पुग्छन् जहाँ उनका मातापिताको ठूलो फोटो झुण्डाइने गरेको भित्ता छ। कालो धुँवाले रगमगिएको त्यो भित्तातर्फ फर्किएर उनी निःशब्द उभिइरहे।

‘हरेक दिन बिहान घरबाट निस्कँदा त्यो तस्वीरमा ढोगेर मात्र म बाहिरिन्थें। भित्र पस्दा त्यही तस्वीरमा फेरि ढोगेर बस्थेँ। दैनिकी नै थियो त्यो मेरो। लाग्थ्यो मातापिताको आशिर्वाद र ऊर्जाको बास छ यहाँ।

उनी चारैतिर हेर्छन् र भन्छन् – ‘आज मलाई यी भित्ताले, यी पिलरले, यी बिमले प्रश्न गरिरहेको जस्तो लाग्छ। यसरी जल्नुमा मेरो के दोष थियो?’

बसन्तलाई घर जल्नु, त्यसभित्रका २४ सय किताब  जल्नु, १६ वर्षको उमेरदेखि बिताएको समयको एक एक स्मृतिहरु खोसिनु सबैले टुटाएको छ। छत नहुनु भन्दा पनि छतमुनि आफूसँग जोडिएर बसेका दशकौंदेखिका सम्झनाहरुको शेष पनि बाँकी नहुनुले मानिसलाई सबैभन्दा बढी टुटाउँदो रहेछ।

‘घर जल्यो घर नयाँ बन्ला तर पितामाताको पसिनाले बनेको त्यही घर कहाँ पाउनु! मेरो पुस्तकालय फेरि बन्दैन। मेरा डायरीहरु अब फेरि लेखिँदैनन्। यस घटनाले मलाई भित्रैबाट रित्याएको छ। मलाई त मैले देखेको सपनाको संसार नै उजाड भएजस्तो लाग्छ। मसँग केही पनि बाँकी छैन, मुहानै सुकेर गएको अनुभूति भएको छ। यो घरभित्रको निस्सासिएको कालोपन मनमा छाप बनेर बसेको छ। धुन गाह्रो हुन्छ जस्तो लाग्छ, यो जीवनमा चाहिँ यो कालो दाग। साँच्चै नै उज्यालो हुन त गाह्रै हुन्छ,’ उनले भने।

समय अझ बढी कठिन हुने वाला छ

बसन्त राजनीतिबाट टाढा थिए। उद्यम व्यवसायमा पनि लो प्रोफाइलमा बसेर काम गर्थे। साहित्यमा सधैं राष्ट्रप्रेमको कुरा गर्ने उनी अधिक सकारात्मकताले पनि आफूलाई हानि गरे जस्तो महसुस गर्छन्।

यतिबेला उनी समाजमा व्याप्त जातियता र समुदायलक्षित घृणा र द्वेष फैलाउने तत्वहरुबाट सबैभन्दा बढी चिन्तित छन्। उनी यसको समाधान के हो भन्ने प्रश्न चिन्ह बोकेर आफू घोत्लिरहेको बताउँछन्।

समाजमा ठूलो विभेद छ भन्नेमा उनी प्रष्ट छन्।  हुनेहरु झन झन हुने भएर गएको अनि नहुनेहरु झन् झन् रित्तिदै गएकाले त्यो बीचको खाडल बढ्दै गएको उनले देखिरहेका छन्। यो समाधानको उपाय के त?

उनी जबसम्म मध्यम वर्गको बलियो उपस्थिति हुँदैन तबसम्म समाजमा प्रेसर ग्रुपको भूमिकामा रहने वर्ग बन्न सक्दैन भन्छन्। फोहोरी राजनीतिले देशलाई स्वच्छतातर्फ लाग्न नदिएको उनलाई लागेको छ।

‘मेरो भाग्यमा यही पर्‍यो, मैले भोग्नुपर्‍यो। अब यस्तो अवस्था कसैलाई नपरोस्। जस्तोसुकै दुश्मनलाई पनि यस्तो स्थितिबाट गुज्रन नपरोस्।’

‘मिडिल क्लास भनेका पढालेखेका आफ्नो कर्म गरेर आफ्नो लागि कमाउने इन्डिपेन्डेन्ट क्लास हो जसले प्रेसर ग्रुपको रुपमा काम गरेको हुन्छ । जबसम्म मिडिल क्लासले त्यो सबै ग्यापलाई सिल गर्दैन, तबसम्म त्यो राष्ट्रमा कुनै कानुनले कुनै व्यवस्थाले काम गर्दैन। हरेक राष्ट्रमा मिडिल क्लासको भूमिका प्रेसर ग्रुपको रुपमा रहने हो। दुर्भाग्य हामीकहाँ त्यो मिडिल क्लासको सेगमेन्ट नै तयार हुन सकेन। जो अलि बुझ्ने खालका  थिए अब यहाँ केही हुन सक्दैन भन्दै विदेशिए। प्रोफेसनल्स पढेलेखेका जानेका बुझेका परिवारहरु सायद बाहिर नगइदिएर यहाँको राजनीतिक निकासको बाटो खोज्न हामी सबै मिलेर लागेको भए केही परिवर्तन राजनीतिमा देखापर्थ्यो र त्यसको छाया समाजमा पनि देखापर्थ्यो,’ उनी भन्छन्।

भदौ २४ राष्ट्रमा राज्यको उपस्थिति नहुँदा के सम्म हुन्छ भन्ने कुराको झलक मात्र हो। बसन्तलाई लागेको छ – देश समयमै सम्हाल्न सकिएन भने अबका दिनहरु अझ खराब हुनेछन्। त्यसपछिको समय अझ बढी कठिन हुनेवाला छ।

उनले ठोकुवा गरे-‘देश फेरि पुरानै अवस्थामा फर्कियो भने यो देशमा सिभिल वार हुनबाट कसैले रोक्न सक्दैन।’

युवा पुस्ताप्रति असाध्यै विश्वास राख्ने बसन्त जेन जी पुस्तालाई भ्रमित नहुन र देश बलियो बनाउनतर्फ लाग्न आग्रह गर्छन्।

‘म अहिले पनि यही भन्छु जेनजी पुस्ता र युवाहरुको कार्यशैलीका बारेमा जसले जतिसुकै टिका टिप्पणी गरेपनि भदौ २४ को अपराध कर्ममा उनीहरु संलग्न थिए भन्ने म मान्दिन। यो मुलुक उनीहरुले नै बनाउनुपर्छ। यो पुस्ताले जुनसुकै हालतमा पनि अब निर्वाचन गराएर मुलुकलाई नयाँ निकास दिने बाटो तय गर्नैपर्छ।’

बसन्त अबको दिनहरुमा कुनै पनि नयाँ व्यापार व्यवसायमा आफू संलग्न नहुने बताउँछन्। छोरी मेघाले अघि बढाइरहेको बृहत् क्यान्सर अस्पतालले पूर्णता पाओस् उनले चाहेको यति हो। बाँकी समय कसरी अघि बढाउने उनले केही सोचिसकेका छैनन्। तर उनी नेपाल छोडेर कतै नजानेमा भने अडिग छन्।

‘म चाहेर पनि नचाहेर पनि यो देश छोडेर कतै जान सक्दिन। मेरो नियतिमा मैले त्यही नै लेखाएर ल्याएको छु। जसरी मेरा पिताजीले यही देशमा संघर्ष गरेर हामीलाई आज यो स्थितिमा पुर्‍याउनुभयो अब म सोच्नै सक्दिन कि म नेपाललाई चटक्क छोडेर सुरक्षित हुन बाहिर कतै जाऔं। त्यो मेरो कल्पनामै छैन।’

खण्डहरमा बदलिएको पैतृक घरलाई भने विस्तारै आकार दिएर बुवामुवाको सम्झनाको रुपमा म्युजियम बनाएर राखौं जस्तो बसन्तलाई लागेको छ। यस घरका प्रत्येक हिस्सामा उनले यति धेरै स्मृतिहरु बाँचेका छन्, जसलाई न उनी बिर्सिएर चटक्कै मेटाइदिन सक्छन्, न त त्यो स्मृति फेरि उस्तैगरी फिर्ता पाउन नै सक्छन्।

बसन्तको जीवनमा संवेदनशीलताको हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो क्षति सायद यही नै होला!

रित्तो घरबाट बाहिरिनुअघि भग्नावशेषमाथि उभिएर उनले प्रार्थना गरे- ‘मेरो भाग्यमा यही पर्‍यो, मैले भोग्नुपर्‍यो। अब यस्तो अवस्था कसैलाई नपरोस्। जस्तोसुकै दुश्मनलाई पनि यस्तो स्थितिबाट गुज्रन नपरोस्।’