काठमाडौं। एनसेलको सेल्फ-सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोडभन्दा बढी पटक डाउनलोड गरिएको छ। योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक बनेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ।
‘एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक विक्रेताकोमा नगई सजिलै विभिन्न सेवाहरू लिन सक्छन्। साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवाहरू उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकहरूको पहिलो रोजाइ बनेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ। यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन्।
पहिलो पटक एप डाउनलोड गरी लग-इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुनेछन्।
‘ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवर्धन गर्दै आएको छ। यो उपलब्धि केवल एउटा संख्या होइन, यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ,’ एनसेलका चिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने।
एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको कम्पनीले बताएको छ। यसले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहज रूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ।










