एक महिनाअघि मात्रै नेपाली टेक कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकी सेयर बजारमा सूचीकृत भएसँगै नेपाली उद्यमीहरूमा नयाँ उत्साह संचार भयो। प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको नेपालको टेक सेक्टरका लागि यो सफलताले अन्य नेपाली टेक कम्पनीहरूलाई पनि अन्तर्राष्ट्रिय पहिचान र बजार बनाउन सक्ने ठूलो संभावनाको ढोका खोलिदिएको थियो।
लण्डनमा मुख्यालय रहेको अर्को नेपाली टेक कम्पनी जेनेस सोलुसन्सका संस्थापक तथा सीइओ अन्जनी फुयाल फ्युजमेसिन्सले अन्तर्राष्ट्रिय स्तरमा पाएको ख्यातीमा गर्व गर्छन्। उनका लागि फ्युजमेसिन्सले पाएको यो सफलता नेपाली टेक कम्पनीहरूका लागि पहिलो खुड्किला हो। उत्साहले भरिएको स्वरमा उनले भने- ‘प्रविधिको क्षेत्रकै विकासबाट नेपालको समृद्धि संभव छ। यो केवल जर्नीको सुरुवात हो। नेपाली ओरिजिन भएको व्यक्तिले आफ्नो क्षमताको आधारमा कम्पनी खडा गर्न सक्छ र विश्वकै ठूलो बजारमा लिस्टिङ हुन सक्छ भनेर वहाँहरूले हामीलाई सम्भावना छ है भनेर देखाइदिनुभयो।‘
लण्डनमा बसेर जेनेसलाई बिलियन डलरको कम्पनी बनाउने महत्त्वाकांक्षाका साथ अन्जनीको कम्पनीले पनि प्रविधिकै क्षेत्रमा काम गर्दै आएको छ।
फ्युजमेसिन्सले पाएको सफलतामा उनी उत्साहित हुनुको कारण के पनि छ भने उनको कम्पनीले हाल नेपाल बाहेक विभिन्न १० देशका सयौं कम्पनीहरूसँग काम गरिरहेको छ। उनी अबको १० वर्षमा जेनेसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित कम्पनी बनाउन चाहन्छन्। फ्युजमेसिन्सको सफलताले उनको महत्त्वाकांक्षालाई अझै तीव्र बनाइदिएको छ।
उनी भन्छन्- ‘मानिसले सपना देख्छ। देख्नुपनि पर्छ। तर सपना देख्नका लागि भन्दा सपना देखाउन सक्नेगरी काम गर्नेहरूबाटै हामीलाई उर्जा मिल्छ। फ्युजमेसिन्सले त्यही सपना नेपाल र नेपालीलाई देखाउन सक्नुभएको छ। त्यसमा हामीले गर्व गर्नुपर्छ। यो एउटा उदाहरण हो पनि हो जसले नेपालकै युवा जनशक्तिलाई प्रयोग गरी विश्वका ठूला कम्पनीहरूलाई सेवा दिइरहेको छ।’
अन्जनीले आफ्नो ल्यापटपबाटै जेनेसको सुरुवात गरेका हुन्। त्यो पनि सोखका रुपमा। नेपाल इन्जिनियरिङ कलेजबाट ब्याचलर सकेपछि अन्जनीले कम्युटर एण्ड नेटवर्क सेक्युरिटीमा बेलायतमा मास्टर्स गरे। त्यहाँ पढाइका दौरान साथीभाइका प्रविधिजन्य समस्याहरूको समाधान गर्दा गर्दै उनको ब्रेन चाइल्डका रुपमा जन्मिएको थियो जेनेस।
काम त उनले सन् २०१३ मै थालिसकेका थिए। तर, २०१८ देखि औपचारिक सुरुवात भएको कम्पनीले पहिलो शाखा नेपालमा खोल्यो। हाल जेनेसले अमेरिका र बेलायतका बैंकहरू, युरोपका इन्स्योरेन्स कम्पनीहरू, सिंगापुर र अफ्रिकाका विभिन्न कम्पनीहरूलाई अमेजन, माइक्रोसफ्ट, गुगल जस्ता कम्पनीका क्लाउड टेक्नोलोजीमा आबद्धता र त्यसलाई लागू गर्नका लागि आवश्यक परामर्श सेवा दिँदै आएको अन्जनीले बताए। कम्पनीको प्रमुख डेटा सेन्टर काठमाडौंमा रहेको छ। जेनेसले मुख्य रुपमा आउटसोर्सिङको काम गरिरहेको उनको भनाइ छ।
‘हाम्रो जनशक्तिले नेपालमा बसेर मात्र होइन भारत, बंगलादेश, नाइजेरिया गएर समेत ग्लोबल कन्सल्टेन्ट बनेर काम गरिरहेका छन् जुन एन्टी प्याटर्न हो। अहिलेसम्म हामीले बाहिरबाट कन्सल्ट्यान्ट ल्याएर काम गरिरहेका थियौं। तर, अब हामी यहीँ बसेर बाहिरी देशहरूलाई यो सेवा दिइरहेका छौं। भलै यो संख्या आज सानो छ। तर, आज हामी थोरै संख्याबाट सय, हजार र हजारौं बनाउन सक्यौँ भने देशले समृद्धि टेक सेक्टरबाटै हासिल गर्छ,’ उनले भने।
+++
कोरोना महामारीका बेला लकडाउनको समयमा जुनसुकै क्षेत्रको संचालनका लागि पनि जुम प्रविधि विश्व भरनै महत्त्वपूर्ण सावित भएको थियो। नेपालमा पनि जुमबाटै समग्र कर्पोरेट सेक्टर तथा शैक्षिक क्षेत्रका गतिविधि निर्वाध संचालन भएको थियो। जुमबाटै धेरै संघसंस्थाले आफ्नो काम संचालन गरेका थिए। त्यो बेला आधिकारिक रुपमा जुम प्रविधि नेपालमा भित्र्याउने काम जेनेसले गरेको अन्जनीले जानकारी दिए। जेनेसले नै अमेजनको क्लाउड नेपालमा ल्याएको हो।
अबको १० वर्षमा उनी जेनेसलाई पनि अन्तर्राष्ट्रिय स्तरमा स्थापित कम्पनी बनाउन चाहन्छन्। फ्युजमेसिन्सको सफलताले उनको महत्त्वाकांक्षालाई अझै तीव्र बनाइदिएको छ।

उनी भन्छन्- ‘इन्नोभेसन सँधै नयाँ हुँदैन। कोरोना महामारीमा नेपाल चलायमान जुमले बनायो। चलेका राम्रो मेकानिज्मलाई कपी गरेर लोकलाइज्ड गरी मोडिफाइ गरी काम गर्ने हो। हामीले आउटसोर्सिङको ग्लोबल ट्रेन्डलाई ल्याएर यहाँ काम गरिरहेका हौं।’
जेनेसले हाल ४ किसिमका सेवाहरु दिइरहेको अन्जनी बताउँछन्। उनका अनुसार जेनेसले टिपिकल सर्भिसमा भन्दा एडभान्स लेभलका टेक्नोलोजीहरू जस्तै क्लाउड टेक्नोलोजी, डेटा इन्जिनियरिङ, एआई, साइबर सेक्युरिटी, क्वान्टम कम्प्युटिङका टेक्नोलोजीमा कन्सल्टिङ सर्भिस दिइरहेको छ।
उनका अनुसार नेपाल बंगलादेश नाइजेरिया जस्ता देशहरूमा टेक्नोलोजी खरिदकै समस्या छ। यस्ता देशहरूका लागि प्रविधि ल्याएसँगै त्यो चलाउन सक्ने दक्षता दिने र प्रविधिको इम्प्लिमेन्टेसनका लागि कम्पनीमा कार्यरत जनशक्तिलाई चाहिने सीप शिक्षा र सपोर्ट पनि जेनेसले दिने गरेको उनले जानकारी दिए।
यस्तै, प्रविधिको सुरक्षाका लागि आवश्यक पर्ने सबै क्याटेगोरीका सेवा कम्पनीले दिने गरेको उनले जानकारी दिए।
उनी भन्छन् – ‘हामीले विभिन्न बैंकहरूको टेक्निकल इन्फ्रास्टक्चर के छ, उनीहरूको ग्लोबल फ्रेमवर्क अनुसार कहाँ पुग्नुपर्ने हो। त्यहाँ पुग्नका लागि के-के क्याप छ, रोडम्याप र स्ट्राटेजी चाहिन्छ त्यो सबै बनाउने काम हामी गरिरहेका छौं। बिग फोरका कन्सल्टिङ एक्सपर्टिजहरूले गर्ने काम हामीले गरिरहेका छौं।’
‘अहिलेसम्म हामीले बाहिरबाट कन्सल्ट्यान्ट ल्याएर काम गरिरहेका थियौं। तर, अब हामी यहीँ बसेर बाहिरी देशहरूलाई यो सेवा दिइरहेका छौं’

अन्जनीको भनाइ सापटी लिने हो भने यही कामका लागि विदेशी कन्सल्टिङ एक्सपर्टले सयौं डलर सेवा शुल्क लिने गर्छन्। तर, उनीहरू स्थानीय जनशक्ति लिएर काम गर्दा त्यही गुणस्तरको सेवा सस्तोमा दिइरहेका छन्।
त्यसैले नेपालमा प्रविधि सेक्टरतर्फको सर्भिस सस्तो छ भनेर आउने भन्दा पनि एडभान्स लेभलको जनशक्ति र सेवा छ भनेर आउन् भन्ने गरीको बन्ने प्रयासमा लागेको अन्जनी बताउँछन्।
एउटा ल्यापटपबाट सुरु भएको कम्पनीले अहिले १० वटा देशमा विस्तार भइसकेको छ। कन्सल्टिङ कम्पनीका रुपमा ल्यापटपबाट सुरु गरेको यो कम्पनीले ५० लाखको पुँजी राखेर नेपालमा काम सुरु गर्यो। बिजनेस अक्सिजन जेनेसको लोकल इक्विटी पार्टनर हो।
अहिले ग्लोबल्ली यो संस्थाले १० मिलियन डलरको हाराहारीमा कारोबार गर्छ। वार्षिक रुपमा यसले १०० मिलियन डलर को कारोबार गर्ने कम्पनीका रुपमा बनाउने उनको टार्गेट हो। त्यसका लागि उनले आगामी १० वर्ष म्याद राखेका छन्।
‘हामीले पुल फ्याक्टर क्रियट गरिसकेका छौं। साइज बढाउने सपना ठूलै देख्नुपर्छ भनेर लक्ष्य राखेका हौं। बाटो खुलिसकेको छ। अहिले १० देशमा काम गरिरहेका छौं। १०० देशमा जाने सम्भावना देखेको छु,’ उनले भने।
अन्जनीको भनाइ सापटी लिने हो भने यही कामका लागि विदेशी कन्सल्टिङ एक्सपर्टले सयौं डलर सेवा शुल्क लिने गर्छन्। तर, उनीहरू स्थानीय जनशक्ति लिएर काम गर्दा त्यही गुणस्तरको सेवा सस्तोमा दिइरहेका छन्।

हाल उनले अफ्रिकाका देशहरू तथा ओमानका ठूला कम्पनीहरूसँग सहकार्यका लागि छलफल अघि बढाएका छन्। मध्यपूर्वका देशहरूमा पनि व्यापार विस्तार भइरहेको उनले बताए।
+++
मुलपानीको किसान परिवारमा जन्मिएका अन्जनी बालखैमा उद्यमी बनेका हुन् भन्दा फरक पर्दैन। उनी जम्मा ७ कक्षामा पढ्थे जतिबेला उनले उद्यमशीलताको पहिलो पाठ पढे। बुवा कृष्णप्रसाद फुयाल टाइफाइड भएर थलिएपछि उनी घरमा उत्पादन भएको कुखुराको अण्डा बेच्न आफैँ बजार जान थाले। बुवा धान, मकै, आलु, अण्डा सबै उत्पादन गर्दै बेच्ने गर्थे। उनीहरूको किराना दोकान पनि थियो। खासमा भन्दा अन्जनीलाई उनकै बुवाले नै उद्यमशीलता सिकाए।
१० कक्षासम्म उनी घरको उत्पादन बेच्न बजार जान्थे। ११/१२ कक्षा पढ्दा त उनले बुवाको पसलको शाखा जस्तो छुट्टै आउटलेट खोलेर चलाउन थालिसकेका थिए। गाउँमा उनीहरूको पसल ‘होससेल’का नामले चर्चित थियो। उनीहरू धेरै परिमाणमा सामान ल्याउँथे अनि गाउँमा सस्तोमा बेच्ने गर्थे।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट पढ्दा समेत उनले किराना दोकान छोडेनन्। नेपालमा इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढेका उनले लण्डन गएर कम्प्युटर र नेटवर्क सेक्युरिटी पढेका हुन्।
एउटा ल्यापटपबाट सुरु भएको कम्पनीले अहिले १० वटा देशमा विस्तार भइसकेको छ।

अन्जनीलाई बुवाले सानैदेखि सिकाउने गर्थे- ‘हामी सबै रित्तै आएका हौं जाने पनि रित्तै हो। कमाएको यहीँ दिएर जानुपर्छ। खासमा दिगो विकास र उद्यमशीलताले मात्र देशलाई अघि लैजान्छ।’
बुवाको भनाइलाई आदर्श बनाएका अन्जनी आफ्नो कामलाई दिगो बनाउन चाहन्छन्। उनी सेलिब्रेटी आन्टरप्रेन्योरसिपमा विश्वास गर्दैनन् र प्रवर्धन गर्न पनि चाहँदैनन्।
उनी भन्छन्- ‘सबै मानिस उद्यमी बन्न पनि सक्दैनन्। उद्यमी बन्न नसकेकालाई ‘यो लाछी रैछ’ भन्ने पनि छन्। तर, त्यो गलत हो। सबै त उद्यमी बन्न सक्दै सक्दैनन्, सक्नेले रोजगारी सिर्जना गरिदिने हो जो अरुका लागि काम लाग्छ।’
उनका अनुसार रोजगारी, प्रविधि र उद्यमको सही संगमले मात्र देशलाई समृद्धितर्फ अघि बढाउँछ।
उनले मनकामना स्कुलबाट २०५७ सालमा एलएलसी सके। प्लस टु न्यू समिटबाट पास गरे। सन् २००३ मा जतिबेला उनले दुवाकोटमा पढाइ सुरु गरे। इन्जिनियरिङ कलेज जाँदा उनी मनोहरा खोला तरेरै पारी जान्थें। त्यतिबेला खोलामा पुल थिएन। बसमा जाँदा पुरै काठमाडौं घुमेर जानुभन्दा मुलपानी चौरबाट खेतैखेत खोलामा गएर पारी दुवाकोटको फाँट निस्कँदा उनी चाँडै पुग्थे। त्यसैले झोलामा किताब बाहेक फेर्ने लुगा र टावेल बोकेरै उनी खोला तरेर दुवाकोटको नेपाल इन्जिनियरिङ कलेज पुग्थे। उनले पढिसक्दा पुल पनि बन्यो अनि त्यही पुलको बाटो उनी बहिनी सरर स्कुटर चढेर दाजु पढेकै कलेज गइन्।
‘सबै मानिस उद्यमी बन्न पनि सक्दैनन्। बन्न नसकेकालाई ‘यो लाछी रैछ’ भन्ने पनि छन्। तर, त्यो गलत हो। सबै त उद्यमी बन्न सक्दै सक्दैनन्, सक्नेले रोजगारी सिर्जना गरिदिने हो जो अरुका लागि काम लाग्छ।’

यही अनुभवले पनि उनलाई पूर्वाधार र प्रविधि जीवन सहज बनाउन कति महत्त्वपूर्ण रहेछ भनेर बुझाउन सक्यो।
+++
अन्जनीका अनुसार प्रविधि क्षेत्रका गहिरा समस्याहरू छन् जसलाई समाधान गर्नुपर्ने छ।
‘जेन जी आन्दोलनका क्रममा देशका ठूला भवन र संरचनाहरूमा आगो लाग्यो। धेरै कार्यालयहरूमा आगलागीले हार्ड डिस्क गयो। कति चोरी भयो अनि सबै काम ठप्प। सही प्रविधि र पद्धति प्रयोग गर्न सकेको भए डेटाहरू जोगिन्थ्यो। भोलिपल्टै देखि काम सुरु हुन सक्थ्यो। देशमा आन्दोलन गर्दा पनि कन्स्ट्रक्टिभ बन्नुपर्यो। प्रविधिका क्षेत्रमा भएका गहिरा समस्याहरू छन् त्यसलाई पत्ता लगाउनतर्फ लागम् न!’ उनले भने, ‘विश्वका २०० देशमध्ये १८० देशले प्रयोग गरिरहेको प्रविधि प्रयोग गर्न हामी किन झस्किन्छौं मैले बुझेको छैन।’
काम गर्ने क्रममा अन्जनीले दुई वर्गका सरकारी कर्मचारीहरू भेटेको बताए। ‘एउटा वर्ग पैसा जहाँबाट तान्न सकिन्छ त्यो काम मात्र गर्न खोज्ने। अर्को वर्ग जो फसिन्छ भनेर केही काम नगर्ने। राम्रो काम गर्न पनि डराउने,’ उनले भने।
नीति निर्माताहरूमा पनि उनी समस्या देखिरहेका छन्। पोलिसी मेकरले कुनै पनि प्राइभेट संस्थाको प्रभावमा उनीहरूको फेवरमा नभई ग्लोबल फ्रेमवर्कमा बसेर काम गर्नुपर्ने उनको सुझाव छ।
इन्जिनियरिङ पढ्दा मात्र कम्प्युटर चलाउन सिकेका अन्जनी यतिबेला बेलायतमा प्लेन उडाउन समेत सिकिरहेका छन्।

इन्जिनियरिङ पढ्दा मात्र कम्प्युटर चलाउन सिकेका अन्जनी यतिबेला बेलायतमा प्लेन उडाउन समेत सिकिरहेका छन्। प्राइभेट पाइलट लाइसेन्सको तयारी गरिरहेका अन्जनी युवा पुस्ताले सबै कुरा सर्टकटमा चाहने स्वभाव त्याग्नुपर्ने बताउँछन्।
उनी भन्छन्, ‘खोला तरेर कलेज गाको व्यक्ति विश्वको टप एम्बेसडसरको टाइटल लिन सकें यो मेरो सफलता हो तर त्यसका लागि मेहनत चाहिन्छ। म त इन्जनिनियरिङ पढ्न थालेपछि मात्र मैले कम्यप्युटर चलाएको मान्छे। तर सफल हुन मेहनत गर्नैपर्छ। विकसित हुन खोजिरहेको देशको जनता अन्य देशले भन्दा हामीले ३ गुना बढी मेहनत गर्नुपर्छ।’
हाल जेनेसले नेपालमा प्रत्यक्ष रुपमा एकसय युवालाई पूर्ण रोजगारी दिएको छ भने पार्ट टाइम २ सय युवा काम गरिरहेका छन्। ग्लोबल्ली यसका ३ सय भन्दा बढी कर्मचारी छन्। अमेरिका, अष्ट्रेलिया, नाइजेरिया जस्ता देशमा बसेर जेनेसका कर्मचारीले विश्वभरका विभिन्न कम्पनीहरूलाई प्रविधिमा सपोर्ट, कन्सल्टिङ, इम्प्लिमेन्टेसन तथा एक्सपर्टिज बिल्डिङको काम गरिरहेको उनले जानकारी दिए।
‘नेपाली कांग्रेसका नेता गगन थापाले कीर्तिपुरको डाँडामा बसेर नै युवाले लाखौं कमाउन सक्छन् भन्दा त्यो पोलिटिकल एजेन्डा बन्यो। तर, यो सम्भावना मैले त धेरै अघि देखेको हो। यो सम्भव पनि छ,’ अन्जनीका अनुसार उनले सन् २०१३ मै लण्डनमा बसेर पोखराको चिप्लेढुंगामा कार्यालय खोली १२ युवाहरूलाई काम सिकाएर जब दिइसकेका थिए।
‘गगन थापाले कीर्तिपुरको डाँडामा बसेर नै युवाले लाखौं कमाउन सक्छन् भन्दा त्यो पोलिटिकल एजेन्डा बन्यो। तर, यो सम्भावना मैले त धेरै अघि देखेको हो। यो सम्भव पनि छ।’

‘आउटसोर्सिङका रुपमा १२, १५ जना भाइ बहिनीलाई सिकाएर काम दिएको हो। त्यही अहिले विश्वभर छरिएर ३ सय भन्दा बढी भएका छन्। डाँडामा बसेर कमाउने त वास्तविकता नै हो। अहिले पनि मुस्ताङको डाँडामा बसेर वा बाग्लुङको कुनै गाउँमा बसेर मेरा भाइबहिनीहरू कमाइरहेका छन्। यहाँ दाङमा बसेर अमेरिकाको बैंकका लागि काम गरिरहेका छन्। कोही नेपालगंजमा बसेर नाइजेरियाका लागि काम गरिरहेका छन्,’ उनले भने।
अन्जनीका अनुसार देशमा राइट मान्छे राइट प्लेसमै पुग्न सकेन।
भारतमा सिलिकन भ्यालीका सबै कम्पनीहरू आएका छन्। त्यहाँका युवाले त्यो कम्पनीले लोकल लेभलमा मजाले रोजगारी सिर्जना गरिदिएको छ। त्यो नेपालमा हुन सकेको छैन।
हामी २०० जनालाई मोटामोटी रोजगारी दिँदा पनि बिग टेक कम्पनी भन्न परेको छ के त्यो खुशी हुने अवस्था हो। हामी त यहाँका २ हजारलाई २० हजारलाई रोजगारी दिन चाहिरहेका छौं। ती ठूला कम्पनीहरुलाई नेपालमा ल्याउने वातावरण कहिले बन्छ?
‘समृद्धिको एकमात्र बिकल्प टेक्नोलोजिकल जब नै हो। यो रेलको अन्तिम डब्बा हो यसलाई पनि हामीले चढ्न छुटायौं भने हामी थप ३० वर्ष पछि धकेलिन्छौं।’

उनी सरकारले त्यस्ता अन्तर्राष्ट्रिय टेक कम्पनीहरूलाई देशमा लिएर आउने वातावरण बनाउन पहल गर्नुपर्छ भन्छन्।
‘प्रशस्त रोजगारी सिर्जना हुन नसकेसम्म देशमा समृद्धि आउँदैन। अहिले जेन जी आन्दोलन पनि किन भयो भन्दा रोजगारी नै छैन। न पढाइको गतिलो सिलेबल्स छ न पढेर गतिला विद्यार्थी निस्के। पुल्चोक कलेजमा जाउँ एक से एक अब्बल विद्यार्थी छन् तर खोइ तिनले गतिलो काम पाएका? राम्रा विद्यार्थीहरुले पनि राम्रा चिज पढेनन् भने रिलेभेन्ट त भएन। हामीले क्वान्टिटीमा भनदा पनि एडभान्स टेक्नोलोजीमा कम्पिट गर्ने हो। भ्यालु चेन क्रियट गर्नुपर्छ हामीले। हाम्रा युवाको क्षमता सस्तो पैसामा बेच्नै पर्दैन,’ उनले भने।
यहाँ ल्याएपछि डिमान्ड र सप्लाइको म्यापिङ हुनुपर्यो नि। सप्लाइ टन्नै छ त्यसलाई लिने कम्पनीहरु कहाँ छ? – उनी प्रश्न गर्छन्।
‘कृषि र पर्यटनलाई हामीले समृद्धिका आधार भनिरहेका छौं। ती क्षेत्रबाट कति रेभेन्यू छ त ! तर एउटा व्यक्तिले टेक सेक्टरको आउटसोर्सिङमा काम गर्दा औसतमा मासिक २००० डलर कमाउँछ। समृद्धिको एकमात्र विकल्प टेक्नोलोजिकल जब नै हो। साँच्चै भन्ने हो भने समृद्धिका लागि अन्य सबै क्षेत्रहरु पछि आएको प्रविधिको क्षेत्र हो। यो रेलको अन्तिम डब्बा हो यसलाई पनि हामीले चढ्न छुटायौं भने हामी थप ३० वर्ष पछि धकेलिन्छौं। यही क्षेत्रलाई अघि बढाएमा समृद्धि सम्भव छ तर त्यसका लागि शिक्षा बलियो हुनुपर्छ,’ उनी भन्छन्।











