कुरिनटार (चितवन) । नेपालमा पहिलोपटक केबलकार भित्र्याएर गोरखामा पर्ने मनकामना दर्शनलाई सहज बनाएका लक्ष्मणबाबु श्रेष्ठको सपना थियो – एउटा सुविधा सम्पन्न रिसोर्ट बनाउने। केबलकार सुरु भएको ३ वर्षपछि उनले सुविधा सम्पन्न रिसोर्टका लागि एमएल कायस्थलाई डिजाइनको जिम्मा दिए।
योजना बन्यो, डिजाइन पनि तयार भयो। तर, स्थानीय बासिन्दाको परामर्शमा होटल परियोजना बनाउने योजनालाई लक्ष्मणबाबुले थाँती राखे। स्थानीय बासिन्दाको रोजीरोटी खोसिने भएकाले होटल नखोल्न सुझाव दिएकै कारण लक्ष्मणबाबुले परियोजना थाँती राखेका थिए। तर, केबलकार निर्माण भएको लामो समयसम्म पनि सुविधा सम्पन्न होटल निर्माण भएन।
लक्ष्मणबाबुको त्यो सपनालाई आकार दिएका छन् उनका छोराहरु राजुबाबु, रोशनबाबु र राजेशबाबुले। प्रतिफल, अब कुरिनटारबाट केबलकार चढेर मनकामनाको स्टेनसनमा झर्नासाथ देब्रेतिर देखिन्छ– मनकामना हिलक्रेस्ट रिसोर्ट।
आँबुखैरेनीबाट कम्तिमा पनि ४ घण्टा उकालो चढेपछि पुगिने मनकामनालाई कुरिनटारबाट केबलकारमार्फत १२ मिनेटमै पुग्न सकिने बनाइदिएका थिए लक्ष्मणबाबुले। धार्मिक आस्थासँग पर्यटनलाई जोडेपछि मनकामना फरक गन्तव्यका रुपमा स्थापित भयो। त्यतिखेर केबलकारसँगै रिसोर्टका लागि ९ रोपनी जग्गा लक्ष्मणबाबुले किनेका थिए।
केबलकारपछि मनकामना क्षेत्रमा धेरै लज र होटल खुले। यसले स्थानीय अर्थतन्त्रलाई कायापलट नै गर्यो। केबलकारपछि मनकामनालाई गन्तव्य बनाउने भक्जनको घुइँचो लाग्यो। सँगै केबलकार आफैँमा एउटा पर्यटकीय ‘प्रडक्ट’का रुपमा स्थापित भयो। मनकामना पुग्नेको चाप यति धेरै बढ्यो कि त्यहाँका होटल लजमा मानिस अटाउन छाडे।
स्थानीयले बनाएका होटल/लजमा २ हजार मानिस त अटाउँथे तर वार्षिक १२ लाख मानिसले यात्रा गरिरहँदा त्यसले धान्न सक्ने कुरै भएन। त्यसको असर कुरिनटार आसपास होटल बन्ने क्रम बढ्यो। तर, उच्चस्तरको होटल भने खुलेनन्। त्यसपछि तीन दाजुभाईले तयार पारे बुबा लक्ष्मणबाबुले कोरेको अधुरो सपना पूरा गर्ने लक्ष्य।
त्यसमा नयाँ पुस्ता पनि थपिए – यशु, मोहनी र रिया।

बुवाको सपना पूरा गर्ने लक्ष्यसहित तयार पारिएको रिसोर्ट ग्राहकको सेवाका लागि अन्तिम तयारीमा पुगिसकेको छ। रिसोर्टमा लक्ष्मणबाबुले रोपेको समीको बोट गज्जबले हुर्किएको छ। यही रुखले राजेशबाबुलाई बुवासँग ‘कनेक्ट’ गरिरहन्छ।
‘बुवा बितेको पनि १२ वर्ष भइसक्यो। उहाँको होटेल खोल्ने इच्छा थियो। स्थानीय र यात्रुको तर्फबाट पनि होटेल बनाउनुपर्छ भनेपछि हामीले निर्णय गरेर ल्याएका हौं,’ राजेशबाबुले मनकामना हिलक्रेस्ट रिसोर्ट स्थापनाको सन्दर्भ सुनाए।

राजेशको व्यावसायिक जीवनका गुरुसमेत रहेका लक्ष्मणबाबु चाहन्थे – त्यहाँ बन्ने रिसोर्टमा रैथाने शैली झल्कियोस्। अनि त्यहींकै मानिसले काम पाउन्। त्यही चाहनालाई वास्तविकतामा रुपान्तरण गर्न राजेशले कुनै कसर छाडेनन्। रिसोर्टमा बिच्छ्याइएका स्लेट हुन् या रेस्टुरेन्टको सिलिङमा राखिएका बाँसका मान्द्रो, त्यसमा स्थानीय पहिचान झल्किन्छ।
तीन पुस्ता जोड्ने व्यवसाय
झन्डै आधा अर्बभन्दा बढीमा मनकामना क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट तयार पारिएको हो। लक्ष्मणबाबुको सपनाको प्रोजेक्टमा उनकी नातिनी रिया पनि जोडिएकी छन्। राजेशका दाजु राजुकी छोरी यशु पनि यस प्रोजेक्टमा जोडिएकी छन्।
मनकामना हिलक्रेस्ट रिसोर्टमा ४० वटा कोठा छन्। यो होटलका ९० प्रतिशत कोठा एकअर्कामा ‘कनेक्ट’ गर्न मिल्नेछ। मनकामना परिवारसहित आउने भएकाले पनि एउटा कोठाबाट अर्को कोठामा जान मिल्ने गरि बनाइएको हो।
‘मनकामनामा दर्शन गर्न आउनेहरुमध्ये धेरैजसो परिवारका साथ आउनुहुन्छ। २ वटा कोठा लियो भने ८ जना मानिसलाई आरामले बस्न मिल्छ। त्यसले पारिवारिक फिल पनि दिन्छ,’ राजेशबाबुले भने।
होटलमा स्वदेशी वस्तुको धेरै प्रयोग गरिएको छ। ढोका होस् वा बेड र छानामा राखिएको मान्द्रोसम्म स्वदेशीलाई उच्च प्राथमिकता दिइएको छ। बुबा लक्ष्मणबाबुको सोचलाई सकेसम्म सार्थकता दिन खोजिएको राजेशबाबु दाबी गर्छन्।

रिसोर्टको हरेक कोठामा रहेको बार्दलीबाट रमणीय दृश्य देखिन्छ। पर्यटकीय लक्ष्यमात्र लिएर आउनेका लागि पर्याप्त ‘लग्जरी’ त छँदैछ, त्यसबाहेक धार्मिक उद्देश्यसहित आउनेका लागि बिहानै मनकामना मन्दिरमा बज्ने घण्टीको ध्वनिको विशेष अर्थ रहने नै भयो।
रिसोर्टको एउटा कोठा कम्तीमा ३० वर्ग मिटर क्षेत्रफलको छ जसमा एक डबल र एक सिङ्गल बेड राखिएको छ। कोठा नेपालीपनसँगै डिजिटल आर्टबाट समेत सजाइएको छ। राजेशबाबु र उनका दाजुभाइले रिसोर्ट सञ्चालनको जिम्मेवारी लक्ष्मणबाबुको तेस्रो पुस्ता रिया र यशुलाई सुम्पिएका छन्।



रिया ९ वर्षको उमेरमै अध्ययनका लागि विदेश पुगिन्। उनको धेरैजसो समय विदेशमै बित्यो। पहिलो पटक अध्ययनका लागि भारत पुगिन् उनी। त्यसपछि चीन, अमेरिका, सिंगापुर लगायत देश। छुट्टीमा नेपाल आउँदा रिया परिवारसँग समय बिताउँथिन्। त्यसमाथि पनि हजुरबुवा लक्ष्मणबाबुसँग धेरै समय बित्थ्यो उनको। परिवारसँगको बसाई नै ‘लिगेसी ट्रान्सफर’को आधार बनिरहेको थियो उनका लागि।
लक्ष्मणबाबुले नातिनी रियालाई व्यवसायमा आफ्नो सफलताको कथा सुनाउँथे। उनी हजुरबुवाको संघर्ष र प्रयासलाई बढो रुचि मानेर सुन्थिन्। बाल मानस्पटलमा स्थापित भएको हजुरबुवाको संघर्षको छाप रियामा अझै ताजै छ। त्यसैले उनको सपनालाई सार्थकता दिन विदेशको सुविधासम्पन्न जीवन छाडेर उनी नेपाल फर्किएकी हुन्। त्यसो त नेपाल फर्किने बताउँदा साथीभाइ र आफन्तले पनि ‘त्यहाँ के नै गर्न सकिन्छ र !’ नभनेका होइनन्। अस्थिरता र अन्योलका भड्खालाबारे नबताएका होइनन्। तर उनलाई त्यस्ता ‘अब्स्टेकल्स’ले रोक्न सकेन।
मलाई नेपालमा नै केही गर्नुपर्छ भन्ने थियो। हजुरबुवाले बनाएको लिगेसीलाई कसरी अगाडि बढाउने भन्ने छ। लिगेसीले मलाई थिच्ला भन्ने डर पटक्कै छैन

रियाले ३ साताअघि मात्रै सिंगापुरबाट एमबीए अध्ययन पूरा गरेकी हुन्। हजुरबुवाको अधुरो सपनाको प्रोजेक्टमा नेतृत्वदायी भूमिकासहित उनी जोडिएकी छन्। नेपाल आएलगत्तै होटलको सम्पूर्ण व्यवस्थापन उनले हेरिरहेकी छन्- मनकामना हिलक्रेस्ट रिसोर्टको ‘अपरेसन हेड’। यशु र मोहनीले होटलको सेल्स एण्ड मार्केटिङ हेरिरहेका छन्। हजुरबुवाले खडा गरेको लिगेसी पछ्याउने यात्रामा उनीसँग यो रिसोर्ट जोडिएको हो।
‘मलाई नेपालमा नै केही गर्नुपर्छ भन्ने थियो। हजुरबुवाले बनाएको लिगेसीलाई कसरी अगाडि बढाउने भन्ने छ। लिगेसीले मलाई थिच्ला भन्ने डर पटक्कै छैन,’ रियाले सुनाइन्।
होटेलमा तेस्रो पुस्तासम्मको योजनाको ‘फ्युजन’ भएको छ। लक्ष्मणबाबु, राजुबाबु, रोशनबाबु र राजेशबाबुसँगै तेस्रो पुस्ता रिया, यशु र मोहनी जोडिँदा होटलमा मोर्डन डिजाइन समेटिएको छ। रिया सिंगापुरमा हुँदादेखि नै होटलको डिजाइन तथा निर्माणका चरणबारे जानकार थिइन्। यस प्रोजेक्टमा उनको नियमित चासो र अपडेटले उनलाई काम गर्न सहज बनाएको छ।

मनकामनालाई एक दिने गन्तव्यमा सीमित हुन नदिने रणनीति छ रियाको। हस्पिटालिटी क्षेत्रमा ‘वेडिङ डेस्टिनेसन’को सम्भावना देखेकी छिन् उनले। त्यसलाई मूर्तरुप दिने रणनीति बनाइरहेकी छन्। उनी डिजिटल आर्ट पनि गर्छिन्।
रिसोर्टका कोठाकोठामा उनको काम देख्न सकिन्छ। नेपाली परम्परागतदेखि आधुनिककला समेत यहाँ देख्न सकिन्छ। हजुरबुवा लक्ष्मण र आफ्नो पुस्ताको कला श्रृजना फ्युजन भएको देख्छिन् उनी।
‘हजुरबुवाले युवापुस्ताको कमजोरी भनेको संघर्षमा चाँडै आत्तिने हो भन्नुहुन्थ्यो। त्यो अहिले पनि सम्झिरहन्छु। त्यसैले मेरो संघर्षमा ठूलो मनोबल दिने छ,’ रियाले भनिन्।



उनले हिसाब गरेकी छन् कि केबुलकार चढेर मनकामना आउने ३ प्रतिशत यात्रु रिसोर्टमा आए पनि पुग्यो। त्यसले अकुपेन्सी पूरा गराइदिन्छ। र, त्यो दृश्यको साक्षी बन्ने छ २७ वर्षअघि लक्ष्मणबाबुले रोपेको समीको रुख। र, उनैले मनकामनाको मन्दिरमा राख्न भनेर साँचेको ठूलो घण्टीमा तीनै पुस्ता जोडिरहेको छ।











