काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। पूर्व गृहमन्त्री रमेश लेखकका सचिवालयमा रहेकासँग अख्तियारले बयान लिएको छ।
केही दिनअघि उनका सचिवालयमा रहेका बद्रीप्रसाद तिवारी, जनक भट्ट लगायतको बयान लिएको अख्तियार स्रोतले जानकारी दियो। त्यस्तै अन्य सचिवालयमा रहेका व्यक्तिसँग पनि बयान लिइने स्रोतले बतायो।
‘हामी सचिवालयसम्म पुगेका छौं। उनीहरुको बयान भएको छ। पूर्व गृहमन्त्री लेखकको हकमा अहिले के गर्ने भन्ने अन्योल नै छ,’ अख्तियार स्रोतले भन्यो।
आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका कर्मचारीले भिजिट भिसाका नाममा युवाहहरुलाई विदेश पठाउँदा उठाएको घुस रकम गृह मन्त्रालयसम्म पुगेको आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। जेनजीको आन्दोलनपछि झन् आयोगलाई पूर्व गृहमन्त्री लेखकमाथि अनुसन्धान गर्न दबाब बढेको थियो।
अख्तियारले जेठ विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर केही कागजपत्र र डिभाइस नियन्त्रणमा लिएको थियो। त्यसैदिन अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसँग अख्तियारले सोधपुछ गरेको थियो। भट्टराईले मानव तस्करसँग मिलेर नक्कली कागजपत्र बनाई भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउने गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो। आयोगले भट्टराईसँग दुई पल्टसम्म गरेर बयान लिइसकेको छ।
अध्यागमन गृह मन्त्रालय अन्तर्गत पर्छ। लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेको अढाइ महिनामा २०८१ असोज २२ गते सहसचिव भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट विमानस्थल अध्यागमन कार्यालय लगेका थिए।
उनलाई चार महिनामै विभागबाट विमानस्थल लगिनुलाई मन्त्रालयका अधिकारीहरुले स्वाभाविक मानेका थिएनन्। त्यसमा पनि भट्टराई विवादित कर्मचारी हुन्। ‘उहाँसँग दुई पटकसम्म बयान भएको छ,’ अख्तियार स्रोतले भन्यो।
भट्टराइले नो अब्जेक्सन लेटर बिना नै उनले ठूलो सङ्ख्यामा भारतीयहरुलाई तेस्रो मुलुक पठाउने गरेको अनुसन्धानमा देखिएको छ। उनीहरुलाई अमेरिका, युरोपियन मुलुक, क्यानडा समेत पठाएको देखिन्छ। उनी ट्राभल एजेन्सीका मानिससँग पनि सिधैं सम्पर्कमा रहेको देखिएको छ। उनले पटक पटक फोन गरेको रेकर्ड अख्तियारले प्राप्त गरेको छ।
पूर्व गृहमन्त्री लेखकसँग बयान गर्ने कि नगर्ने भन्ने अन्योल रहेको अख्तियारका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार आवश्यक देखिएमा आरोपपत्र अदातलमा बुझाउनुअघि लेखकको वयान लिइनेछ।
सेटिङ प्रकरण बाहिरिएपछि लेखकको राजीनामा माग भएको थियो। प्रमुख प्रतिपक्षहरुले संसद नै अवरोध गरेका थिए।










